सूचनाको शक्ति - The Power Of Information

        

मुद्दा लड्न १४ जना वकिल !

बाँके । तीन बर्षदेखि सहोदर नातिनीलाई बलात्कार गर्दै आएका एक वृद्धले आफ्नो पक्षमा मुद्दा लड्नका लागि मात्रै १४ जना अधिवक्ता (वकिल) राखेका छन् । घरजग्गा कारोबारीसमेत रहेका ७५ बर्षिय वृद्धले आफूलाई मुद्दा जिताउन भन्दै धेरै वकील राखेका हुन् ।
करोडौंको सम्पत्ति रहेका ती वृद्धका चार श्रीमति रहेको खुलेको छ । बाँकेको कोहलपुर नगरपालिका–५, निवासी ती वृद्धले आफ्नै सहोदर १६ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गरेको खुलासा भएको छ । ती बालिका स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी थिइन् ।
प्रहरीले नातिनीको नाम गोप्य राख्नका लागि हजुरबुवाको नाम पनि गोप्य राखिएको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले रामचन्द्रविरुद्ध अदालतमा मुद्दा दायर भएको बताए । ‘०७२ सालदेखि ०७५ सालसम्म आफ्नै नातिनीलाई यौन शोषण गरेको उजुरी आएको हो । केही कुरा पुष्टि पनि भएका छन्,’ डीएसपी सिंहले भने ।
‘छोरा बुहारी अन्तै बस्ने र हजुरबुवासँग पढ्नका लागि पठाइएको रहेछ । यस्तोमा उनले यौन शोषण गर्ने गरेको पाइयो । पीडित किशोरीले नै अदालतमा बयान दिएकी छिन्,’ डीएसपी सिंहले भने । प्रहरीले उनलाई एक महिनाअघि पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १३:५३