सूचनाको शक्ति - The Power Of Information

        

अभिभावक गुमाएकी सुनितालाई निशुल्क पढ्ने व्यवस्था

दुर्गा विसी । सल्यान । आमाबुवा गुमाएर बेसाहारा बनेकी सल्यान बागचौर नगरपालिका ४ सेतोगुराँसकी ८ बर्षिया सुनिता बिकलाई सुर्खेत पठाइएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पहलमा उनलाई सुर्खेत पठाइएको हो ।
सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, जिल्ला बाल कल्याण समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, बागचौर नगरपालिका ४ का वडाध्यक्ष प्रेमबहादुर पुन, सुनिताका मामा कृष्णबहादुर बिक, पत्रकार लगायत सरोकारवालाहरुको रोहबरमा उनलाई सुर्खेत पठाइएको हो ।
२०६४ सालमा स्थापना भएको कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा सञ्चालित कोपिला भ्याली स्कुलमा पठाइएको हो । उनलाई कोपिला भ्याली स्कुलमा खाने, बस्ने, पढ्ने सबै निशुल्क रुपमा ब्यबस्था गरिएको छ । उनलाई १२ कक्षा सम्म निशुल्क पढ्ने ब्यबस्था गरिएको छ । १८ बर्षको उमेर सम्म उनलाई सबै कुरा निशुल्क गरेर राखिने समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए ।
असाय, आमाबुवा गुमाएका टुहुरा बालबालिकाहरुलाई निशुल्क रुपमा पढाउनको लागि कोपिला भ्याली सेवा समाज खोलिएको बताउँदै उनले अहिले ४ सय बढी बालबालिकाहरुले पढिरहेको बताए । उनले सल्यानकी ८ बर्षिया बालिका सुनिताको उज्ज्वल भबिष्य कोपिलाले बनाउने बताए । साथै उनले सुनिताको अभिभावकको रुपमा आफुहरुले काम गर्ने बताए ।
बालिका सुनितालाई लिन सल्यानका आएका मन्त्री ज्वालाले सुनिताको अभिभावकको रुपमा काम गर्न कोपिला भ्यालीलाई सुझाव दिए ।सल्यानमा भएको अल्पनिय घटनामा परेर आमाबुवासँगै दुई बहिनी र एक भाई गुमाएकी सुनिताको भविष्यका लागि कन्जुसाई नगर्न आग्रह गरे । उनले जिल्लामा घटेका घटनाले आफुलाई दुखित बनाएको बताए । उनले परिवारका ५ जना गुमाएर बाँच्न सफल भएकी सुनितासँगै उनकी २ दिदिहरुको लागी सहयोग गर्न सबैलाई आग्रह गरे ।
मन्त्री ज्वालाले आफ्नो एक महिनाको आधा तलव पिडित परिवारको लागि उपलब्ध गराउने बताए । साथै सहयोग गर्न बिभिन्न निकायहरु आग्रहसमेत गरे । गत भदौ १२ गते राती बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसस्थित आफ्नै घरमा सुतिरहेको बेला दलिनसँगै घरको भित्ता भत्किँदा सुनिताका बुवा ४० बर्षिय बुवा रामसिंह कामी, आमा ३५ बर्षिय आमा रामकला कामी बहिनी ७ बर्षिय गंगा बिक, ६ बर्षिय प्रमिला बिक र भाई ४ बर्षिय रुपलाल बिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ०३:२९