बाँके । यौन व्यवसाय ठिक छ या छैन बहसकै बिषय हो । कति आफ्नै खुशीमा यौन व्यवसायी भएका छन् त कति बाध्यताले यौन कर्म गरिरहेका छन् । आफ्नै मनमञ्जुरीमा यौन कर्म गर्नेहरु आफ्नो कर्मबाट खुशी होलान तर, समाजमा बाध्यताले यौन कर्म गर्नेहरु भने पिडामा बाँचिरहेका छन् ।
नेपालगन्ज ऐतिहासिक र पुरानो शहर हो । यो धेरै किशोरकिशोरीको सपना फुलाउने शहर पनि हो । तर, यहाँ धेरै किशोरीहरुको सपना त्यसै ओइलाइरहेको पनि सत्य हो । सपना सजाउन नेपालगन्ज आएका कतिपय महिलाहरु नारकिय जीवन विताउन पनि बाध्य छन् । नेपालगन्जका होटलहरुमा धेरै महिलाहरुको सपना ओइलिरहेको छ ।
बसपार्क, न्युरोड, पुष्पलाल चोक, राँझा क्षेत्रमा होटलको आवरणमा धेरै अवैधानिक यौन अखडाहरु सञ्चालनमा छन् । ति अखडाहरुमा धेरै युवतीहरु कुनै न कुनै रुपमा फसेका छन् । जानेर या नजानेर यौन अखडाहरुमा फसेका युवतीहरु यतिखेर अनेकौं पिडा खेप्न बाध्य छन् । तर प्रहरी भने मुकदर्शक भएर खुलेआम धन्दा चलाउन दिइरहेको छ ।
होटलमा आउने ग्राहकसँग समय विताउनुपर्ने, ग्राहकको माग अनुसार शारिरिक सेवा दिनुपर्ने यस क्षेत्रका होटलमा काम गर्ने महिलाको दैनिकी नै हो । कति महिला आफ्नै खुशीले यौन कर्म गरिरहेका होलान् तर, अन्जानमा यौन कर्म गर्न पुगेका किशारीहरु आफ्नो दुखेसो यसरी पोख्छन् । यसरी गाउँबाट किशोरीहरु शहर आइपुग्छन् । सुन्दर सपना बोकेर शहर आएका किशोरीहरु जानेर या नजाने यौन कर्ममा फस्छन् । नजानिँदो रुपमा नेपालगन्ज क्षेत्र यौन अखडाको शहर जस्तै बन्न पुगेको छ ।
नेपालगन्जमा करिब ३ सयको हाराहारीमा यौन व्यवसायी रहेको अनुमान गर्न सकिन्छ । त्यसमध्ये १४ देखि २५ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरु यौन कर्ममा संलग्न छन् । यस क्षेत्रमा यौन कर्ममा संलग्न किशोरीहरु आफुले ग्राहकलाई दिने सेवाबारे बताउँछन् । धेरै किशोरीहरु साथीसँगी कै लहलहैमा यौन कर्म गर्न बाध्य भएको यौन कर्ममा संलग्नहरु आफै बताउँछन् । प्रहरी भने यौन व्यवसाय समाप्त पारेको ठोकुवा गर्छ तर, यौन व्यवसाय झनै मौलाएको छ । वास्तवमा भन्ने हो भने प्रहरीकै कारण यौन नेपालगन्जमा यौन व्यवसाय मौलाएको छ ।
मिठो खाने, राम्रो लगाउने, छोटो अवधिमा धेरै पैसा कमाउने सपना बोकेर गाउँवाट शहर पसेका धेरै किशोरीहरु अन्जानमा यौन कर्ममा फसेका छन् । विभिन्न कारण यौन कर्ममा फसेका कति किशोरीहरु चेतिएका पनि छन् । उनीहरु भन्छन्, ‘आफुले भोगेको जस्तो पिडा अरु किशोरीले भोग्नु नपरोस् ।’ नेपालगन्जमा पछिल्लो समय यौनकर्मी किशोरीहरुको संख्या बढ्दो छ । क्याविन रेष्टुरेण्ट तथा होटलमा जोखिम मोलेर काम गर्दै आइरहेका किशोरीहरुको संख्या उच्च छ । यौन कर्ममा संलग्न किशोरी तथा महिलाहरु विभिन्न किसिमको यातना भोग्नसमेत बाध्य रहेका छन् ।
