
बाँके । पाँच वर्षअघिको गुमनाम ठाउँ, मानिसहरुको दैनिक सामान्य, पुरुषहरु बाहिरी काममा व्यस्त हुन्थे, कोही कालापहाड त कोही मजदुरीमा, महिलाहरु चुलोचौको र घरधन्दामा । सानो गाउँ, शैक्षिकस्तर पनि उस्तै सामान्य, थारु र मुगाली बस्ती । बस्तीमा साक्षर र शिक्षित व्यक्तिको संख्या औलामा गन्न सकिनेभन्दा धेरै थिएन ।
अलि शिक्षित व्यक्तिलाई सदरमुकामतिर रोजगारीका लागि भौतारिन ठिक्क, निरक्षरहरु गाउँमा साँझविहानको छाक टार्नका लागि कोही नजिकका शहर बजारमा मजदुरी गर्थे भने कोही भारतीय भूमि कालपहाडमा आफ्नो र परिवारको आहार खोजिरहेका हुन्थे । तर अहिले यहाँको कथा पुरै फेरिएको छ । करिब तीन वर्षको अवधीमा नयाँ पहिचान र आर्थिक समृृद्धिको केन्द्र बन्ने दिशातर्फ उन्मूख बाँकेको गाभर अब गाभरमा मात्रै सिमित रहेन ।
अहिले गाभर भ्याली सामुदायिक होमस्टेका नामले परिचित बनेको छ । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । विभिन्न संघसंस्थाले विभिन्न सहयोग गरिरहेका छन् । सरकारको आँखा परेको छ । लगानी गर्ने संघसंस्थाहरु एकपछि अर्को गर्दै बढिरहेका छन् । पर्यापर्यटनको उत्तिकै सम्भावना बोकेको गाभरमा अहिले जैविक पार्क, थारु संग्रहालय, सामुदायिक भवन लयागतका पूर्वाधारहरु बनिरहेका छन् ।
जलवायु परिवर्तनले पारेका प्रभावका विषयमा अध्ययन गर्न विभिन्न संघसंस्थाहरु गाभर पुग्ने गर्छन् । पर्यापर्यटनका हिसाबले समेत अत्यन्त महत्वपूर्ण गाभरमा अष्ट्रिज फर्म सञ्चालनमा रहेको छ । होमस्टेहरु थपिने क्रम बढिरहेको छ । गाभरमै च्याउ उत्पादन फर्म पनि सञ्चालनमा आएको छ । यसरी दिनहुँजसो आन्तरिक तथा बाह्य पर्यटनको आवागमन हुन थालेपछि गाभरवासीलाई रोजगारी समेत मिलेको छ ।
बाघ संरक्षण गर्ने उद्देश्यले स्थापीत बाँके राष्ट्रिय निकुञ्ज, गाभर उपत्यका दृष्यावलोकन, जैविक अर्गानिक कृषि प्रणाली, निर्माणाधिन जैविक पार्क, मिश्रित परम्परामा आधारित होमस्टे लगायतका आधारहरु बोकेको गाभर भ्याली आफैमा प्रकृतिको धनि रहेको हुँदा गाभरलाई पर्यटकीय क्षेत्रको रुपमा ब्यवस्था गर्न सकिने स्थानीय समुदायको आयआर्जनमा वृद्धि गर्न सकिने गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरीको भनाई छ ।
चुरे पहाडले घेरेको भावर क्षेत्रमा पर्ने गाभर भ्याली पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बनेको छ । यहाँ थारु नाच, डेउडा नाच, पञ्चेबाजा, ढाल तरबार नाचको मज्जा लिन पाइन्छ । सहजैरुपमा वन्यजन्तु अवलोकन गर्न सकिने, चरावलोकन, भिलेज वाक गर्न, मिश्रित परम्परामा आधारित खानपानको वयवस्था गरिएको छ । धुवाँधुलोको कोलाहाललाई छिचोल्दै शान्त र रमणीय वातावरणको खोजी गर्दै गाभर भ्यालीमा आउने पर्यटकहरुको संख्या वृद्धि भइरहेको छ ।
पर्यटकीय गतिविधि, अतिथि सत्कार र कुशल व्यवस्थापनका हिसाबले गाभर भ्याली होमस्टे नमुना बनेको छ । ‘यहाँको मनोरम दृष्य, थारु संस्कृति, थारु परिकार सारै राम्रो छ । नेपालगन्जका स्तरीय होटलभन्दा राम्रो परिकार सस्तोमा खान पाइन्छ । अनि प्राकृतिक दृष्य, मानसिकरुपमा बोझ बढेका बेला यहाँ पुग्दा आनन्द हुन्छ । निम्न वर्गका लागि गाभर भ्याली उपयुक्त गन्तव्य हो,’ कोहलपुर–१२ का विष्णुभक्त शाह भन्छन् ।
