सूचनाको शक्ति - The Power Of Information

        

वामदेवको आँखा बाँकेमा, सांसद रोकायलाई राजिनामा गर्न पौडेलले दिए दवाव


काठमाडौं । डोल्पामा ठाउँ खाली गराउन लामो प्रयास गर्दा पनि सफल नभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको निर्वाचन लड्ने महत्वकांक्षा अझै रोकिएको छैन । उनको नजर अहिले बाँके जिल्लामा परेको छ । आफू पराजित भएको क्षेत्रसँगै जोडिएको बाँके क्षेत्र नम्बर ३ मा वामदेवको आँखा परेको हो ।
उक्त क्षेत्रका सांसद नन्दलाल रोकायलाई बोलाएर नेकपाका महासचिव विष्णु पौडेलले वामदेवका लागि छोडिदिन आग्रह गरेका छन् । शुक्रबार संघीय संसद भवन बानेश्वरमा भेटेर पौडेलले रोकायलाई राजीनामा दिन दबाव दिएका हुन् । रोकायले महासचिव पौडेलले आफूलाई वामदेवका लागि ठाउँ खाली गर्न आग्रह गरेको स्वीकार गरे ।
रोकायले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भनेमा त्यसबारे सोच्न सक्ने जवाफ दिएका छन् । ‘मैले राष्ट्रिय आवश्यकता हो र, पार्टीले निर्णय गर्छ भने म छोड्न तयार छु भनेँ,’ आफूले दिएको जवाफबारे उनले भने, ‘व्यक्तिगत हिसाबले म छोड्न तयार छैन ।’ दबावका साथ प्रस्तुत भएका पौडेलले अन्तिममा ‘माइन्ड नगर्नु होला’ भनेर रोकायलाई बिदा गरेका थिए ।
डोल्पामा लामो प्रयास गर्दा पनि असफल भएपछि वामदेवले प्यूठान ताकेका थिए । डोल्पाका सांसद धनबहादुर बुढा वामदेवलाई ठाउँ छोड्न पनि तयार भएका थिए तर स्थानीय नेता, कार्यकर्ताको असहमति पछि बुढा आफैं पछि हटेका थिए । डोल्पाको प्रयास असफल भएपछि पुरानो निर्वाचन क्षेत्र प्यूठानमा उठ्ने उनले इच्छा जाहेर गरे ।
प्यूठानकी राष्ट्रिय जनमोर्चाका संसाद दुर्गा पौडेललाई राजीनामा गराउने उनको प्रयास पनि सफल भएन । यसपछि रुकुम पूर्व तत्कालीन माओवादी केन्द्रकी कमला रोकालाई राजीनामा गराउने चर्चा चल्यो । रोकाले समाजिक सञ्जालबाटै त्यसको प्रतिरोध गरिन् । ललितपुरमा नवराज सिलवाललाई घरमै बोलाएर वामदेवले आग्रह गरे तर त्यही पदका लागि एमाले बनेका सिलवालले छोड्ने कुरै भएन । सिलवालले नमानेपछि वामदेवको दृष्टि र्पयो नवलपरासीमा ।
तर त्यहाँ पनि असम्भव भएपछि अहिले उनको मन बाँकेमा छ । कम्प्युनिष्टको प्रभाव क्षेत्र रहेको बाँकेको क्षेत्र नम्बर ३ का तीन वटै स्थानीय तह समेत नेकपा अर्थात तत्कालीन एमालेले जितेको छ । सो क्षेत्रबाट निर्वाचित पुराना वामपन्थी नेता रोकाय राजनीतिमा वामदेवका समकालीन हुन् । रोकाय पञ्चायतकालमा समेत जनपक्षीय उम्मेदवारका रुपमा प्रधानपञ्च भएका थिए । बाँकेको क्षेत्र ३ सँगै जोडिएको बर्दियाको क्षेत्र नम्बर १ बाट वामदेव कांग्रेस नेता एवं त्यतिबेलाका सिंचाइ मन्त्री सञ्जय गौतमसँग पराजित भएका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार ०८:११