बाँके । कैलास मानसरोवर यात्राको प्रवेशद्वारका रुपमा लिइने बाँकेमा मानसरोवर स्मारक पार्क निर्माण गर्न पहल थालिएको छ । करिब ३ सय विगाहा क्षेत्रफलमा पार्क निर्माण गरिनेछ । गाभर उपत्यकामा पर्ने रानी बन क्षेत्रभित्र पार्क निर्माण गरिने रारा राधा रानी मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष जयलक्ष्मी शाहले बताइन् ।
उनले भने, ‘पार्क निर्माणका गाभर उपत्यका उपयुक्त छ । गाउँपालिका र सामुदायिक बन समुहले पनि निर्णय गरिसकेका छौं ।’ मुगाली र थारु संस्कृतिको साँस्कृतिक संगमका रुपमा चिनिने गाभर उपत्यकाको पर्यटन प्रवद्र्धनका साथै जैविक विविधताले भरिपूर्ण रहेकोले पार्क निर्माण आवश्यक रहेको उनले बताइन् ।
‘निकुञ्जसँग नजोडिएकाले बाघको बासस्थानमा असर नपर्ने गरी पार्क निर्माण हुनेछ,’ शाहले भनिन् । मानसरोवर पार्कमा मानसरोवर ताल, कैलाश पर्वत, मन्दिर, बगैचा लगायका पूर्वाधारहरु तयार गरिनेछ । ‘मानसरोवर जाने मुख्यद्वार बाँके जिल्ला नै भएकाले यहाँ पार्क बनाउन लागिएको हो,’ रारा राधा रानी मध्यवर्ती सामुदायिक वन समुहका सचिव लालपुरा रोकायले भनिन् ।
मानसरोवर पार्क निर्माण भएपछि मानसरोवर जान नसक्नेहरुले त्यहाँका बारेमा सहजै जानकारी लिन सक्नेगरी पूर्वाधारहरु तयार गरिने जनाइएको छ । सचिव रोकायले भनिन्, ‘मानसरोवर जान नसक्नेहरुले यही मानसरोवर पुगेको अनुभूति गर्नेछन् ।’ गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले भने, ‘यो प्रदेशभित्र पश्चिम क्षेत्रको प्रमूख पर्यटकीय गन्तव्य बन्नेछ । पार्क निर्माणका लागि हामी लागिपरेका छौं ।’
पार्क निर्माणपछि ५ नं. प्रदेशको पर्यटन क्षेत्रले अझै फड्को मार्ने चौधरीको भनाई छ । अध्यक्ष चौधरीले भने, ‘गाभर उपत्यकामा स्थानीय समुदायकै पहलमा सञ्चालन गरिएका होमस्टेमा ६० जनालाई एकैपटक गासबासको व्यवस्थापन गर्न सक्ने पूर्वाधारहरु तयार भइसकेको छन् । निकुञ्ज सफारीको उपयुक्त स्थान पनि गाभर भ्याली नै भएकाले यहाँ मानसरोवर पार्कको निर्माण महसुस गरिएको हो ।’ कैलाश मानसरोवर पुग्न सबैभन्दा नजिकको रुट नेपालगन्ज–सिमकोट–हिल्सा हो ।
यो रुट हुँदै मानसरोवर पुग्ने भारतीय तीर्थालुहरुको संख्या अधिक छ । पार्क निर्माणपछि भारतीय तीर्थालुहरुले मानसरोवरका बारेमा सहजै जानकारी लिन सक्नेछन् । पार्क निर्माणका लागि अध्ययन गर्न केही दिनभित्रै विज्ञ गठन गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पनि पार्क निर्माणका लागि प्रस्तावित गरिएको जग्गाको गतसाता निरिक्षणसमेत गरिसकेका छन् । मन्त्रीद्वयले तत्काल विज्ञ समुह बनाएर अध्ययन थालिने बताएका छन् ।
।