थारु र मुगाली संस्कृति र परिकारसँग गाभर पुग्ने जो कोही पनि लोभिन्छन् । दैनिक १५० बढी पर्यटकहरु गाभर भ्याली पुग्ने गरेका छन् । नेपालगन्जभन्दा चिसो मौसम र थारु परिकारमा रम्न पाएपछि आन्तरिक पर्यटकहरु त्यहाँ पुगेर रमाउने गर्दछन् । थारु र मुगेली समुदायको बस्ती रहेको गाभरमा दुईखाले संस्कृति छ । गाभर भ्यालीलाई थारु र मुगेली संस्कृतिको अध्ययन गर्ने थलो बनाउन सकिने बताउँछन्, जलवायु संरक्षण अभियान नेपाल थ्रिसिएनका अध्यक्ष हेमन्तराज काफ्ले ।
‘बन विज्ञान तथा संस्कृति सम्बन्धी अध्ययनरत विद्यार्थीहरुको अध्ययनका लागि निकै लाभदायक र उपयुक्त ठाउँका रुपमा विकास गर्नुपर्छ,’ अध्यक्ष काफ्लेले भने, ‘गाभर क्षेत्रलाई प्रकृतिकै बरदान रहेछ । समुदायले थोरै मात्र व्यवस्थापन गर्न सके पश्चिम नेपालकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।’ पर्यटकहरुको संख्या बढ्न थालेपछि होमस्टे सञ्चालकहरु समेत होमस्टेको स्तरवृद्धि गर्नका लागि तल्लिन छन् ।
पर्यटकीय पूर्वाधार निर्माणका लागि गाभर भ्यालीसँग जोडिएको करिब २० विघा जमिनमा लायन्स क्लव अफ इन्टरनेशनलले जैविक पार्क निर्माणका लागि सहकार्य गरिरहेको छ भने पर्यटन कार्यालयको सहयोगमा थारु संग्रहालय निर्माणसमेत गरिएको छ । होमस्टे सञ्चालनपछि गाभरका स्थानीयको जनजीवनमा समेत परिवर्तन आएको छ । विगतमा कामको खोजीमा दौडिनुपर्ने स्थानीयको दैनिकी आजभोली होमस्टे व्यवस्थापनमै वित्ने गरेको छ । होमस्टेले स्थानीयको रोजगारीसमेत बढाएको छ ।
‘पहिले मुगाली आए, पछि थारू । उपत्यकालाई हराभरा बनाए । यत्तिका वर्ष मिलीजुली बस्यौँ । मिलीजुली होमस्टे चलाएका छौँ ।’
गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चौधरीले भने, ‘हामीले पाहुनाहरुको स्वागतका साथै थारु परिकार, सामुदायिक बनमा चरा अवलोकन, जंगल सफारी लगायतका पर्यटकीय गतिविधीहरु गरिरहेका छौँ ।’ उहाँका अनुसार पाँच वर्षअघि एउटा घरबाट सुरु गरेको होमस्टेको संख्या हाल आठ वटा छन् । आगामी वर्षहरुमा थप गर्दै लैजाने होमस्टे व्यवस्थापन समितिको तयारी छ ।
सहरदेखि नजिकै शान्त चुरेमालासँग छोइएको चिटिक्क अनि सधैँ हराभरा देखिन्छ, गाभर उपत्यका । यहाँको सुन्दरता थपेका छन्, त्यहाँका मुगाली–थारू होमस्टेहरूले । गाभर भ्याली चुरे पहाडको फेदमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको साँध सिमानामा छ । यो जति जैविक विविधताले भरिपूर्ण छ, त्यसभन्दा धेरै थारू र मुगाली, हुम्ली र सल्यानी, रुकुमेली र दैलेखी संस्कृतिको विविधता छ । जहाँ एउटै भान्सा र आँगनमा हिमालदेखि तराईसम्मका भिन्न परिकारको स्वाद, विविध भेषभूषा र सांस्कृतिक रहनसहन भेटिन्छ ।
मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्दा ०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीमा पुनःस्थापना गरिएको थियो । ०४० सालपछि थारू समुदाय पनि आए । सुरुमा दुई समुदायको भाषा, संस्कृति र रहनसहन केही मिल्दैनथ्यो । रहँदा–बस्दा एकले अर्कालाई बुझे । सबैभन्दा धेरै दुख–कष्ट र समस्याले उनीहरूलाई नजिक्यायो । अहिले हिमाली र तराई समुदायको एउटै भान्सा भएको छ, होमस्टेका रूपमा ।
