सूचनाको शक्ति - The Power Of Information

        

खजुरा गाउँपालिकामा २८ वटा ट्रान्सफर्मर जडान, हट्यो विद्युत भोल्टेजको समस्या


बाँके । विद्युत भोल्टेजको समस्या समाधानका लागि गाउँपालिकाले विद्युत ट्रान्सफर्मर जडान गरेसँगै बाँकेको खजुरा गाउँपालिकाका स्थाीयबासी खुशी भएका छन् । विद्युत भोल्टेजको समस्यमा झेल्दै आएका गाउँपालिकाबासीहरु उक्त समस्याबाट मुक्त भएका छन् ।
‘विद्युत भोल्टेज न्यून हुँदा निकै समस्या थियो, गाउँपालिकाले ट्रान्सफर्मर राखेपछि भोल्टेज तलमाथि हुँदैन,’ खजुराका स्थानीय निर्मल बिसीले भने, ‘भोल्टेजकै कारण विद्युतीय उपकरण विग्रिने समस्या हटेको छ ।’ ‘सबै वडामा विजुली, गाँउपालिका झिलिमिली’ भन्ने नाराका ट्रान्सफर्मर जडान गरिएको हो ।
विद्युत प्राधिकरणको समन्वयमा गत वर्षमा १८ वटा ट्रान्सफर्मर जडान गरेको गाउँपालिकाले यस बर्ष १० वटा ट्रान्सफर्मर आफै खरीद गरी जडान गरिरहेको छ । गाउँपालिकाले रु.५५ लाखमा १० वटा ट्रान्सफर्मर खरीद गरेको गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले जानकारी दिए ।
‘सबै वडामा विजुली पु¥याइसकेका छौं,’ गाउँपालिकाका अध्यक्ष कक्षपतिले भने, ‘केही वडाहरुमा विद्युत भोल्टेज न्यून हुने समस्या देखिएको छ । ट्रान्सफर्मर जडान गरेपछि त्यो समस्या समाधान हुन्छ ।’ गाउँपालिकाले ८ वटा वडाका विभिन्न स्थानमा ट्रान्सफर्मर जडान कार्य सम्पन्न भएसँगै पुरै गाउँपालिकामा विद्युतको समस्या समाधान हुने उहाँको दावी छ ।
दुई वटा ट्रान्सफर्मर गाउँपालिकाभित्रकै नमूना विद्यालयमा जडान गरिएको छ । विद्युत भोल्टेज कम भएकै कारण विद्यालयका विहानी कक्षाहरु सञ्चालनमा कठिनाई भएपछि जनता नमूना माध्यमिक विद्यालय सन्तकुटी र ज्ञानोदय माध्यमिक विद्यालय खजुरामा ५० केभिए क्षमताका ट्रान्सफर्मर जडान गरेको गाउँपालिकाले जनाएको छ ।
गत वर्ष विद्युत प्रधिकरणसँगको समन्वयमा ट्रान्सफर्मर जडान गरेको गाउँपालिकाले यस बर्ष आफै ट्रान्सफर्मर खरीद गरेको अध्यक्ष कक्षपतिले बताए । उनले भने, ‘गाउँपालिकाको आफै खरीद गरेको हो । ट्रान्सफर्मर जडानका लागि विद्युत प्राधिकरणले हामीलाई प्राविधिक सहयोग मात्रै गरेको छ ।’ ट्रान्सफर्मर जडान गरेसँगै खजुराबासीहरु विद्युत भोल्टेजको समस्याबाट मुक्त भएको उनले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार ०४:१३