सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज इन्धन डिपोमा पेट्रोल भण्डारण क्षमता बढाउँदै आयल नियम

बाँके । मट्टीतेल खपत कम हुन थालेपछि नेपाल आयल निगमको नेपालगन्ज इन्धन डिपोमा पेट्रोल भण्डारण क्षमता बढाउन तयारी थालिएको छ । मट्टीतेलको खपत न्यून भएपछि मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न सुरु गरिएको छ ।
‘नेपालगन्जमा हालको पेट्रोलको भण्डारण क्षमताअनुसार ३ दिनसम्म पुग्छ । मट्टीतेल ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गरी पेट्रोलको भण्डारण क्षमता बढाउँदै छौं,’ इन्धन डिपो कार्यालयका प्रमुख अभिशेषकुमार ठाकुरले भने । उनका अनुसार निगमले त्यसका लागि ग्लोबल टेण्डरसमेत गरिसकेको छ ।
‘अब मट्टीतेललाई पेट्रोलमा स्थानान्तरण गरिएपछि ८ दिनसम्म पुग्ने पेट्रोल भण्डारण हुनेछ,’ ठाकुरले भने । मट्टीतेलको माग घट्दै गएपछि निगमले बनाएका मट्टीतेलका ट्यांकर पनि पेट्रोलमा रुपान्तरण हुनेछन् । निगमका अनुसार छुट्टै पेट्रोल ट्यांकी राख्न धेरै रकम आवश्यक पर्ने भएपछि कम लागतमा मट्टीतेल ट्यांकीलाई पेट्रोल ट्यांकीमा स्थानान्तरणको तयारी गरिएको हो ।
पेट्रोल भण्डारण क्षमता बढाउने निगमको योजनाले उपभोक्तालाई सहज रुपमा इन्धन आपूर्ति गर्न सघाउने डिपो प्रमूख ठाकुरले बताए । ‘अहिले मट्टीतेलभन्दा पेट्रोलको माग निकै बढ्दो क्रममा रहेको छ,’ उनले भने, ‘सवारीको चापलाई समेत मध्यनजर गरेर निगमले यो प्रक्रिया अघि बढाएको हो ।’
नेपालगन्ज डिपोमा हाल डिजेलको २१ लाख लिटर, मट्टीतेलको ७ लाख ६० हजार लिटर र पेट्रोलको २ लाख १० हजार लिटरको भण्डारण क्षमताको ट्याङ्की रहेका छन् । मट्टीतेलको ट्याङ्की पेट्रोलमा स्थानान्तरण भएपछि मट्टीतेलका लागि अर्को सानो ट्याङ्की जडान गर्ने निगमको योजना छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार ०८:१८