‘प्रहरी आएर हैरान पार्छन्, ‘केही रकम बुझाउँछौं, अन्य सानो दर्जाका प्रहरीले कहिलेकाहीं आएर मासु र रक्सी खान्छन्, अनि यौन इच्छा पूरा गर्छन्, जान्छन् ।’
यहाँ सञ्चालित होटलहरुमा भइरहेको यौन व्यवसायलाई हेर्ने हो भने प्रहरीको पूर्ण संरक्षण रहेको अनुमान गर्न सकिन्छ । प्रहरी भने यहाँका होटल, रेस्टुरेन्टबाट यौन व्यवसाय हटाउन असफल भएपछि यो व्यवसाय नेपालगन्जमा मौलाउँदो क्रममा रहेको छ । एक यौनकर्मी किशोरीले रकम खाने वडा प्रहरी कार्यालयले यौन व्यवसायीबाट के–के सेवा, सुविधा पाउँछन् त्यो पनि स्पष्ट खुलाएकी छिन् । ‘वडा प्रहरी कार्यालयलाई कहिले ७५ देखि ८० हजार रुपैयाँसम्म नगद बुझाएका छौं,’ एक यौनकर्मी महिलाले भनिन् । ‘प्रहरी आएर हैरान पार्छन्,’ उनले भनिन्, ‘केही रकम बुझाउँछौं, अन्य सानो दर्जाका प्रहरीले कहिलेकाहीं आएर मासु र रक्सी खान्छन्, अनि यौन इच्छा पूरा गर्छन्, जान्छन् ।’
कहिलेकाहिँ प्रहरीले भनेको जस्तो नभए मात्र छापा हान्ने गरेको उनले सुनाइन् । कहिलेकाहिँ साहुलाई नभनी किशोरीलाई दुख दिने गरेको यौनकर्मीको गुनासो छ । ‘पहिलो दिनमा फोन नम्बर माग्छन्,’ उनले भनिन्, ‘साहुलाई नभनी जान मिल्दैन, फेरि गएन भने तेरोमा रेड हान्छु भनेर धम्की दिन्छन् ।’ नेपालगन्जमा यौनकर्मी राखेर रेस्टुरेन्ट व्यवसाय चल्ने ठाउँ अधिकांश वडा प्रहरी कार्यालयको कार्यक्षेत्रमा पर्छन् । वडा प्रहरी कार्यालयमा नयाँ इन्चार्ज आएसँगै विभिन्न बहानामा होटल व्यवसायीहरुलाई दुख दिने गरिएको छ । सुरुमा छापा मार्ने र विस्तारै रकम असुलीमा लाग्ने गरेको एक होटल व्यवसायीले बताए ।
यसरी यौनकर्मी र केही रेस्टुरेन्ट व्यवसायीसँग रकम खान पाउने भएकाले वडा प्रहरी कार्यालय नेपालगन्जमा इन्चार्ज भएर आउन पहुँचवाला नै हुनुपर्छ । ‘हाम्रो त जम्मा चार जना केटीमात्र छन्,’ एक व्यवसायीले भने, ‘मेरोबाट प्रहरीले पैसा त लैजान्न तर कहिलेकाहिँ खान आउँछन्, र केटी पनि लिएर जान्छन् ।’ वडा प्रहरी कार्यालय नेपालगन्जका यसअघिका इन्चार्ज राजन गौतमले कडा निगरानी गरेकै कारण कम भएको यौन व्यवसाय नयाँ इन्चार्ज नारायण डाँगी आएसँगै फस्टाउँदै गएको छ । यौन व्यवसाय नियन्त्रण गर्ने नाममा उल्टो संरक्षण गर्न थालेपछि यौन व्यवसाय फस्टाउँदै गएको बसपार्कका स्थानीयहरुको भनाई छ ।
।