सूचनाको शक्ति - The Power Of Information

        

एउटा शिशुलाई ३० हजारको खोप !

घोराही । एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सबै प्रकारका खोप लगाउन करीव रू ३० हजार खर्च हुने गरेको छ । एउटा बच्चा जन्मेदेखि १५ महिनाको अवधिसम्म सात पटक ११ प्रकारका खोप लगाउनुपर्ने हुन्छ । निःशुल्क यी खोपका मूल्य भने निकै महङ्गो छ ।
जिल्ला जनस्वास्थ्य कार्यलयकाअनुसार देशभरका बालकालिकाले लगाउने ११ प्रकारका कुनै पनि खोप नेपालमा बन्दैनन् । अधिकांश खोप छिमेकी देश भारत तथा अन्य मुलुकबाट ल्याउनु पर्छ । शिशुलाई लगाइने ती खोपको हिफाजत पनि उत्तिकै मात्रामा गर्नुपर्ने हुँदा उक्त कार्यालयले जिल्लाका विभन्न स्थानमा खोप भण्डारण केन्द्र समेत स्थापना गरेको छ ।
एउटा खोपको न्यूनत मूल्य रु ११२ देखि एक हजार ८५० सम्म पर्छ । शिशुलाई लगाइने खोप किनेको मूल्य जोडदा पाँच हजार पुग्छ । यसका साथै पूर्ण खोप लगाउन प्रयोग गर्ने भौतिक सरसामान र मानवीय श्रम सहित लाग्ने सबै खर्च जोड्दा भने एउटा बच्चालाई पूर्ण खोप लगाउनका लागि सरदर रु ३० हजार खर्च हुने उक्त कार्यालका खोप सुपरभाइजर सुनिता पण्डित बताउँछिन् ।
उनका अनुसार हाल सरकारले क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, इन्फुलुञ्जा बी निमोनिया, पोलियो, दादुरा रुबेला, जापानीज इन्सेफलाइटिसजस्ता रोग विरुद्धको खोप बालबालिकालाई निःशुल्क प्रदान गरिरहेको छ । सो कार्यालयको तथ्याङ्कअनुसार सरकारले अनुमान गरेको खोपको लक्ष्यमा दाङले राम्रो प्रगति हासिल गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५मा जिल्लामा बिसीजीमा ८७ प्रतिशत, डिपीटीमा ८५ प्रतिशत, पिसिभिमा ८६ प्रतिशत, दादुरा रुबेलामा ८५ प्रतिशत र जापानीज इन्सेफलाइटिसमा ७२ प्रतिशत लक्ष्य हाँसिल भएको उल्लेख छ । सरकारले गत २०७४ पुस २३ गते दाङलाई पनि पूर्ण खोप जिल्ला घोषणा गरको थियो ।
बालबालिकालाई रोगबाट सुरक्षित राख्न सबै प्रकारका खोप अनिवार्य लगाउनुपर्ने हुन्छ । हाल जिल्लाका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ३६ वटा स्वास्थ्य केन्द्रबाट बालबालिकालाई सबै प्रकारका खोप लगाइने गरेका खोप सुपरभाइजर पण्डितको भनाइ छ । त्यसैगरी स्वास्थ्य संस्थाले मात्र खोपको माग धान्न नसकेपछि सबै सरकारी अस्पताल र केही निजी स्वास्थ्य सस्थालाई पनि खोप लगाउने अनुमति दिइएको छ । रासस

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार ०८:२३