सूचनाको शक्ति - The Power Of Information

        

बुवाको कात्रो उठाएपछि तस्वीर भाइरल, सहयोगका लागि जुट्यो एकदिनमै ३० लाख


नयाँ दिल्ली । भनिन्छ हजार शब्दले भन्न खोजेको चिजमात्र एक तस्बिरले वर्णन गर्न सक्छ । यही कथनलाई चरितार्थ बनाइदिएको छ, भारतको एक घटनाले । घटना थियो, जब भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका संवाददाता शिव सन्नीले एक बालकले आफ्ना बुवाको लास अघि उभिएर रोइरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे ।
तब बालकप्रति सान्त्वना तथा समवेदना मात्रै प्रकट गरिएन सहयोगस्वरुप एकै दिनमा ३० लाख भारतीय रुपैयाँ (करिब ४३ हजार ८२९ अमेरिकी डलर) भन्दा बढी रकम संकलनसमेत भयो । सोमबार बिहान सवा १० बजे ट्विटरमा पोष्ट भएको सो फोटो एकै दिनमा ७ हजार भन्दा बढी पटक रिट्विट गरिएको छ । फोटोमा बालक जसको आडमा रोइरहेको देखिन्छ, उनी राजधानी नयाँ दिल्लीका २७ वर्षीय अनिल हुन् ।
डोरीको सहयोगमा नाली सफा गर्न जाने क्रममा दुर्घटना हुँदा अनिलको गत शुक्रबार निधन भएको थियो । अध्ययनका अनुसार भारतमा यस्तै दुर्घटनाबाट वार्षिक १ सयभन्दा बढी कामदारकोे मृत्यु हुने गरेको छ । शिवले ट्विटमा अनिलको अन्तिम संस्कार गर्न आर्थिक स्थिती कमजोर रहेको उल्लेख गरेपछि उक्त रकम संकलन भएको हो । पत्रकार शिवले नाली सफा गर्ने कामदारको सुरक्षालाई लिएर सरोकारवालाको ध्यान केन्द्रित होस् भन्ने मात्र आफूले चाहेको प्रष्ट पारे ।
‘खासमा म अपराध बिट हेर्ने पत्रकार हुँ । वियोगका धेरै घटनाहरु मैले देखेको छु । तर यो केही खास अवस्य थियो, जो मैले यसअघि देखेको थिइन्,’ शिवले फोटो पोष्ट गर्नुको कारण खुलाउँदै भने, ‘नाली सफा गर्ने कामदारको मृत्युबारे ध्यान केन्द्रित होस् भनेर फोटो पोष्ट गरेको हुँ । यसले पीडित परिवारको दुर्दशालाई निकै मिहिन ढंगबाट वर्णन गरेको छ ।’ उनले छरछिमेकले सहयोग गरेपछि मात्रै अनिलको दाहसंस्कार हुन सकेको बताए ।
उनका अनुसार अनिलका ४ महिनाका छोराको एक साताअघि मात्रै निमोनियाका कारण मृत्यु भएको समेत खलाए । अनिलका छोराको मृत्यु हुनुको कारण पनि औषधि खरिद गर्न पैसा नहुनु रहेको शिवले प्रष्ट पारे । अनिलका ७ र ३ वर्षका अन्य २ छोरीहरुसमेत छन् । पत्रकार शिवको ट्विटपछि एक गैरसरकारी संस्था उदय फाउन्डेसनले ‘केटो’ नाम दिएर सहयोग रकम संकलन अभियान नै थाल्यो । जसमा लाखौंले सहभागिता जनाए ।अभियानमा मानिसहरुको सहभागिताका सम्बन्धमा पत्रकार शिवले भने, ‘यो पुरापुर सोचभन्दा बाहिरको कुरा हो ।’ फाउन्डेसनले संकलन भएको रकम अनिलका छोराछोरीको पढाइ तथा परिवारको लालनपालनमा खर्चिने प्रष्ट पारेको छ । पत्रकार शिवले केही बलिउड कलाकारहरुले समेत अनिलका परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूलाई सोधेको बताए । उनका अनुसार सामाजिक सञ्जालमा उनलाई अनिलका परिवारका बारेमा थप कुराहरु बुझेर जानकारी गराउनसमेत आग्रह गरिएको छ ।
मृतक अनिलका छोराले बुवाको लास हेरेपछि लासघरबाट बाहिर आएर आफूमाझ केही कुरा बताएको शिवले बताए । भन्छन्, ‘यो समयमा मेरा बुवा भइदिएको भए सायद मेरो यो उमेर नाली सफा गर्ने काममा प्रवेश गर्नका लागि उपयुक्त भइसकेको छैन भनेर भन्नुहुन्थ्यो होला ।’ घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको भारतीय सञ्चार माध्यम एनडिटिभीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा अनिलले प्रयोग गरेको डोरी कमजोर रहेको र सुरक्षाका लागि कुनै पनि साधन प्रयोग नगरेको पाइएको उल्लेख छ । कामदारलाई सुरक्षा सावधानी अपनाउन कुनै पनि साधनको प्रयोग नगरिएको भन्दै कम्पनीका सुपरभाइजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो एक महिनाभित्र दिल्लीमा नाली सफा गर्ने कामदारको मृत्यु भएको यो दोस्रो घटना हो ।
ढल प्रशोधन केन्द्रमा भने कामकै सिलसिलमा अन्य ५ जनाको मृत्यु भइसकेको छ । सहयोगस्वरुप उठेको रकमबाट अब अनिलका छोराछोरी सजिलैसँग विद्यालय जानसक्नेमा पत्रकार शिव ढुक्क छन् । शिव भन्छन्, ‘सहयोगका लागि मानिसहरुको पहलले उनीहरुको भविष्य सुनिश्चित भएको छ ।’ बिबिसी

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार १५:३७