सूचनाको शक्ति - The Power Of Information

        

दीपककी बहिनी प्रीतिले भनिन्, ‘अपराधी देख्न हाम्रो परिवारले धेरै प्रतीक्षा गर्नुपर्‍यो’

दीपक हेमकार

दीपक हेमकार


बाँके । बाँके जिल्ला प्रहरी कार्यालयले दीपक हेमकार परिवार हत्याकाण्डका मुख्य योजनाकार किशोरीलाल सोनीलाई सार्वजनिक गरेको समाचार बहिनी प्रीतिले रेडियोबाट पाइन् । हेमकार हत्याकाण्डका अभियुक्त पक्राउ परेको बिषयमा परिवारका अन्य सदस्यहरुले सञ्चार माध्यमबाटै थाहा पाएका थिए ।
प्रहरीले दीपकका ससुरा सोनीलाई नेपाल–भारत सीमाबाट पक्राउ गरेको थियो । सोनी उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाहका स्थायी बासिन्दा भएपनि लामो समयदेखि लखनउको प्रियदर्शनी कोलोनीमा बसोबास गर्दै आएका थिए ।

प्रीतिको प्रतिक्रिया
बाबुआमा र दाजुलगायत परिवारका सदस्यहरु गुमाएकी प्रीतिले हत्याका अभियुक्त पहिचान गरेर पक्राउ समेत परेपछि सटिक प्रतिक्रिया दिइन्, ‘हत्यामा संलग्न एक जनामात्र होइन, सबै जनाको नाम सार्वजनिक हुनुपर्यो, सबै दोषीलाई प्रचलित कानून अनुसार सजाय गर्नुपर्यो ।’
यति प्रतिक्रिया दिएपछि यो पनि थपिन्, ‘धेरै प्रतीक्षा गर्नुपरेको छ, हामीले यो दिनका लागि ।’ बाँके प्रहरीले आइतबार सार्वजनिक गरेका मुख्य योजनाकार सोनी हेमकार परिवार र प्रहरी समेतको आशंकामा रहेका थिए । उनी घटनाभन्दा केही महिनाअघि दीपक हेमकारसँग विवाह गरेकी दीपा सोनीका पिता थिए ।
हत्यापछिका पछिल्ला १२ वर्षमा हेमकार परिवारसँग जोडिएका विभिन्न घटनाक्रमले सोनीमाथिको आशंकामा बल पुगेको थियो । घटनाको केही समयपछि नै दीपककी श्रीमती दीपाले सम्पत्ति बेचबिखन गरेर भारत बस्न थालेकी थिइन् । हत्याको सिर्फ दुई वर्षपछि दीपाले घर सम्पत्ति करिब ८७ लाखमा बेचेकी थिइन् ।

हत्याकाण्डका मुख्य योजनाकार किशोरीलाल सोनी (सबैभन्दा बायाँ, मुकुण्डो लगाएका)


घटनाका दिन दीपा माइतमा थिइन् । उतिबेलै प्रहरीले गरेको अनुसन्धानमा हत्या भएको रात तीन अपरिचित व्यक्ति घरमा आएको तथ्य फेला पारेको थियो । संकटकालको समयमा नेपालगन्जको ब्यस्त सडकमा रहेको सुनचाँदी पसलको माथिल्लो तलामा घरभित्र पाँचजनाको हत्या गरी नगद र सुनचाँदीसहित करिब २९ लाख बराबरको सम्पत्ति लुटिएको थियो ।
‘अहिले केही भन्ने अवस्था छैन, यो एउटा पाटो मात्र हो,’ प्रीतिले भनिन् ‘समय आएपछि परिवारका अरु सदस्यले सबै कुरा बोल्नेछौँ ।’ घटनाको नियमित ‘फलोअप’ हुन नसक्दा परिवारले आफन्तजनका हत्यारा कानूनी कठघरामा पुगेको देख्न १३ वर्ष पर्खनु परेको थियो ।

