सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिकको दशैं दाउ : चेकजाँच भन्दै खर्च जुटाउँ

बाँके । दशैं मनाउन यतिबेला सबै आ–आफ्नो जोहोमा जुटेका छन् । दशैं नजिकिँदै छ, बजारमा दशैंको किनमेन गर्नेको भीडभाड छ । जो कोही दशैंको खर्च जुटाउन लागेका छन् । सबैलाई आ–आफ्नै दाउ । ट्राफिक प्रहरी पनि आफ्नै दाउमा जुटेको छ ।
नेपालगन्जको बसपार्क क्षेत्रमा सवारी साधनबाट मनोमानी रकम असुल्न थालेका गुनासाहरु आइरहेका छन् । सवारी साधन रोकेर कागजात हेर्ने बहानामा ट्राफिक प्रहरीले मनोमानी रकम माग गर्ने गरेको सवारी चालकहरुको गुनासो छ ।
ट्राफिक प्रहरी भने दुर्घटना न्यूनीकरणको नाममा चेकजाँच गरिएको दावी गर्छ । सवारी चालकले भने चेकजाँचका नाममा ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक चेक गर्ने बहाना गर्दै सामान्य त्रुटी भेटिए पनि मोटो रकमको माग गर्ने गरेको एक चालकले बताए ।
नाम नबताउने सर्तमा एक सवारी चालक भन्छन्, ‘बसपार्क क्षेत्रमा ट्राफिक प्रहरीले खुलेयाम असुली थालेको छ ।’ दशैं खर्च जुटाउन ट्राफिक प्रहरीले चेकजाँचको बहाना गरेको उनको आरोप छ । रकम नबुझाए कागजात नदिने भएकाले ट्राफिकले मागेजति रकम दिनुपरेको सवारी चालकको गुनासो छ ।
यातायात व्यवसायीहरुले कमाउने सिजन पनि यही भएकाले दशैं खर्च जुटाउने नाममा यहीबेला ट्राफिक प्रहरीले पनि अनेक बहाना खोज्ने गरेको यातायात व्यवसायीहरुको गुनासो छ । बसपार्कदेखि पुष्पलाल चौकसम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।
काठमाडौं रुटमा चल्ने गाडीका एक चालकले भने, ‘ट्राफिक प्रहरी नेपालगन्जबाट विभिन्न स्थानका लागि छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनका कागजपत्र चेकजाँचका नाममा मोटो रकम असुल्ने गरेको छ ।’
‘अहिले बसपार्क क्षेत्रमा ट्राफिक व्यवस्थापनमा भन्दा रकम असुलीमै ट्राफिक प्रहरीको ध्यान गएको छ,’ बसपार्कका स्थानीय कमल शाहीले भने, ‘सडक बन्ने क्रममा रहेकाले धुलो र जामले हैरानी खेप्नुपरेको छ । ट्राफिक प्रहरीले भने जाम होस् र त्यही बहानामा रकम उठोस् भनेर दाउ हेरिरहेको हुन्छ ।’
बसपार्क क्षेत्रमा प्रहरी सहायक निरीक्षक योगेन्द्र रेग्मीको कमाण्डमा ट्राफिक व्यवस्थापनको जिम्मा छ । रेग्मीलाई उनका विश्वास पात्र मानिएका हवल्दार प्रेमप्रकाश भारतीले सहयोग गरिरहेका छन् । भारतीको योजना अनुसार रेग्मीको निर्देशनमा दशैं खर्च उठाउने गरेको ट्राफिक प्रहरी स्रोतले जनाएको छ ।
बसपार्कमा ट्राफिक प्रहरीको ध्यान ट्राफिक व्यवस्थापनमा भन्दा रकम असुलीमा रहेको यातायात व्यवसायीको आरोप छ । ‘ट्राफिक प्रहरीले अनेक बहानामा रकम माग्छ नदिएर के गर्नु ?’ एक चालकले भने, ‘नदिँदा कागजपत्र दिदैनन् ।’ यस विषयमा असई रेग्मीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
बाँके ट्राफिक प्रहरी प्रमूख एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायले वास्तविकता बुझ्ने बताउँदै भने, ‘नेपाल सरकारको तलब खाएर व्यवसायीहरुसँग दशैं या अन्य वहानामा रकम उठाएको कहीँकतैबाट गुनासो आएमा सम्बन्धीत इन्चार्जलाई कारबाही हुन्छ ।’
‘यस्ता विषयमा मातहतका इन्चार्जहरुलाई पटक पटक सचेत गराइरहेको छु । सर्वसाधारणसमेत असहज हुनेगरी व्यवसायीहरुलाई दुख नदिन फेरि पनि सचेत गराउँछु,’ प्रहरी निरीक्षक रोकायले भने, ‘दशैंलाई बहाना बनाएर खर्च माग्नु अवैध कार्य हो । यो भएको जानकारी आएमा तत्काल कारबाही गर्छु ।’

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार ०९:२७