सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक जग्गा खोज्दै घोराही उपमहानगर


रीता लामा । घोराही । वडा नम्वर ४ का वडाध्यक्ष भिमबहादुर सार्की वडाको विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा खोज्ने अभियानमा जुटिरहेका छन् । लक्ष्मीपुर र सोही स्थानको तल्लो भकारे भन्ने स्थानमा खाली रहेको १÷१ विगाहा गरी दुइ विगाहा जग्गा नापछेक गरी किला ठोकेर सामान्य तारबार समेत गरिसकेका छन् ।
उक्त जग्गा सार्वजनिक भएको र अरु कसैले तुरुन्तै कब्जा नगरुन भनेर आफुले यसो गरेको उनी बताउँछन् । तारबार गरिएको जग्गामा तत्कालको लागि विरुवा रोपेर भए पनि त्यसलाई संरक्षणको काम थालिने उनले बताए । वडाध्यक्ष सार्कीका अनुसार उक्त वडाको बारखेत, तल्लो भकारे, सवारी कोट, फलेक डाडा, ढुङगेडाँडा भन्ने स्थानमा प्रसस्त सार्वजनिक जग्गा छ । तर ती जग्गा कहि कतै मात्रै खालि छन् । बाँकी ठाउँ जग्गा व्यक्तिको कब्जामा परिसकेको छ ।
‘वडाको सबै ठाउँमा सार्वजनिक जग्गा खोज्ने हो भने करिव तीन सय विगाहासम्म जग्गा होला,’ उनले भने, ‘तर, खाली स्थान भने थोरै ठाउँमा मात्र छन् । जहाँजहाँ खाली छन्, ती स्थानमा तारबारको काम थालिएको छ ।’ वडाध्यक्ष सार्कीले अहिले आफुले वडाका स्थानीय व्यक्तिले कब्जा नगरेका जग्गाहरुलाई मात्रै खोजेर तारबार गर्न थालेको जानकारी दिए । उनीमात्र होइन, घोराही वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढाले पनि आफ्नो कार्यालय वरिपरि रहेको करिव ३६ विगाहा जग्गा तारबार गरी सुरक्षित राखेका छन् ।
वडाकै चाग्ले डाँडामा ४ कठ्ठालाई संरक्षण गरी फूटबल मैदान बनाउने तयारीमा छन् भने कृष्णपुरमा करिव १ विगाहा ५ कठ्ठा जग्गालाई तारबार गरी सार्वजनिक जग्गा संरक्षणको सुरुवात गरेका छन् । वडाका अन्य स्थानमा पनि सार्वजनिक जग्गा खोज्ने काम भैरहेको वडाध्यक्ष बुढा बताउँछन् । ‘हाम्रो वडामा सयौं विगाहा सार्वजनिक जग्गा रहेको प्रारम्भीक खोजबाट पत्ता लागेको छ,’ उनले भने, ‘तर अधिकांश स्थानका जग्गा खाली छैनन्, व्यक्तिले भोगचलन गर्दै आइरहेका छन् ।’ बाटो, कुलो, बन र आफ्नो नापी जग्गा वरपरको खाली रहेको ऐलानी भाग कब्जा गर्ने क्रम बढेको उनको भनाई छ ।
वडामा ३०० विगाहासम्म सार्वजनिक जग्गा हुनसक्ने अनुमान आफुले गरेको वडाध्यक्ष बुढा बताउँछन् । वडाको गुरऔ, थाल्के, जलकुण्डी, सिसनी लगायतका स्थानमा अझै पनि धेरै सार्वजनिक जग्गा छन् । तत्काल व्यक्ति बसेको जग्गालाई हटाउन नसके पनि खाली जग्गा भने आफुहरुले संरक्षण गर्ने उनी बताउँछन् । २०३५ सालदेखि जग्गाको भोगचलन गर्दै आइरहेको अवस्थामा आफुले तुरुन्तै उठेर जाउ भन्न गाह्रो भएको उनको भनाई छ । घोराही नम्वर ४ र १२ ग्रामीण क्षेत्रमा भएकाले सार्वजनिक जग्गा सजिलै भेटिए पनि घोराहीका वडा नं. १०, १४ र १५ लाई भने सार्वजनिक जग्गा खोज्न निकै मुस्किलको काम बनेको छ ।