‘घरकै मान्छेबीच त कुरा मिल्दैन,’ हिमलाल चौधरी भन्छन्, ‘मुगाली र थारू एउटै घरका भइसके । दुख र सुखमा सँगै छौँ । विवाह होस् वा मर्दा–पर्दा एकअर्कालाई काम लागेकै छौँ ।’ होमस्टेमा हिमाली फापरको रोटी, कोदाको ढिडो, सिस्नोको फाँडो र सिमीको दाल लोकप्रिय छ । त्यस्तै, थारू परिकार सिद्रा, ढिक्री, घोँगी र लोकल कुखुराको माग अत्यधिक छ । पाहुनाको रुचि जे हुन्छ, त्यही अनुसार गाउँमा कहिले थारू नाच हुन्छ त कहिले देउडा ।
सार्वजनिक बिदाका दिन होमस्टेमा खुट्टा राख्ने ठाउँ हुन्न । पारिवारिक जमघटदेखि स–साना बैठक र सभा पनि होमस्टेमा हुन थालेका छन् । ‘पहिले अँधिया गरेर जिविका चलाउँथ्यौँ,’ हिमलाल भन्छन्, ‘अहिले घरका कोही खाली छैनौँ । राम्रै आम्दानी छ । काम खोज्दै गाउँबाहिर जानुपरेको छैन ।’ अरू होमस्टेभन्दा गाभर भ्यालीको छुट्टै मौलिकता छ । हिमाली भेगका मुगेली र तराईका थारू समुदायमा रहेको भिन्न स्वाद, भिन्न सांस्कृतिक विविधता र हस्तकलाको केन्द्र हो यो ।
‘पहिले मुगाली आए, पछि थारू । उपत्यकालाई हराभरा बनाए’, मुगाली होमस्टेका सञ्चालक अनिल थापा भन्छन्, ‘यत्तिका वर्ष मिलीजुली बस्यौँ । मिलीजुली होमस्टे चलाएका छौँ ।’ गाभर भ्याली भिलेजमा अहिले चिल्ड्रेन्स पार्क, पिकनिक स्पट र बाँके निकुञ्ज मध्यवर्ती क्षेत्रको पदमार्ग बन्दैछ । उक्त पदमार्ग हुँदै निकुञ्जभित्र जंगल सफारी सुरु भइसकेको छ । हात्ती सफारीका लागि बर्दिया निकुञ्जबाट चार वटा हात्ती काजमा बाँके निकुञ्ज ल्याइएको छ । गाभर भ्याली होमस्टे आउने पर्यटकले हात्तीबाट जंगल सफारी गर्न पाएका छन् ।
यो ठाउँ थारू–मुगाली परिकारको स्वाद र सांस्कृतिक मनोरञ्जनसँगै वन्यजन्तु अवलोकन गर्ने आकर्षणको कारण बन्दैछ । कम लगानीमा खुलेका होमस्टेमा पर्यटकको कमी छैन । थोरै आउँदा पनि चलिरहेका छन् । पर्यटकीय गतिविधिसँगै होमस्टे आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ । थारू घरमा थारू मौलिकता झल्किने होमस्टे छन् । मुगेली घरमा उच्च हिमाली मौलिकता झल्किन्छ ।
होमस्टेमा थारू नाच, डेउडा नाच, पञ्चेबाजा, पूजाआजामा देखाइने पैठ, छैठ, धालतलवार नाच, रुकुमेली कुरकुटी टप्पा, मयुर झर्रा नाच पनि हेर्न पाइन्छ । थारू हस्तकलाका सामग्रीहरू ढकिया, गुन्द्री, सुपा, डाली, भकारी, छिटुवा, छतरी, हेल्का, डेलिया, काठका मूर्तिहरू, माटाका भाँडाहरू चलनचल्तीमा छन् । मुगाली समुदायले डोको, नाम्लो, चकटी, मान्द्रो, ठेकी, मदानी, काठका मूर्तिहरू, काठको कोसी, भकारी, डोल्ची, बेतबासका कुर्सीहरू बनाउँछन् ।
बाँके निकुञ्ज कान्छो भए पनि वन्यजन्तुको कमी छैन । पाटेबाघ, चितुवा, चौसिंगा, जरायो, नीलगाई, चित्तल, बँदेल, स्याल, खरायो, न्याउरी मुसा, ब्वाँसो मध्यवर्ती क्षेत्र वरपरै देखिन थालेका छन् । आन्तरिक तथा बाह्य पाहुनालाई गाभर भ्याली हुँदै चुरे पहाड पदयात्राको माग भइरहेको छ । तराईको सखिया नाँचदेखि कर्णालीको देउडा एउटै बसाइमा नाच्न पाइन्छ । समुदायस्तरको यस्तो एकता र सद्भाव अन्यत्र बिरलै पाइएला ।
गाभर भ्यालीमा आन्तरिक पर्यटकहरु पुग्नुका साथै भारत, स्वीजरल्याण्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्याण्ड, बहराइन लगायतका विभिन्न मुलुकबाट पनि बाह्य पर्यटकहरु पुग्ने गरेको गाभर भ्याली होमस्टे व्यवस्थापन समितिले जनाएको छ । अधिकांश बाह्य पर्यटकहरु अध्ययन अनुसन्धानका लागि गाभर भ्याली पुग्ने गरेका छन् । सरकारले पनि यस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको पहिचान गरी दीर्घकालिन योजना बनाउन आवश्यक देखिन्छ ।
।