सूचनाको शक्ति - The Power Of Information

        

अब यौन निष्क्रियताको बहस थालौ !

नेपाली समाज लामो समय एकात्मक निरंकुश शासन ब्यवस्थाको जन्जिरमा बाधिएको थियो । मुलुक भौगोलिकरूपमा स्वाधीन भए पनि जनताको स्वाधीनता र स्वतन्त्रता कुन्ठित गरिएको थियो । पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि चलिआएको महिलाप्रतिको भेदभावपूर्ण व्यबहार नेपाली समाजको यथार्थ हो । खासगरी १० बर्षे माओवादी आन्दोलनले नेपाली समाजमा बिद्यमान लिङ्ग, जात, भाषा, धर्मको आधारमा भएको उत्पीडिनविरुद्ध लड्न उत्प्रेरित गरेको थियो । हामी अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा छौं । अहिले पनि महिलामाथि हिंसा उत्तिकै मात्रामा भैरहेको पाइन्छ । कसरी महिलामाथि हुने हिंसा र विभेद सकिएला चर्चा गरौ ।

अधिकार
हिंसा अक्सर शक्तिशालीहरुले नै गर्छन्, चाहे राजनैतिक अधिकार, चाहे आर्थिक अधिकारमा हुन् । नेपालमा राजनैतिक,आर्थिक वा सामाजिक कुरामा डिसिजन गर्ने सबै ठाँउमा पुरुषहरु बलियो अबस्थामा छन् । पहुँच र नियन्त्रणबीच ठुलो फरक छ, महिलालाहरुलाई कुनै कुरामा पहुँच मात्र दिएर पुग्दैन, त्यसमाथि नियन्त्रणको अधिकार पनि दिनुपर्छ । सामान्य उदाहरण, विद्यालयसम्म पहुँच पुर्याउने तर उनीहरुले मन लागेको विषय पढ्न नपाउने, घरपरिवार, छिमेकी वा शिक्षकले निर्धारण गर्ने भयो भने त्यो पूर्णअधिकार भएन । नेपालजस्तो कृषिप्रधान देशमामा करिब ७५५ महिलाहरु कृषि पेसामा आवद्ध छन् । तर १९.७५ महिलाहरुको नाममा ५५ जमीन रहेको छ । ५१५ जनसंख्या भएको महिलालाई खासगरी जमीनमाथि उत्तिकै नियन्त्रणकारी अधिकार प्रदान गर्नुपर्छ । महिलाहरुले घरभित्र, खेतबारीमा गरेको श्रमको कतै पनि लेखाजोखा गरेको पाइँदैन । सरकारले गृहिणीहरुको पनि श्रमलाई मान्यता दिनुपर्छ । २०६४ सालदेखि सदनमा पहिलाको तुलना गर्ने हो भने उल्लेखनीय मात्रामा उपस्थिति रहेको पाइन्छ ।
२०६४ पहिला सांसदमा महिलाको प्रतिनिधित्व ५५ भन्दामाथि पुग्न सकेको थिएन, २०६४ को संविधानसभामा ३३५ प्रतिनिधित्व थियो । गतबर्ष भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका र नगरपालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य थियो । अधिकांश राजनैतिक दलहरूले प्रमुख पदमा पुरुष उम्मेद्वार उठाएका कारण २५ महिलाहरु मात्र प्रमुख पदमा निर्वाचित भएका थिए । सबै राजनैतिक दलहरूले महिलाहरुलाई उत्तिकै महत्व दिएर नेतृत्व विकासमा जोड गर्नुपर्ने आजको आवश्यकता हो । हामीले लोकतन्त्रलाई सहभागीतामूलक र उन्नत बनाउन प्रत्यक्ष लोकतान्त्रिक अभ्यास गरेमा मात्र सबैको नेतृत्व विकास हुनेछ । उनीहरुको नीति निर्माणको तहमा उल्लेखनीय सहभागीताले पनि महिलाहरुलाई थप उर्जा प्रदान गर्ने कुरामा दुई मत छैन ।

