सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदीमा पक्की पुल नहुँदा सात गाउँलाई समस्या


बाँके । ‘नुन तेल किन्न राप्ती नदी नै तर्नुपर्छ । मोटरबाटो कच्ची छ, राप्ती नदीमा पक्की पुल छैन, यातायातका साधन चल्दैनन् । बर्षातमा निकै कठिनाई हुन्छ,’ राप्तीसोनारी गाउँपालिका–१, खोकरीका भरत बुढाथोकी भन्छन्, ‘पक्की पुल नहुँदा हामीलाई निकै समस्या छ ।’
राप्तीसोनारी गाउँपालिका–१ मा पर्ने सात वटा गाउँहरु बसेरी, दुवेरी, सुनाहा, भम्का, अमुवा, भवानीपुर र सुनखरे गाउँ बर्षातमा जिल्ला सदरमुकाम मात्र नभई स्थानीय बजारसँग पनि सम्पर्कविहीन जस्तै हुन्छन् । राप्ती नदीमा बनाइएका दुई वटा झोलुङ्गे पुल पनि अपायक स्थानमा हुँदा ती गाउँका स्थानीयलाई घण्टौं पैदल हिँडेर कुसुम बजार पुग्नुपर्ने बाध्यता छ ।
‘हाम्रो स्थानीय बजार कुसुम हो । झोलुङ्गे पुल अपायक भएकै कारण कुसुम पुग्न घण्टौं हिँड्नुपर्छ,’ बुढाथोकीले भने, ‘राप्ती नदीमा पक्की पुल भएको भए यातायातका साधनहरु आउँथे, स्थानीयलाई सहज हुन्थ्यो ।’ ती सात वटा गाउँहरु जोड्ने मोटर बाटो पनि बनाइएको छ । तर राप्ती नदीमा पुल नहुँदा मोटरबाटो भए पनि त्यसको औचित्यहिन भने देखिँदैन ।
हिँउदमा जोखिम मोलेरै राप्ती नदी तरेर ट्रयाक्टरहरु जसोतसो ती गाउँसम्म पुग्ने गर्छन् । ‘हिँउदमा कहिलेकाहीँ ट्रयाक्टरहरु आउँदा कुसुम बजारसम्म पुग्न सहज हुन्छ,’ स्थानीयबासी यमबहादुर खड्काले भने, ‘दुई चार महिना ट्रयाक्टर चढेरै कुसुमसम्म पुग्छौं । बर्षात् सुरु भएपछि फेरि उस्तै समस्या हो । घण्टौं हिँडेर झोलुंगे पुलको सहायतामा आवतजावत गछौं ।’
राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि ट्रयाक्टर पनि वारपार गर्न सक्दैनन् । ‘बर्षातमा नुनतेलको अभाव नहोस् भनेर ट्रयाक्टर वारपार गर्ने सिजनमै दुई चार महिना पुग्ने गरी खरीद गरेर राख्छौं,’ स्थानीयबासी लेखराज वली भन्छन्, ‘पक्की पुल भएको भए बाह्रै महिना सुविधा पुग्ने थियो ।’ पुल नहुँदा बिरामीहरुलाई समयमा अस्पतालमा पु¥याउन समेत समस्या हुने गरेको वलीको भनाई छ ।
‘भएका दुई वटा झोलुङ्गे पुल अत्यावश्यक कामबाहेक अन्य समयमा प्रयोगमा आउँदैनन् । सामान्य कामका लागि घण्टौं हिँड्नुपर्ने भएपछि ती सात वटा गाउँका नागरिकहरु अत्यावश्यक काममा मात्रै झोलुङ्गे पुलबाट आवतजावत गर्छन् । ‘सामान्य कामका लागि धेरै समय हिँड्नुपर्छ,’ स्थानीयबासी भेषबहादुर खड्काले भने, ‘हामी अत्यावश्यक काम नभए झोलुङ्गे पुलबाट वारपार गर्दैनौं ।’
नदीमा पुल नभएकै कारण ती गाउँमा उत्पादित तरकारी तथा अन्य नगदे बादी विक्री गर्न पनि समस्या भएको स्थानीयहरु बताउँछन् । ‘वर्षातमा बाढी आउँछ, बोकेर पारि लैजान सकिँदैन । उत्पादन भएको तरकारी सके आफैले खाने नसके गाईभैसीलाई खुवाउनुपर्ने बाध्यता छ,’ खड्काले भन्नुभयो । राप्तीमा पक्की पुल बनाउन यस क्षेत्रबाट निर्वाचित संघीयसभाका सांसद महेश्वरजंग गहतराज अथकसँग पहलका लागि आग्रह गरेको स्थानीयहरुको भनाई छ ।
सांसद अथकले पक्की पुल निर्माणका लागि पहल भइरहेको बताए । ‘राप्तीपारिको बिनौनालाई जोड्न राप्ती नदीको धामपुर–मधुवाको डिपिआर सम्पन्न भएर टेण्डर आह्वान भइसकेको छ । यसै बर्षभित्र निर्माण कार्य सुरु हुन्छ,’ सांसद अथकले भने । कुसुम पारिका गाउँलाई जोड्नका लागि पनि पक्की पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
‘विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि केन्द्रमा पहल भइरहेको छ, यसै बर्ष डिपिआर तयार गर्नका लागि केही रकम विनियोजन गर्न पहल गरिरहेको छु,’ सांसद अथकले भने, ‘यस बर्ष डिपिआरको काम सक्ने गरी प्रयत्न भइरहेको छ । त्यो सकिए अर्को आर्थिक बर्षमा पुल निर्माणका लागि बजेट विनियोजन हुन्छ ।’

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार ०९:४२