सूचनाको शक्ति - The Power Of Information

        

प्राथमिकतामा बघौडा क्षेत्रको विकास


बाँके । जिल्लाको दुर्गम क्षेत्र मानिने राप्ती सोनारी र बघौडा क्षेत्रको विकासका लागि यहाँका सांसदहरूले प्राथमिकता दिएका छन् । शहरको तुलनामा गाउँको विकासक्रम सुस्त भएकाले अबको प्राथमिकता ग्रामीण विकास भएको बाँके निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले बताए । ‘सदरमुकाम नेपालगन्जभन्दा राप्ती सोनारी र बघौडा क्षेत्रको नरैनापुर पचासौं वर्ष पछि परेको छ,’ उनले भने, ‘यही गतिमा विकासक्रम अगाडि बढ्ने हो भने शहरको तुलनामा गाउँको विकासमा ठूलो चुनौती देखिने छ ।’
सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सार्थक बनाउन राज्यले दिने न्यूनतम आधारभूत सेवा र सुविधासमेत नपाएका ग्रामीण क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नैपर्नेमा उनले जोड दिए । ती दुई गाउँपालिकामा बिजुली बत्ती र सडकको सुविधा पुग्न सकेको छैन । भएको सडक पनि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदै आएको छ । विद्युत् विस्तार र सडकको स्तरोन्नतिलाई चासोका साथ हेरिएको सांसद गहतराजको भनाइ थियो ।
‘एकैसाथ सबै कुराको विकास त सम्भव छैन तर हामीले ग्रामीण क्षेत्रको विकासका लागि प्राथमिकता दिएका छौंँ,’ उनले भने, ‘विद्युत् विस्तार र हुलाकी सडक समयमै सम्पन्न गर्न अनुगमन, समन्वय र सहजीकरण भइरहेको छ ।’ निर्वाचनका बेला जनतालाई दिएको आश्वासन यथार्थमा परिणत गर्न आफू लागि परेको जानकारी दिँदै सोही क्षेत्रका प्रदेश सांसद कृष्ण केसीले विद्युत् र सडक विस्तारका क्रममा देखिने समस्या हटाउँदै समयमै योजना सम्पन्न गर्न आफू निरन्तर लागिरहेको दशैँसम्ममा ती गाविसमा बिजुली बत्ती बाल्ने तयारीका साथ काम भइरहेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार ०१:१५