सबैका प्यारा स्व. दीपक
दीपक हेमकार परिवारको हत्याकाण्ड परिवारका लागिमात्र होइन, सिंगो बाँकेका लागि चासोको बिषय थियो । घटनाका समय दीपक ३२ वर्षका थिए । सफल व्यवसायी त थिए नै, त्यस क्षेत्रका उद्योगी(व्यवसायी र युवाबीच निकै लोकप्रिय पनि थिए दीपक । आफूले सञ्चालन गरेको नेपालगन्ज सदरलाइनमा रहेको दीप ज्वैलर्समा धेरै समय बिताउँथे उनी ।
त्यही पसलबाटै भेटघाट र सामाजिक कार्यमा उनी सक्रियता जनाउथे । उनका बुबा जगदेव नेपालगञ्जको सदरलाइन, बागेश्वरी मन्दिर, त्रिभुवन चोक, रानीतलाउ र उत्तर भारतका केही शहरमा मुस्किलले हिडडुल गर्ने ब्यक्ति थिए । ब्यापारको बागडोर दीपकको हातमा थियो । उनले पुर्ख्यौली पेसालाई आधुनिक शैलीमा अघि बढाएका थिए ।
‘सधैँ हँसिलो र खुसी भएको देखिन्थ्यो, सबैलाई सहयोग गर्न हरदम तयार थियो ऊ, यस्तो असल मान्छेको हत्यारा को होला भन्ने चर्चा हामीबीच भइरहन्थ्यो,’ दीपकका नजिकका साथी कल्याण नागले भने, ‘हत्यामा संलग्न एकजना मात्र छैनन्, त्यसैले सबैलाई गिरफ्तार गरेर सजाय दिने र हत्याको कारण प्रमाणसहित सार्वजनिक हुनुपर्छ ।’
हेमकार परिवारको हत्या परिवारकै निकट सदस्यकोे योजनामा भएको तथ्य आईतबार सार्वजनिक भएपछि घटनाको एउटा पाटो खुलेको छ । सो घटनामा दीपकसहित परिवारका चारजना र एकजना कामदारको समेत हत्या भएको थियो ।
२३ फागुन २०६२ को त्यो रात नेपालगन्जको सदरलाइनस्थित हेमकार परिवारको निवासमा ८२ वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षका जगदेब हेमकार, ४५ वर्षका सीतादेवी हेमकार, ३२ वर्षका दीपक हेमकार र कामदार (बाँके, कुसुम) राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या भएको थियो ।

गुलावदेवी हेमकार, जगदेब हेमकार र सीतादेवी हेमकार (बायाँदेखि क्रमश)


प्रदेश–५ का प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतका अनुसार, यो घटनालाई राम्रोसँग बुझेका प्रहरी अधिकारीद्वय एसपी अरुण पौडेल त त्यहाँ छँदै थिए, त्यसबाहेक प्रहरी निरीक्षक निसान्त श्रीवास्तवलाई समेत झिकाएर अनुसन्धानलाई अझ प्रभावकारीरुपमा निरन्तरता दिइएको थियो । थप अनुसन्धानका लागि नेपालगञ्ज झिकाइनुपूर्व श्रीवास्तव प्रदेश–२ प्रहरी कार्यालय खटिएका थिए ।
‘घटनाका मुख्य योजनाकार लामो समयको प्रयासपछि पक्राउ परेका छन्,’ डिआइजी बस्नेतले भने, ‘थप आरोपीसहित घटनाको बिस्तृत विवरण आउनेछ ।’ घटनापछि प्रहरी प्रधान कार्यालयबाटै डिएसपीको कमान्डमा अनुसन्धान टोली खटिएको थियो । घटना भएका बेला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक शिव लामिछाने थिए । जिल्ला प्रहरीले पनि थप अनुसन्धान गरेको थियो । तर, त्यो अनुसन्धानको परिणाम उतिबेला निस्कन सकेको थिएन ।
राति सडकमा सेनाको गस्ती भइरहेका बेला घरको माथिल्लो तलामा सुतेका पाँचजनाको हत्याको अनुसन्धान गर्न अपराध अनुसन्धान विभागबाट कुकुरसहितको टोली नै झिकाएर हत्यारा निकट पुग्ने प्रयास प्रहरीले गरेको थियो । तर सफलता हात नलागेपछि फाइल बन्द भएको थियो । तत्कालिन भेरी अञ्चल प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले हत्याको अनुसन्धान गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ०२:२६