शिक्षा र रोजगारी
एउटा चिनियाँ उखान छ, एउटा व्यक्ति योग्य छ भने उसका पछाडी अनेक व्यक्ति योग्य हुन्छन् । एजुकेशन एक्टिभिस्ट मलाला भनाई छ, ‘संसार भरिका यूवतीहरुसंग मेरो अपिल, आउ किताब र कलम उठाऔ । यो हाम्रो शक्तिशाली हतियार हो ।’ एक बच्चा, एक शिक्षक, एक किताब र एउटा कलमले नै संसार बदल्न सक्छ । समस्यालाई निर्मूल गर्नका लागि शिक्षा मात्रै एउटा हल हो । नेपालीको साक्षरता दर हेर्ने हो भने पुरुष ७६.४५ छ भने महिलाको ५३.१५ रहेको छ । शिक्षाले मानिसलाई चेतनशील बनाउँछ । उनीहरुले आफ्नो अधिकार कसरी प्रयोग गर्ने भन्ने कुराको जानकारी पनि प्राप्त गर्ने गर्छन् ।
शिक्षा प्राप्त गरेका महिलाहरुका सामु थुप्रै अवसरहरु हुन्छन्, सम्भावनाका ढोकाहरु खुल्छन् । जसले गर्दा उनीहरु अरुमा निर्भर हुने बाध्यता हट्नेछ । संसारमा जति पनि महिलाहरु प्रगति उन्नति गरेका छन् । उनीहरु शिक्षित भएरै सफलता हासिल गरेका हुन् । हिलारी किलिन्ट्न, सोनिया गान्धी, पारिजात आदि महिलाहरुको सफलताको कारण शिक्षा नै हो । रोजगारीका अवसरहरुको सिर्जना शिक्षाले नै गर्छ । बिशेषगरी प्राविधिक शिक्षाले रोजगारी पाउन सहज वातावरण निर्माण गर्छ । हामीले नैतिक शिक्षालाई पनि उत्तिकै महत्व दिनुपर्ने हुन्छ । हाम्रा युवा युवतीहरुलाई नैतिकवान बनाउने कुरामा समाज सदैव सजक र जिम्मेवार बन्नुपर्छ । महिला वा पुरुष बेरोजगार भएमा अनेक किसिममा नकारात्मक कर्ममा हात हाल्ने प्रवल सम्भावना रहन्छ । त्यसैले रोजगारीको हक सुनिश्चित गर्न सरकार र निजी क्षेत्र लाग्न जरुरी छ ।

मध्यपान, धूम्रपान र लागुपदार्थ नियन्त्रण
हाम्रो शरीरमा विभिन्न थरिका हार्मोनहरु पाइन्छन् । नकारात्मक पदार्थ खाएमा वा सेवन गरेमा नकारात्मक हार्मोन बढी मात्रामा पैदा हुने गर्छ । जसले दिमागलाई नकारात्मक काम गर्न प्रेरित गर्छ । समाजमा विभिन्न प्रकारका हत्या, हिंसा, बलात्कार, झगडा आदि जाँडरक्सी, गाँजा र अन्य ड्रग्स सेवन गरेका ब्यक्तिहरुबाट बढी मात्रामा हुने गरेको घटना छन् । नेपालका शहर वा गाउका प्रत्येक पसलहरुमा अल्कोहलजन्य पदार्थ सहजै पाउन सकिन्छ । गाउँघरमा घरेलुु जाँडरक्सी इजाजत बिनै बनाउन दिने छाडा प्रथाका कारण विभिन्न समस्याहरु निम्तिरहेका छन् । मदिराजन्य पदार्थ सेवन गरेर घरमा गएका पुरुषले बालबच्चा र श्रीमतीलाई कुटपिट गर्ने गरेका घटना दिनहुँ बाहिर आउँदै गरेको पाइन्छ ।
स्थानीय सरकारले छाडा जाँडरक्सी बेच्ने र उत्पादन गर्ने कुरालाई कडाइ गर्नुपर्छ । सार्वजनिक ठाँउमा निषेध गर्नुपर्छ । सहजै जाँडरक्सी पाउने वातावरणको अन्त हुनुपर्छ । लागुपदार्थको सेवनले अहिले नेपाली युवाहरुको भविष्य अन्धकार बन्ने गम्भीर खतरा छ । गरीबी र बेरोजगारीका कारण शिक्षाबाट बञ्चित थुप्रै वालवालिका मुख्यत सिकाएर भएका छन् । लागुपदार्थ सेवन गर्ने लत बसेका मानिसहरु, त्यो प्राप्तिका लागि जस्तोसुकै हर्कत गर्न पछि हट्दैनन् । उनीहरुको दिमाग सहि ठाँउमा नहुँदा हत्या र बलात्कारजस्ता अपराधहरु हुने गरेका छन् । जिम्मेवार सबै निकाय गम्भीरतापूर्वक लागेमा समाजमा शान्ति छाउनेछ ।

पोर्नोग्राफीमा सेन्सर
पूँजीवाद र उदारवादी धार भएका मुलुकहरूमा पोर्नोग्राफी एक उद्योगको रूपमा रहेको छ । अहिले नेपाल भारत लगायत देशहरूमा पनि सजिलैसँग इन्टरनेटको माध्यमबाट पोर्न सामाग्री पाउन सकिन्छ । हाम्रो देशमा पनि पोर्न उद्योग कमै मात्रामा भएपनि फस्टाउन थालेको देखिन्छ । पोर्नोग्राफीका कारण बलात्कार, हिंसा जस्ता समस्याहरुलाई मलजल गरेको अध्ययनले देखाएको छ । मानिसले जे देख्यो त्यो गर्न खोज्नु स्वाभावैले अन्यथा मान्नुहुँदैन । तर गलत कुराहरूलाई निस्तेज गर्न सकिएको खण्डमा गलत हुनबाट जोगाउन सकिन्छ । पोर्नग्राफीलाई नियन्त्रण गर्न सूचना तथा सञ्चार मन्त्रालय गम्भीर भएर लाग्नुपर्छ ।विशेषगरी कम उमेरका युवाहरु देखासिकी गर्ने नाउँमा विभिन्न गलत कर्तुतमा फसेका छन्, बढी चासो उनीहरुमा दिनुपर्छ ।

