सूचनाको शक्ति - The Power Of Information

        

सडक निर्माणको मारमा व्यवसायी, चौपट्ट व्यवसाय

बाँके । नेपालगन्जको न्यूरोडमा सडक पुनःनिर्माण गर्ने काम करिब चार महिनाअघि सुरु भएको हो । त्यस बेलादेखि नै सडक खनेर अलपत्र छाडेपछि खस्किएको न्यूरोड क्षेत्रको व्यापार चौपट भएको छ ।
आवागमन नै गर्न नमिल्ने गरी नाला र सडक निर्माण कार्य भइरहँदा न्यूरोड क्षेत्रमा व्यापार व्यवसाय चौपट भएको हो । तीन सातादेखि सेतु विक चोक क्षेत्रमा पैदल यात्रुले समेत आउजाउ गर्न सक्ने अवस्था छैन ।
वैकल्पिक मार्ग नै नछाडेर एकैपटक सबैतिर काम थाल्दा ग्राहकहरुलाई न्यूरोडको सेतु विक चोक क्षेत्रमा पुग्नै सकस हुने गरेको छ । चोक आसपासमा चलिरहेको सडक निर्माणको कामले त्यस क्षेत्रका व्यवसायीहरु मारमा परेका छन् ।
लामो समयदेखि अवागमन अबरुद्ध हुँदा व्यापार नै शुन्य भएको भन्दै व्यवसायीहरु आक्रोशित भएका छन् । सेतु बिक चोकस्थित पीएलके ट्रेडर्सका सञ्चालक अशोककुमार गुप्ताले बिना कुनै योजना निर्माण कार्य थाल्दा लामो समयदेखि आफूहरुको व्यापार व्यवसाय चौपट भएको बताए ।
गुप्ताले भने, ‘हामी विकास विरोधी त होइनौं । तर विकास गर्ने पनि तरिका त हुन्छ नि ? एकातर्फ सकेर अर्कोतर्फ विस्तार गरेको भए विकास पनि हुन्थ्यो, व्यापार व्यवसायमा पनि असर पर्दैन्थ्यो ।’ उनले योजनाबद्धरुपमा काम नहुँदा लामो समयदेखि व्यापारमा घाटा ब्यहोर्नुपरेको बताए ।
उनले भने, ‘दशैंअघि सबैभन्दा बढी व्यापार हुने बेला हो । यो बेला सामान्य अवस्थामा भन्दा सतप्रतिशत बढी व्यापार हुनुपर्ने हो । तर विकासको नाममा न्यूरोड क्षेत्रलाई अवरोध गरिदिँदा लामो समयदेखि व्यापार नै सून्य अवस्थामा पुगेको छ ।’सेतु विक चोककै औषधिको थोक बिक्रेता मितेरी फार्मास्युटिकल्सका सञ्चालक प्रभाकर श्रेष्ठले पनि सडकको दुर्दशाका कारण कारोबार घटेको बताए । सामान ढुवानी गर्न सक्ने अवस्था नरहेको र जसोतसो व्यवस्था गरे पनि पहिलेभन्दा दोब्बर खर्च गर्नुपर्ने बाध्यता भएको उनको भनाई छ ।
उनले भने, ‘ठेला, रिक्सामा ढुवानी गर्दा पहिलेभन्दा दोब्बर पैसा तिर्नुपरेको छ । गाडी आउन नसक्ने भएपछि दुई सातादेखि औषधिहरु मगाउनै पाइएको छैन । व्यापार ठप्प भइरहेको छ । औषधि खरिद गर्न आउन लागेकाहरु पनि बीचै बाटोबाट फर्किइरहेका छन् ।’
अहिले चारैदिशाबाट सेतु बिक चोक वारपार गर्न सक्ने अवस्था छैन । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ नेपालगन्जले भने सडक अस्तव्यस्त हुँदा व्यवसायीहरु मारमा परेको महसुस भएको भन्दै निर्माण कार्यालाई तीव्रता दिएको दाबी गरेको छ ।
आयोजना कार्यान्वयन ईकाइका ईन्जिनियर होमनाथ भुषालका अनुसार न्यूरोड सडक क्षेत्रको काम दशैं अघिनै सक्ने गरी काम भइरहेको छ । ‘सबै काम दशैं अगाडि सक्ने गरी काम भइरहेको छ । आवागमन पनि एक साताभित्र एकतर्फीरुपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ उनले भने ।
छिटो काम सक्न ठेकेदार कम्पनीलाई आग्रह गरिरहेको बताउँदै उनले भने, ‘एक साताभित्र सवारी साधनसमेत चल्न गरी काम भइरहेकोे छ ।’ सहरी विकास मन्त्रालयको बजेटमा पुनःनिर्माण भइरहेको सडक र नाला निर्माणको काम ठेकेदार कम्पनी आशिष कुमार श्रेष्ठ जेभी फर्मले पाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १३:२२