सूचनाको शक्ति - The Power Of Information

        

रोजगारीको केन्द्र बन्दै सहकारी संस्था


बाँके । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारी संस्थाहरुलाई रोजगारीको केन्द्रका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । देशमा गरिबी बढिरहेका बेला स्वरोजगार बन्ने अवसर सहकारीले दिएको बताउँदै सहकारीहरु स्थापना भएसँगै रोजगारीको संख्यामा समेत वृद्धि भएको बताए ।
गाउँगाउँमा स्थापित सहकारी संस्थाबाट सञ्चालन भएका बिभिन्न कार्यक्रमहरुले रोजगारीको अवसर सिर्जना भएको उनको भनाई छ । साथी स्वावलम्बन कृषि बहुउद्देश्यीय सहरकारी संस्था मनिकापुरको १३ औं साधारणसभामा बोल्दै अध्यक्ष सुवेदीले सहकारी संस्थामा अहिले ठूलो जनशक्तिले रोजगार पाइरहेको बताए ।
साधारणसभामा बोल्दै नेपालगन्ज वडा नं. २० का अध्यक्ष कृष्ण कार्कीले सहकारीमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाउनेको संख्या उच्च रहेको बताए । उनले भने, ‘सहकारी संस्थाहरुले आफूलाई अझै स्तरीय विश्वसनीय बनाउँदै लैजानुपर्छ । त्यसो भयो भने युवा जनशक्तिको आकर्षण अझ बढ्नेछ ।’
‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने नारालाई अभियानकै रूपमा विस्तार गरी सहकारीले रोजगारी सिर्जनामा ठूलो भूमिका खेलिरहेको अध्यक्ष कार्कीले बताए । उनले भने, ‘ग्रामीण समुदाय र सहरको पनि न्यून आम्दानी भएको क्षेत्रलाई सहकारीले समेट्नु पर्छ, जसलाई ठूला व्यवसायिक संस्थाहरूले समेट्न सकिरहेका छैनन् । यसबाट सहकारी थप मजबुत र दरिलो हुनेछन् ।’
साथी स्वावलम्बन कृषि बहुउद्देश्यीय सहरकारी संस्थाको १३ औं साधारणसभाले सन्तबहादुर बिसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति पनि चयन गरेको छ । समितिको उपाध्यक्षमा सरस्वती चमार, सचिवमा त्रिलोकराज यादव र कोषाध्यक्षमा खेदु चमार चयन भएका छन् भने सदस्यहरुमा मानबहादुर रावत, टिकाराम अधिकारी, इन्द्रा बिसी, तुले थापा, तुल्सी रोका, रामप्रसाद थारु लगायत रहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतवार १०:४१