वडामा प्रसस्त सार्वजनिक जग्गा छन् भन्ने वडाध्यक्षहरुलाई थाहा हुँदाहुँदै पनि खाली जग्गा भेट्न भने मुस्किल परेको छ । वडा नम्वर १० का वडाध्यक्ष निर्मल डाँगीका अनुसार वडामा खोज्ने हो भने सयौं विगाहा जग्गा होलान् तर अहिले वडाको चारवगिया भन्ने स्थानमा जम्मा ४ कठ्ठा जग्गा पोखरी रहेको अवस्थामा भेटिएको छ । बाँकी सबै स्थानका जग्गाहरु कब्जा भैसकेका छन् । ‘सार्वजनिक जग्गाको विषयमा सरकारको प्रष्ट निती र निर्देशन आएमा आफुहरुले सार्वजनिक जग्गा कब्जा गरेकालाई समेत व्यवस्थापन गरि जग्गा फिर्ता गर्न सक्छौं,’ उनले भने ‘सबै राजनीतिक दल सुरक्षा निकाय, सरोकारवाला सबै लाग्ने हो भने यहाँ धैरै सार्वजनिक जग्गा निस्किन्छ ।’
पछिल्लो समय शहरी करण बढ्दै जानु र जग्गाको भाउ आकासिँदै जाँदा सार्वजनिक जग्गा कब्जा गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । जसको प्रत्यक्ष असर सबै राज्य पक्षलाई परेको छ । सानोतिनो सार्वजनिक भवन निर्माण, सामान्य खेल मैदान निर्माणको लागि पनि जग्गाको अभाव पर्न थालेको छ । सरकारी कार्यालय स्थापनाको लागि पनि व्यक्तिको जग्गा करोडौं मुल्यमा सरकारलाई किन्नु परिरहेको छ । बजारको बीच भागमा पर्ने १५ नं. वडामा पनि ठाउँठाउँमा जग्गा भेटिएका छन् । तर सबैजसो स्थानमा घर बनिसकेका छन् । घर नबनेका छिटफुट र थोरै मात्र जग्गा प्राप्त भएको वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।
‘हामीले बजारका करिव ७ स्थानमा जग्गा भेटायौं, तर खाली भने दुई स्थानमा मात्र छ,’ उनले भने, ‘भेटिएको एक ठाउँको जग्गामा जेष्ठ नागरिक दिवा केन्द्रको स्थापना गर्दैछौं, अर्को ठाउँको जग्गा संरक्षणको काम भैरहेको छ ।’ अहिले आफुले वडाको सबै स्थानमा कब्जा भएको र नभएका दुवै प्रकारको जग्गाको लगत लिने काम थालेको उनले बताए । घोराही उपमहानगरपालिका दाङले आफनो क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर रहेको सार्वजनिक जग्गा खोज्न सुरु गरेपछि अहिले घोराहीका १९ वटै वडाका विभिन्न स्थानमा सार्वजनिक जग्गा भेटिन थालेका छन् । भेटिएका जग्गालाई जोगाउने र व्यक्तिले कब्जा गरेको जग्गा पत्ता लगाउने काम पनि उपमहानगरले थालेको मेयर नरुलाल चौधरीले जानकारी दिए ।
मेयर चौधरीका अनुसार अहिले पहिलो चरण अन्तरगत उपमहानगरले जग्गा खोज्ने जिम्मेवारी वडाहरुलाई दिएको हो । वडाहरुले नै आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गाहरु जोगाएर राख्नुपर्ने भन्ने निर्देशन पालिकाले नै दिएको उनले बताए । उपमहानगरले गतबर्ष नै सार्वजनिक जग्गाको संरक्षण गर्ने भन्ने खालको निर्णय गरे पनि काम भने भर्खरैबाट सुरु गरेको उनको भनाई छ । ‘सार्वजनिक जग्गामा व्यक्तिहरु बसिरहेका छन् । केही भने खाली छ । त्यही खाली जग्गा थप अक्रिमणमा नपरोस् भनेर संरक्षण गर्न खोजिरहेका छौं,’ उनले भने, ‘सार्वजनिक जग्गामा बसेकाहरुलाई हटाउने सम्बन्धमा भने सरकारको प्रष्ट नीति र निर्देशन कुरिरहेका छौ ।’ सार्वजनिक जग्गामा सुकुम्वासी, विपन्न परिवारहरु पनि बसिरहेको हुँदा उनीहरुलाई आफुले तुरुन्तै हटाउन सक्ने अवस्था नरहेको उनको भनाई छ ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १२:४२