सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक अभावमा पुनःस्थापना केन्द्र


रीता लामा । घोराही । देशभर विभिन्न कारणले मानसिक सन्तुलन गुमाएकाहरुको प्रेरणाका लागि अभियान नेपालले पुनःस्थापना केन्द्रको स्थापना सुरु गरेको छ । घोराही उपमहानगरपालिका ३ कुइरेपानीमा सुरु गरिएको पुनःस्थापना केन्द्रको सम्पूर्ण तयारी पुरा हुन करिव एक करोड आर्थिक खर्च लाग्ने देखिएपछि अहिले केन्द्रको निर्माणमा समस्या देखिएको छ ।
पे्ररणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधरकुमार लम्सालले आफुले पश्चिम नेपालमा एउटा नमुना योग्य काम गर्न थाले पनि आर्थिक अभावको कारण समस्या सिर्जना भएको बताए । ‘मानसिक सन्तुलन गुमाएर सडकमा भौतारिएका, घरपरिवारले सम्हाल्न नसकेकाहरुको लागि यस्तो कार्य थालेका हौं,’ उनले भने, ‘उनीहरुलाई राख्ने मात्र होइन उपचारसहित घर फर्काउने हाम्रो योजना छ ।’
पहिलो चरणको पुनःस्थापना केन्द्र स्थापनाको लागि करिव एक करोड लाग्ने अनुमान गरिएको छ । तर यतिधेरै आर्थिक जुटाउन नसकेपछि समस्या भएको उनले बताए । सरकारको तर्फबाट गर्नुपर्ने काम व्यक्ति, संस्थाको पहलमा हुन लाग्दा पनि स्थानीय सरकारबाट हौसला प्रदान हुन नसकेको भन्दै उनले खिन्नता पोखे । सबै तिरबाट साथ र सहयोग नहुदा आफुहरु समस्यामा परेको उनले बताए ।
घोराहीको कुइरेपानीमा करिव १६ कठ्ठा बराबरको जग्गामा हाल केन्द्रको ९ कोठे भवन निर्माण हुँदैछ । यही आर्थिक अभाव भएकै कारण भवन निर्माणको काम अलपत्र परेको उनले बताए । हालसम्म जग्गा खरिदसहित भवन निर्माणको लागि ५० लाख खर्च भैसकेको र अझै पूर्ण हुनको लागि ५० लाख लाग्ने अनुमान गरिएको छ । अध्यक्ष लम्सालले सबै तिरबाट सहयोग हुन नसकेपनि आफुले हार नमान्ने बताए ।
गतबर्ष ५ लाख उपमहानगरपालिका, १ लाख ३२ हजार जिल्ला समन्वय समिति र १ लाख वडा नम्वर ४ ले सहयोग गरेका थिए । तर ठुलो खर्चमा बन्न लागेको यति सहयोगले पुग्न सकेको छैन । आर्थिक सहयोगको लागि सबै निकायमा पुगे पनि आश्वासन मात्र पाएको केन्द्रका प्रमुख लम्सालले बताए । ‘प्रदेश सरकारसँग पनि माग राखेका थियौ तर अहिले सकिन्न अर्को बर्ष भन्नुभएको छ,’ अध्यक्ष लम्सालले भने, ‘आश्वासन पाएका छौं, तर सहयोग पाउन गाह्रो भैरहेको छ ।’
पुनःस्थापना केन्द्र निर्माणको लागि पैसा भन्दा पनि भाँडाकुँडा, छड, सिमेन्ट, इट्टा, बालुवा, गिट्टी सहयोग गर्न आफुले सबैलाई भनिरहेको उनले बताए । हाल केन्द्रलाई युएसएमा रहेको डाक्टरहरुको संस्था हेल्थ फर फाउण्डेशले सहयोग गरिरहेको छ । हालसम्म भवन निर्माणको लागि करिव २५ लाख सहयोग गरिसकेको उनले जानकारी दिए । उनले भने, ‘भवनले पूर्णता पायो भने डाक्टर, नर्स र औषधीको सहयोग गर्ने वचन पनि उक्त संस्थाले दिएको छ ।’
उक्त केन्द्र करिव ३० जना मानसिक सन्तुलन गुमाएकाहरुलाई राख्न सक्ने क्षमताको निर्माण गरिँदैछ । जहाँ महिला, पुरुष र बालबालिकाहरुको लागि छुट्टाछुट्टै कोठा निर्माण गरिँदैछ । संस्थाले सडकमा भौतारिरहेका घर परिवार विहिनलाई निशुल्क र घर परिवार, सम्पत्ति भएकाहरुलाई थोरै रकम सहयोग लिएर पुनःस्थापना केन्द्रमा राखेर उपचार गराउने योजना बनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार ०२:४३