बाँके । नेपालगन्ज भन्सार कार्यालयबाट अहिलेसम्म २१८ जना व्यवसायीले सरकारी नीतिअनुरूप निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) लिएका छन् । (नेपालगन्ज भन्सार कार्यालयमा एक्जिम कोडका लागि २४० जना व्यवसायीले निवेदन दिएकोमा हालसम्म २१८ जना व्यवसायीले एक्जिम कोड लिएको कार्यालयको कम्प्युटर शाखाको तथ्यांकमा छ ।
भारतबाट सामान ल्याउने व्यापारीले अनिवार्यरुपमा एक्जिम कोड लिनुपर्ने व्यवस्था सरकारले गरेको छ । एक्जिम कोड नलिँदासम्म भारतबाट सामान ल्याउन नपाइने भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए । कोड पाएका फर्म र व्यवसायीले सामान आयात–निर्यात समेत गरिरहेका छन् । कागजात पुगेको सात दिनभित्र कोड नम्बर दिने प्रावधान भए पनि सहजताका लागि निवेदन दिएको केही दिनमै कोड प्रदान गरिदैं आएको उनले जानकारी दिए ।
नेपालगन्ज नाका हुँदै भारतबाट सामान ल्याउने व्यापारीको तथ्याङ्क राख्न र राजस्वलाई पारदर्शी बनाउन सरकारले एक्जिम कोडको व्यवस्था गरिएको हो । यसअघि नेपालगन्ज नाका भएर भारतबाट सामान आयात गर्ने व्यापारीको आधिकारिक तथ्याङ्क नेपालगन्ज भन्सार कार्यालयसँग थिएन । एक व्यवसायका लागि एउटा छुट्टै कोड नम्बर हुने भएकोले तथ्याङ्क राख्न र व्यापारीको पहिचान गर्न सजिलो भएको उनी बताउछन् ।
अवैध व्यापार नियन्त्रण, व्यापारीलाई करको दायरामा ल्याउन, आयात, निर्यातलाई व्यवस्थित गर्न र राजस्व छली रोक्न एक्जिम कोडले सहयोग गर्नुका साथै वैध कारोबारलाई सहजीकरण हुने भन्सार कार्यालयले जनाएको छ । ५० हजारको भन्दा बढी सामान आयात गर्ने र ५ लाखभन्दा बढी सामान निर्यात गर्ने फर्मले अनिवार्य कोड लिनुपर्ने नयाँ नियम गत बर्षदेखि लागू भएको हो । कोड लिन तीन लाखको बैंक ग्यारेन्टीसहितका प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था छ ।
।