सूचनाको शक्ति - The Power Of Information

        

अदालतको फैसला कार्यान्वयन गर्दै बाँके प्रहरी, फरार सात जना पक्राउ


बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतको फैसला कार्यान्वयन अभियान सुरु गरेको छ । अभियान अन्तरगत अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका सात जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सातै जनालाई जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।
२०७० सालदेखि अदालतले गरेको फैसला कार्यान्वयन गर्न अभियान चलाइएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । अभियानको नेतृत्व प्रहरी नायव निरीक्षकले गरेका छन् । अभियान अन्तरगत वन मुद्दामा दोषी करार भई अदालतबाट जरिवाना तोकिएका खेमलाल थारुलाई पक्राउ गरेको छ । जघन्य अपराधमा उनलाई अदालतले दोषी ठहराउँदै ९ हजार ४ सय रुपैयाँ जरिवाना गरेको थियो ।
अभियान अन्तरगत लेनदेन मुद्दामा १ वर्ष कैद तोकिएका नेपालगन्ज १९ का तिर्थराम कलवार, लागुऔषध मुद्दामा १३ दिन कैद सजाय पाएका नेपालगन्ज १ का सरोज थापा, चोरी मुद्दामा २ महिना ४ दिन कैद र २१ हजार जरिवाना तोकिएका कोहलपुर २ का राजेश वैगारलाई पक्राउ गरिएको हो ।
यस्तै जबरजस्ती करणी मुद्दामा अदालतबाट ३ वर्ष ६ महिना कैद सजाय सुनाइएका वैजनाथ १ का पदम सुनार र नाम नखुलाइएका अर्का १ जना र कर्तव्य ज्यान मुद्दामा फरार रहेका १ जनालाई समेत प्रहरीले पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार ०३:०२