बाँके । १५ वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात नै छ । तत्कालीन नेकपा माओवादीका लडाकुहरुको अपहरणमा परेका लालबहादुर शान्ति प्रक्रियापछि पनि घर फर्किएनन् । घरको मुली भएकै कारण परिवारले उनी आउने बाटो कुर्न भने छाडेनन् । १५ बर्ष वित्यो लालबहादुर फर्किएनन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयाका डाँगी परिवारमा अहिलेसम्म पनि द्वन्द्वले बनाएको घाउ निको भएको छैन । घरमूली फर्किने आशामा लामो समयदेखि बाटो हेरेर बसेको डाँगी परिवार अन्ततः निराश बन्यो । घरमूली फर्किने आशा सदाका लागि बिसायो र लालबहादुरको धार्मिक संस्कार अनुसार अन्त्येष्टी गर्ने निष्कर्षमा पुग्यो ।
द्वन्द्वको घाउ बोकेर बाँच्न विवश डाँगी परिवारले घरमूली लालबहादुर फर्किने आशा मार्दै कुशको प्रतिमा बनाएर अन्त्येष्टी गरिएको लालबहादुरका जेठा छोरा प्रेमप्रकाश डाँगीले बताए । उनले भने, ‘बुवा फर्किने आशामा १५ बर्ष बित्यो, न बुवा फर्किनुभयो, न त उहाँको केही खबर नै प्राप्त भयो । त्यसैले हामी अन्त्येष्टी गर्ने निष्कर्षमा पुग्यौं ।’
२०६० असोज २ गते अपहरणमा परेका लालबहादुरको परिवारले सास र लास दुवै खोजी गर्यो, तर केही पत्तो लागेन । ‘यत्तिका वर्षसम्म बुवाको जति खोजी गरे पनि केही खबर पाउन नसकेपछि धार्मिक संकार अनुसार कुशको प्रतिमा बनाएर अन्त्येष्टी गर्यौं,’ प्रेमप्रकाशले भने । उनका अनुसार गाउँ नजिकै रहेको राप्ती नदीको घाटमा शुक्रबार कुशको प्रतिमा बनाएर डाँगीको अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको छ ।
तत्कालीन नेकपा एमालेका सक्रिय कार्यकर्ता लालबहादुरलाई २०६० असोज २ गते माओवादी कार्यकर्ताले घरबाटै अपहरण गरेर बेपत्ता पारेपछि लामो समयसम्म अवस्था पत्ता लगाउन खोजी गरे पनि सफल नभएको लालबहादुरका कान्छा छोरा ओमप्रकाशले बताए । उनले भने, ‘बुवा जीवित हुनुहुन्छ भन्ने आशा मरिसकेपछि अन्त्यष्टि गर्ने निष्कर्षमा पुग्यौं ।’
हरेक वर्ष बेपत्ता भएको मिति नजिक आउँदा डाँगी परिवारमा लालबहादुर फर्किने आशा जाग्थ्यो । ‘परिवारका सदस्यहरुका आँखामा बुवा बल्झिँदै आउँदा फर्किनुहुन्छ भन्ने आशा पनि लाग्थ्यो,’ ओमप्रकाश भने, ‘तर निराशाबाहेक केही हात लागेन, यस्तो अवस्थामा कतिन्जेल पीडा बोकेर बस्नु अब त आशा पनि निराशामा बदलिइसक्यो ।’
लालबहादुरको दाहसंस्कारको प्रक्रियापछि उनकी श्रीमती गणमति डाँगी र दाजुभाई प्रेमप्रकाश र ओमप्रकाश किरिया बसेका छन् । १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व सकिएको एक दशकभन्दा बढी भइसकेको छ । देशमा विविध राजनीतिक परिवर्तन आइसके पनि द्वन्द्वको प्रत्यक्ष असर भोगेकाहरुको घाउ अहिलेसम्म चहर्याइरहेको छ ।
तत्कालीन समयमा माओवादी र सरकारबीच शान्ति सम्झौता हुँदा ६० दिनभित्र बेपत्ताको स्थिति सार्वजनिक गर्ने सहमति भएको १२ वर्ष बितिसक्यो । बेपत्ता बनाइएका व्यक्तिहरुको अवस्था भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । अवस्था सार्वजनीक नहुँदा बेपत्ता परिवारको पीडा थप बल्झिँदै गएको छ । तत्कालीन स्थानीय शान्ति समिति बाँकेको तथ्यांकअनुसार जिल्लाभर बेपत्ताको संख्या १२१ रहेको छ ।
।