सूचनाको शक्ति - The Power Of Information

        

संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउँछौं : महतो

बाँके । राष्ट्रिय जनता पार्टी नेपालका नेता र राजेन्द्र महत्तोले राजपाको केन्द्रिय बैठकले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका छन् । यसैक्रमा आफुहरु बाँके आएको महतोले जानकारी दिए ।
यसअघि राजपा नेपालले नेपालको संविधान दिवसको दिन अर्थात भोली असोज ३ गते कालो दिवस मनाउन प्रदेश नम्बर १, ५ र ७ मा जाने निर्णय गरेको थियो । केन्द्रीय निति अनुसार बाँके आएका महतोले संविधानमार्फत प्राप्त उपलब्धीको रक्षा गर्दै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
उनले संविधान दिवसमा सम्पूर्ण नेपालीले उत्सव मनाउने वातावरण हुनुपर्ने भन्दै आफुहरुको माग पुरा भएमा भोली नै सरकारमा सहभागी हुन तयार भएको स्पष्ट पारेका छन् । संविधान संशोधन लगायतका आफुहरुका माग पुरा नभएकाले सरकारलाई दिएको समर्थनका विषयमा अब धेरै समय पर्खन नसकिने बताए ।
महतोले भने, ‘संविधान संशोधन तथा निर्वाचित सांसद रेशम चौधरीको मुद्धा फिर्ता नभएसम्म संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन सकिदैन ।’ महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन् । उनले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको उल्लेख गरेका छन् ।
संविधान संशोधनका विषयमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै नेता महतोले वर्तमान सरकारमा सहभागिताभन्दा पनि राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गरेका छन् । अध्यक्ष मण्डलका सदस्य महतो र अर्का सदस्य अनिल कुमार झा प्रदेश ५ को बाँके र बर्दिया तथा प्रदेश ७ का कैलाली र कञ्चनपुरमा खटिएका हुनर ।
संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटकपटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै उनले संविधान संशोधन आश्वासनका रुपमा नभई लिखितरुपमा आउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार १०:०८