बाँके । हुलाकी राजमार्ग निर्माणका क्रममा निर्माण कम्पनी र स्थानीयबीच उत्पन्न नक्सा विवाद टुङ्गोमा नपुगेपछि सडक निर्माणको काम अलपत्र बनेको छ । विवादका कारण पाँच महिनादेखि सडक निर्माण अवरुद्ध भएको छ । अवरुद्ध सडक निर्माण सुचारु गर्न बेलाबेलामा आवाज उठे पनि सरकारी निकाय र प्रभावित क्षेत्रका जनप्रतिनिधीहरूको उदासिनताका कारण सडक निर्माणले गति लिन सकेको छैन ।
नेपालगन्जदेखि राप्तीपारिको नरैनापुर हुँदै कट्कुइयासम्म निर्माणाधिन हुलाकी सडकमा देखिएको नक्सांकन विवादले सडक निर्माण अघि बढ्न सकेको छैन । सडक निर्माण रोकिएसँगै निर्माण सामग्रीसमेत अलपत्र परेका छन् । नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहियास्थित सडकखण्डमा सर्भे र नापी भए पनि सो विपरित सडक निर्माणको प्रयास भएपछि विवाद बढेको थियो । सरकारकै लगानीमा निर्माण हुँदै आएको उक्त योजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण सुरू गरेको हो ।
निर्माण कार्य ०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा रहे पनि नक्साकै विवाद टुंगोमा नलागेको कारण तोकिएको समयमा योजना पुरा हुनेमा आशंका उत्पन्न हुँदै गएको छ । दुई पक्षिय विवाद र सरकारकै उदासिनताका कारण पुनः निर्माण सुरू हुन नसकेकोले उक्त योजनामा देखिएको विवाद तत्काल समाधान गरि निर्माण कार्य सुरू गर्न विभिन्न पक्षले दवाव बढाएका छन् । सम्वाद समूह सहजकर्ता शुक्रऋषि चौलागाईले सडक नक्सांकनको विवाद वहुपक्षिय र सरकारसँग जोडिएको कानूनी र प्राविधिक विषय भएकाले सोही अनुसारको पहल गरिनुपर्ने बताएका छन् ।
सम्वाद समुहले विवाद समाधान गरी सडक निर्माण कार्य अघि बढाउन बाँकेका प्रदेश सभा सदस्य कृष्णा केसी नमूनामार्फत भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सडक निर्माणमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने, ‘राष्ट्रिय आयोजना रोकिनुहुँदैन, यसलाई तत्काल सुचारु गर्न हामीले पहल गरिरहेका छौं । केहीदिनमै विवाद समाधान भई निर्माण सुचारु हुन्छ ।’
।