आयआर्जनलाई जोड्न भेरी प्राविधिकमा औद्योगिक प्रशिक्षण
।
बाँके । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा श्रम र आयआर्जनलाई जोड्ने उद्देश्यले मेकानिकल ट्रेड अन्तरगत औद्योगिक प्रशिक्षण (अप्रेन्टिसिप) कार्यक्रम सञ्चालनमा ल्याइएको छ । २४ महिने मेकानिकल प्राविधिक एसएलसी सरहको कार्यक्रम शिक्षालय सञ्चालक समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उक्त कार्यक्रमको उद्दघाटन समेत गरेका छन् ।
स्वीस सरकारको सहयोगमा सञ्चालन गर्न लागेको सो कार्यक्रम ‘सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण (अप्रेन्टिसिप)’ भन्ने नाराका साथ सो कार्यक्रमको आईतबारदेखि विधिवत सुरुवात समेत गरिएको हो । ४० जना विद्यार्थी क्षमताको सो कार्यक्रम प्राविधिक एसएलसी र डिप्लोमा तहको हुने बताईएको छ । स्थानीय उद्योगीहरुसंगको सहकार्यमा उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने उदेश्यले सो कार्यक्रम सञ्चालनमा ल्याइएको शिक्षालयका प्रमुख भिमकान्त लामिछानेले जानकारी दिए ।
उनले शिक्षालय स्थापनाको २४ वर्षमा थुप्रै प्राविधिक जनशक्ति उत्पादन गरी राज्यलाई समुन्नत बनाउन अहम भूमिका खेलेकोसमेत बताए । शिक्षालयका प्रमुख लामिछानेको अध्यक्षतामा आइतबार आयोजित कार्यक्रममा औद्योगिक प्रशिक्षण (अप्रेन्टिसिप) को शुुभारम्भ गरिएको थियो । सो अवसरमा प्राविधिक शिक्षा परिषदका तथा सिटिईभिटि ईन्स्योर कार्यक्रमका निर्देशक टेकबहादुर मल्ल तथा हेल्भटासका टिम लिडर सुभाष सुवेदी, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
।