सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा २० हजार पोर्न साइट ब्लक !

काठमाडौं । नेपालमा पहुँच भएका चार लाखको हाराहारीमा रहेका पोर्न साइटमध्ये करिब बीस हजार ब्लक गरिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सोमबारसम्म झण्डै बीस हजार पोर्न साइट नेपालबाट नखुल्ने बनाइएको छ ।
इन्टरनेट सेवा प्रदायक (आइएसपी), नेटवर्क सेवा प्रदायक (एनएसपी) र भ्वाइस सेवा प्रदायक (भीओआइपी)लाई निर्देशन दिएपछि पोनै साइटहरु धमाधम ब्लक हुन थालेको प्राधिकरणका सूचना अधिकारी एवं वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए ।
सरकारले ईन्टरनेटका अश्लील तथा यौनजन्य सामाग्री बन्द गर्न निर्देशन दिएलगत्तै नेपालमा त्यस्ता साइटहरु बन्द हुन थालेका हुन् । मुलुकमा बलात्कार एवं यौनजन्य हिंसाका घटना बृद्धि भएसँगै सरकारको निर्देशनअनुसार ईन्टरनेट सेवाप्रदायक कम्पनीहरुले ‘पोर्न साईट’ बन्द गराउन थालेको अधिकारीहरुले बताएका छन् ।
यद्यपि, सबै ‘पोर्न साईट’ भने अझै पूर्ण रुपमा बन्द नभएको जानकारहरुले बताएका छन् । उनीहरुका अनुसार सरकारले अनुमान गरेको संख्याभन्दा निकै बढी पोर्न साइटमा नेपालबाट सहज पहुँच छ । केही आईएसपीमा अझै पनि पोर्न साइट खुलिरहेका छन् ।
नेपालमा धेरै प्रयोगकर्ता रहेका वल्डलिङ्क, क्लासिटेकजस्ता आइएसपीले त्यस्ता साइट ब्राउज गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा साइट ब्लक गरिएको सूचना राखेका छन् । नियामक निकाय दूरसञ्चार प्राधिकरणले गएको मंगलबार सूचना निकालेर नेपालमा पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएको थियो ।
अब गूगल वा कुनै सर्च ईन्जीनमार्फत पोर्न साईटमा छिर्न खोजेसाईटहरु ब्लक गरिएको सूचना देखाउँछ । कुन–कुन साइट ब्लक गरिए भन्ने आधिकारिक तथ्यांक भने कुनै निकायले राखेका छैनन् । तर, अश्लील सामाग्री राख्ने साईट बन्द गरिएको ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । यसअघि २०६९ सालमा पनि नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा केही ‘र्पोन साइट’ ब्लक गरिएका थिए ।

किन बन्द गरियो पोर्न साईट ?
गत भदौ १ गतेबाट लागू मुलुकी अपराध संहिताले अश्लील सामाग्री प्रकाशन तथा प्रशारण गर्न रोक लगाएको छ । संहिता अनुसार शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हुँदैन ।

अस्लिल सामाग्रीबारे अपराध संहितामा उल्लेखित कानुन
अपराध संहिताको दफा १२१ को (घ)ले यस्तो सामग्री आफूसँग बोक्न पनि नहुने लेखेको छ । अर्थात् कसैले ब्लु फिल्म पेन ड्राइभमा राखेर बोकी हिँडेको छ भने पनि यो दफा आकर्षित हुने र कारबाही हुने छ । उपदफा २ अनुसार यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
सोही अनुसार सरकारले अश्लील सामग्री प्रकाशन तथा प्रशारण गर्ने साईट बन्द गराएको हो । गत शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्ने निर्देशन जारी गरेका थिए । पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएको भन्दै मन्त्रालयले यसको कारण पनि ‘पोर्न साइट’हरुको प्रयोग रहेको जनाएको छ ।

 

 

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार ०२:२६