सूचनाको शक्ति - The Power Of Information

        

कार्यकक्षमै वडाध्यक्षले तान्छन् चुरोटको सर्को !

बाँके । पद र पदीय मर्यादाको ख्याल भएन भने सबैले आलोचनाको पात्र बनाउँछन् । निर्वाचनमा लोकप्रिय मत ल्याएर विजयी भएका नेपालगन्ज वडा नं. ४ का अध्यक्ष मो.सफिक बेहनाको हकमा भने त्यो पद र पदीय मर्यादा लागु हुँदैन । ‘उनलाई पद र पदीय मर्यादा के हो भन्ने राम्रो जानकारी पनि छैन,’ उनकै वडाबासी एकजनाले भने, ‘निर्वाचनताका टिकट पाए, चुनाव जिते, उनी जितमै रमाइरहेका छन् । उनलाई पद र पदीया मर्यादा के हो भन्ने राम्रो हेक्का छैन ।’

सत्य खोजले उनको निगरानी गरिरहेका थियो । जनप्रतिनिधि कुन समयमा कार्यालयमा उपस्थित हुन्छन्, व्यवहार कस्तो हुन्छ, कार्यालयमा जनप्रतिनिधिले गर्ने व्यवहार कस्तो छ भन्ने निगरानीमा सत्य खोज केन्द्रीत हुन्छ । सत्य खोजको टिम वडा नं. ४ को कार्यालयमा पहिलो पटक पुग्दा उनी चुरोट तानिरहेका थिए । दोस्रो पटक पुग्दा उनले सहयोगी रामबहादुर गडरियालाई चुरोट लिन अह्राए ।

अध्यक्षको आदेशमा कार्यालय सहयोगी गडरियाले चुरोट ल्याएर वडाध्यक्ष वेहनालाई थमाए । चुरोटको सर्को तान्दै सेवाग्राहीसँग कुरा गर्दा असहज महसुस भइरहे पनि उनले चुरोट तान्न छोडेनन् । त्यसो त उनलाई मैले के गरिरहेको छु भन्नेमा पनि त्यति जानकारी थिएन । उनका निकटस्थ भन्छन्, ‘राजनीतिमा ज्ञान नभएर होला सायद उहाँको यस्तै समस्या छ ।’

राप्रपाबाट निर्वाचन जितेका उनले पैसा कै भरमा चुनाव जितेको बताउँदै एक जनाले भने, ‘निर्वाचनमा चामलका प्याकहरुले चुनाव जितायो । पैसाका आडमा उहाँले चुनाव जित्नुभएको हो । राजनीति र विकास उहाँलाई थाहा छैन ।’ इँट्टा भट्टादेखि खाद्यान्नको थोक विक्रेता रहेका वेहनाले लाखौं रकम खर्चिएर निर्वाचन जित्न सफल भएका थिए । राजनीतिक ज्ञान नभएकै कारण अहिले पद र पदीय मर्यादामा बस्न नसकेको वडाबासीहरु बताउँछन् ।

एक जना सेवाग्रहीले प्रश्न गर्दै भने, ‘चुरोटको सर्को तान्दै त्यो कुर्सीमा नबसे पनि हुन्थ्यो नि ? तर अध्यक्ष ज्युले सबैको अगाडी चुरोट तान्दै कुरा गर्नुहुन्छ । सबैलाई चुरोटको गन्ध त मन पर्दैन होला नि ? कम्तीमा आफ्नो पदीय मर्यादाको त ख्याल गर्नुपर्ने हो ?’ सत्य खोज टीमले पनि उहाँमाथि निरन्तर खोज गरिरहेको थियो । उहाँले आफ्नै कार्यकक्षमा बसेर कार्यालय सहयोगी गडरियालाई चुरोट ल्याउन अह्राउनुभयो ।

कार्यालय सहयोगी गडरियाले आदेश पालना गर्दै पुनः चुरोट ल्याएर थमाए, अध्यक्ष वेहनाले सल्काएर सुर्की लगाउन सुरु गरे । हो, अम्मल आ–आफ्नै हुन्छ, केही न केहीको अम्मली सबै होलान्, तर जनप्रतिनिधि भएकै कारणले कार्यकक्षमै सेवाग्रहीकै अगाडी चुरोटको सर्को तान्नु कति सोभनीय होला ? वडाध्यक्ष वेहनाले त्यसो गर्दा त्यसको सन्देश के जाला ?

हो उनी चुरोटको अम्मली नै थिए भने पनि सेवाग्राहीको सामुन्ने त्यसो नगरेको भए उनका लागि हितकर हुने थियो । कुरा सामान्य हो, तर वडाध्यक्षको पद, कुर्सी र त्यो मर्यादा यस्तै सामान्य विषयमै व्यवहारतः पुष्टि हुन्छ । अम्मली नै भए पनि पद र पदीय मर्यादा बुझेको भए सायद वडाध्यक्ष जसले उपमहानगरको एउटा सिंगो वडाकै प्रतिनिधि हुँ भन्ने बुझेको भए सायद यसो हुने थिएन ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १४:२०