काठमाडौं । निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र बाबु यज्ञराज पन्तले आफ्नी छोरीलाई राजनीतिक र प्रशासनकी पहुँच भएका शक्तिशाली व्यक्तिहरूले बलत्कारपछि हत्या गरेको आरोप लगाएका छन् । उनीहरूले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरामाथि पनि आशंका जनाएका छन् ।
निर्मलाको शव भेटिएको अघिल्लो दिन एसपी विष्टका छोराले आफ्नो जन्मदिनको पार्टी मनाउन केही केटा र केटी साथीहरूलाई ओपेरा होटेलमा लगेको यज्ञराज पन्तले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताका क्रममा बताएका छन् ।
‘डिल्लीराज विष्टका छोराले जन्मदिन भन्दै तीनजना केटी र तीनजना केटालाई होटेल ओपेरामा लगेका थिए,’ यज्ञराज पन्तले भनेका छन्, ‘तर, ती तीनजना केटीहरूमा निर्मला थिइन् या थिइनन् केही थाहा हुन सकेको छैन । मैले होटेलमा गएर सोधेको थिएँ । कसैले पनि निर्मलालाई चिनेको भनेर भनेका छैनन् । सिसिटिभी हेर्न छानविन समितिलाई आग्रह गरेको थिएँ ।’
आमा दुर्गा पन्तले निर्मला पन्तको हत्याको प्रमाणहरू नष्ट गर्ने गरेर प्रहरीले काम गरेको आरोप लगाइन् । ‘निर्मलाको कपडा प्रहरीले किन धोए ? निर्मलाको गुप्ताङ्गलाई किन पखालियो ?,’ प्रश्न गर्दै दुर्गा पन्तले भनेकी छिन्, ‘पक्कै पनि ठूला मान्छेहरूको हात छ । निर्मलाको बलत्कार र हत्यामा ठूलै मान्छेहरू सहभागी छन् ।’
निर्मला पन्तका दोषीहरूलाई कारबाहीका लागि दवाव दिन काठमाडौंमा आएका दुर्गा पन्त र यज्ञराज पन्तले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा बाधा पुर्याएको आरोप लगाएका छन् ।
छोरी निर्मलाको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त मंगलबार काठमाडौं पुगेका छन् ।
‘एसपी डिल्लीराज विष्टले दिलीप विष्टलाई नै किटानी जाहेरी दिन दवाव दिनुभयो,’ यज्ञराज पन्तले भनेका छन्, ‘आखिर दिलीप विष्टविरुद्ध कुनै पनि प्रमाण भेटिएन । हामीलाई दिलीप विष्टमाथि कुनै आशंका छैन । बरु एसपी डिल्लीराज विष्टमाथि आशंका छ ।’
एसपी डिल्लीराज विष्टले नै अस्थायी प्रहरी चौकीका सईले निर्मला पन्तको घटनाबारे अनुसन्धान गर्न जान्छु भन्दा अर्को दिन सुरुवा गरिदिएको यज्ञराज पन्तले बताए । निर्मलाको हत्या प्रकरणमा अहिले पनि रोशनी बम र बबिता बममाथि आफन्तहरूको आशंका छ । तर, रोशनी बम र बबिता बमलाई प्रहरीले तारेखमा छाडिदिएको छ ।
हत्याको घटना अनुुसन्धानमा आलोचित बनेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी नायब उपरीक्षकलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन गृह मन्त्रालयले निर्देशन दियो । मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिलाई नयाँ शिराबाट अनुसन्धान गर्ने जिम्मा दिइएको थियो ।
।