सूचनाको शक्ति - The Power Of Information

        

कालोपाटीमा कम्प्युटर पढाउने शिक्षक (भिडियो)


बीबीसी । घानाका एक शिक्षकले कम्प्युटर विना नै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइनमा चर्चित बनेको छ । कुमासीका ती शिक्षकले माइक्रोसफ्ट वर्ड प्रोग्रामको चित्र निकै मिहिनरूपमा ‘ब्ल्याकबोर्ड’मा बनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित एउटा स्टेटस लेखेर ती शिक्षकले लेखेका छन्, ‘घानामा सूचना तथा कम्प्युटर प्रविधि पढाउनु निकै रमाइलो छ ।’ उक्त तस्बिर सामाजिक सञ्जालमा आएपछि त्यसलाई हजारौं पटक शेयर गरिएको छ ।

प्रशंसा
माइक्रोसफ्ट कम्पनीले त्यसपछि उक्त विद्यालयमा कम्प्युटर सामाग्रीहरू पठाउने बाचा गरेको छ । ओउरा क्वाजो उपनाम रहेका उनले आफ्नो फेसबुक सन्देशमा लेखेका छन्, ‘म मेरा विद्यार्थीलाई माया गर्छु त्यसैले म जे पढाइरहेको छु त्यो उनीहरूले बुझुन् भन्ने चाहान्छु ।’ क्वार्ज अफ्रिका नामक समाचार संस्थाले रिचर्ड आपिया अकोटो भनेर उनलाई चिनाएको छ ।
उच्च शिक्षा पढ्नका लागि सूचना तथा सञ्चार प्रविधि विषयको परीक्षा पास गर्नुपर्ने बाध्यता भए पनि उक्त विद्यालयमा सन् २०११ देखि कम्प्युटर नभएको क्वार्जले जनाएको छ । फेब्रुअरीको मध्यतिर सामाजिक सञ्जालमा यो तस्वीर फैलिएपछि धेरैले यी शिक्षकको पेशाप्रतिको झुकावको प्रशंसा गरेका छन् ।

प्रतिबद्धता
अकोटोले क्वार्जलाई भनेका छन्, ‘ब्ल्याकबोर्डमा यसरी चित्र बनाएको यो पहिलोपटक होइन । कक्षामा हुँदा जहिले पनि मैले बनाएको छु । मलाई फेसबुकमा तस्बिरहरू राख्न मन लाग्छ त्यसैले यो पनि राखौं जस्तो लागेको थियो । मलाई थाहा थिएन यसले मानिसहरूको ध्यान यसरी तान्छ भनेर ।’
आइतवार उद्यमी रेबेका इनोनचोङले माइक्रोसफ्ट अफ्रिकालाई ट्वीट गर्दै ती शिक्षकले सामाग्रीको पहुँच बिना नै पढाइरहेको उल्लेख गर्दै लेखेकी थिइन् । ‘निश्चय पनि तपाईँहरूले ती शिक्षकलाई केही स्रोतहरू जुटाइ दिनसक्नु हुन्छ ।’ माइक्रोसफ्टले अकोटोलाई कम्प्युटर पठाइदिने र शैक्षिक सामग्रीहरूमा पहुँच दिने प्रतिबद्धता जनाएको छ ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार ०३:४२

सिफारिस