सन्तुलित भोजन र स्वच्छ वातावरण
हिंसा, हत्या आदिको बहस गर्दा सन्तुलित भोजन र स्वच्छ वातावरणकाको कुरा आउदा आश्चार्य लाग्न सक्छ । तर मानिसको खानपिन राम्रो भएन भने शरीरले राम्रोसँग काम गर्दैन । विशेषगरी हाम्रो मानसपटलमा नकारात्मक कुराहरू बढी खेल्नुको एउटा कारण सन्तुलित भोजन र निद्राको कमि पनि हुन् । त्यस्तै स्वच्छ वातावरणले हाम्रो दैनिक जीवनमा ठुलो प्रभाव पार्छ । राम्रो वातावरणमा मान्छे सिर्जनात्मक कुरामा बढी रुचि देखाउने गर्छ । सिर्जनाहरुको प्रष्फुटन हुने गर्छ भने नकारात्मक वातावरणमा खराब चिन्तन हावी हुन्छ ।

यौन खुलस्तता
यौनलाई कुन्ठित गर्नुहुँदैन । यौन सम्पर्कका दुईवटा पाटा छन्, एक जेनेरेशनको निरन्तरता हो भने अर्को आनन्द वा रमाइलो अङ्ग्रेजीमा प्लेजर पनि भनिन्छ । यौन सम्पर्क गर्ने कुरा अपराध होइन, प्राकृतिक प्रक्रिया हो । कसैको इच्छा बिपरित गरिएको यौन सम्पर्क वा यौनजन्य क्रियाकलाप अपराध हो, कसैमाथिको नियन्त्रण हो । महिलामाथि हुने हिंसा प्रायः यौनजन्य गतिविधि बढी भएको पाइन्छ । युवाहरुले खुलेर यौनबारे बहस, छलफल नगर्दा, यस्ता कुरा गुम्स्याएर राख्दा थुप्रै समस्यहरु आउने गर्छन् । यौनप्रति सबैको उत्सुकता हुन्छ, जसलाई ठिक तरिकाले समाधान गर्नुपर्छ । यौन सम्पर्क गर्ने कुरालाई नेपाली समाजले गलत अर्थमा बुझाएको वा बुझाइ राखेको पाइन्छ जस्लाइ बदल्न जरुरी छ ।
यौन सम्पर्कलाई समाजिक प्रतिष्ठा र सम्मानको रूपमा ग्रहण गर्नु दुर्भाग्यपूर्ण छ । यौन सम्पर्क गरेमा इज्जत जानेजस्ता अत्यन्तै नकारात्मक चिन्तन हाम्रो समाजलाई मुक्त पार्नुपर्छ । आफ्ना सन्तानले यौन सम्पर्क गरेको सुनेर घरपरिवारले मान प्रतिस्ठा गुमेको सोच्नु र समाजले सोही कुरालाई सत्य स्थापित गर्ने बाटो गलत छ । अहिलेका युवाहरुले सकारात्मक तरिकाले यौन सम्पर्क भनेको प्राकृतिक कुरा हो, सुरक्षित यौन सम्पर्कले हामीलाई स्वस्थ बनाउँछ भन्ने हेक्का राख्नुपर्छ । इच्छा बिपरित कुनै कुरा पनि सन्तोष मिल्दैन र त्यो बाटो समात्नु हुँदैन भनेर जनचेतना फैलाउन युवाहरू जुट्नुपर्छ ।

कडा कानुन
अपराधीलाई अन्तिम उपाय भनेको कानुन बमोजिम दण्ड दिने नै हो । अपराध गर्नेहरूलाई कडा कार्बाही गरेमा अन्य मानिसहरु अपराध गर्न डराउँछन् भन्ने मान्यता केही हदसम्म सत्य हो । अपराधीलाई सत्ता र शक्तिको दुरुपयोग गरेर उन्मुक्ति दिनेजस्तो घृणित काम रोक्न सबै सचेत भएर लाग्नुपर्छ । नेपालमा घटनाको प्रवृत्ति हेरेर ५ देखि १५ बर्ससम्म जेल सजाय ब्यवस्था भए पनि अहिले बलात्कारीलाई मृत्युदण्ड दिन माग भइरहेको छ । बलात्कारीलाई एउटा अर्को सजाय यौन निष्क्रियता अर्थात् ‘खसी’ बनाउने कुराको पनि बहस हुनुपर्छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतवार ०२:५५