सूचनाको शक्ति - The Power Of Information

        

भारतीय राजदुतको आश्वासन, ‘भेरीमा ट्रमा सेन्टर’


बाँके । भारतीय राजदुत मन्जीवसिंह पुरीले भेरी अञ्चल अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल भारत मैत्री संघले आज नेपालगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भेरीमा ट्रमा सेन्टर स्थापना गरेर गरिव तथा विपन्न समुदायको उपचारमा सहयोग पुर्याइने बताए ।
भेरी अञ्चल अस्पतालमा मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट गरिव तथा विपन्न समुदायहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालको स्तरवृद्धि गर्नुपर्ने आवाज उठिरहेका बेला राजदुत पुरीले यस्तो बताएका हुन् । राजदुत पुरीले खेलाडीलाई छात्रवृत्ति तथा नेपाली गाडीलाई भारत जानका लागि कष्टममै रुट परमिट सुविधा दिन आफुले पहल गर्ने पनि आश्वासन दिए ।
कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमालले भेरी अञ्चल अस्पतालमा ट्रमा सेन्टर स्थापनाका लागि भारत सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । भेरी अस्पतालले पश्चिम नेपालका गरिव तथा विपन्न समुदायका बिरामीको उपचारमा ठुलो राहत पुर्याएको भन्दै सांसद हमालले स्तरबृद्धि सँगै ट्रमा सेन्टर स्थापना गर्नुपर्नेमा जोड दिए ।
नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदिपकुमार गुप्ताको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य धु्रब दाहाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतवार १५:२०