सूचनाको शक्ति - The Power Of Information

        

जहाज दुर्घटनामा बाँचेकी एक्ली पात्र प्रज्ञा भन्छिन्, ‘लाइफ इज ब्युटिफूल’

दुर्घटनामा बाँच्न सफल प्रज्ञा महर्जन । फोटो सौजन्य : सुनिता डंगोल

दुर्घटनामा बाँच्न सफल प्रज्ञा महर्जन । फोटो सौजन्य : सुनिता डंगोल


काठमाडौं । अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा आनी डोल्मा मात्र बाँचिन् । अस्तपालको सघन उपचार कक्षमा आनीको उपचार भइरहँदा उनीजस्तै दुर्घटनामा बाँच्न सफल गोमा एयरकी परिचारिका प्रज्ञा महर्जनबारे कुरा गरौं । ‘निर्मम दुर्घटनामा परेर पनि बाँचेपछिको जीवन कस्तो लाग्दो रहेछ ?, के यो साँच्चै नाफाको जिन्दगी हो त ?’
२०७४ जेठ १३ गते शनिबार लुक्ला विमास्थलमा भएको दुर्घटनामा बाँच्न सफल प्रज्ञालाई लाग्दो रहेछ, दुर्घटना कहिल्यै सम्झन नपरोस् । तर के गर्नु, दुर्घटनाको घाउ शरीरभरि अझै साक्षी बनेर बसेका छन् । जीउ राम्ररी तंग्रिएको छैन । हात–गोडा फतक्क गल्छन् । घटना सम्झदा कता कता मन निसासिन्छ । दुर्घटनामा उनका दुवै हात, दायाँ खुट्टा र मेरुदण्ड भाँचिएका थिए ।
उपचारसँगै थेरापी र ब्यायाम गर्दै दिन काटिरहेकी छिन् उनी । ‘निहुरिन हुँदैन, सामान्य बस्तु उचाल्न पनि गाह्रो हुन्छ,’ प्रज्ञाले भनिन्, ‘शारिरीक रुपमा विस्तारै ठिक हुँदैछु । तर नयाँ जीवन पाएर भने रमाइलो लागिरहेको छ । अबका दिनमा मेरो सपना पूरा गर्न लाग्छु ।’ दैनिक सय मिटरसम्म हिँडेर शरीरलाई पूर्ववत् बनाउन लागिपरेकी प्रज्ञाको सपना के छ त ? ‘म कम्तिमा पनि भेस्ना भूलोभिक बन्न चाहन्छु,’ उनी मुस्कुराइन् ।

के हो यो भेस्ना भूलोभिक भनेको ?
भेस्ना भूलोभिक एयर होस्टेसकै नाम रहेछ । जहाज दुर्घटनामा बाँचेकी सर्वियन एयर होस्टेज । सन् १९७२ मा सर्बियाबाट चेकोस्लोभाकियाका लागि उडेको विमान एकाएक दुर्घटनामा पर्यो । डोलास डिसी–९ नामको सो विमानमा रहेका सम्पूर्ण यात्रुसहित चालकको निधन भयो । तर संयोगबस् २१ वर्षिया परिचारिका भेस्ना भुलोभिक भने बाँच्न सफल भइन् ।
३३ हजार फिटमाथि आकाशबाट धर्तीमा झरेर पनि बाँच्न सफल बनेकी भेस्नाको नाम गिनिज बुकमा लेखियो । ‘भेस्ना फेरि आफ्नै काम गर्न दुनियाँमा आएकी रहेछिन्, उनको अठोटलाई मान्नु पर्छ’ नेपाली भेस्ना बन्न चाहने प्रज्ञाले भनिन्, ‘भेस्ना त फेरि एयर होस्टेस मात्र भइन्, मलाई त पाइलट नै हुन मन छ ।’
१५ महिना अघिको त्यो शनिबार । अर्थात् २०७४ जेठ १३ गते । प्रज्ञाका लागि त्यो पाँचौ उडान अर्थात् अन्तिम उडान थियो । मौसम पनि खराव थिएन । लुक्ला आफैंमा कठिन विमानस्थलमा दरिन्छ । त्यसैले मौसमको हेक्का नराखी त्यता कोही उड्दैन । तर गोमा एयरल्यान्सको नाइन एन ए के वाइ (याङकी) विमानस्थल नजिकै पुग्दा अप्रत्याशित रुपमा अनियन्त्रित हुन पुग्यो ।
प्रज्ञालाई सम्झना छ, जहाज अलिक हल्लिएको थियो । गडबडी सुरु भयो भन्ने नलागेको होइन । विमानस्थलमा अवतरण गर्न खास समय लाग्दैन भन्ने पनि थियो, त्यसैले अनिष्ठ हुँदैन भन्ने आशा थियो । तर जहाज एकाएक दुर्घटनामा पर्यो ।

दुर्घटनाग्रस्त गोमा एयरको जहाज । फोटो : सामाजिक सञ्जाल


‘मलाई ६ घण्टापछि मात्र चेत खुल्यो, बल्ल थाहा पाएँ कि, जहाज त साँच्चै दुर्घटनामा पो परेको रहेछ,’ प्रज्ञाले अमिलो मन पार्दै उही घटना सम्झिन्, ‘जहाज त धावनमार्ग भन्दा ५० मिटर परको भीरमा ठोक्किएको रहेछ ।’ कार्गो बोकेको सो जहाजमा क्याप्टेन पारस कुमार राई र कोपाइलट सृजन मानन्धर थिए । दुर्घटनामा दुबैको मृत्यु भयो ।
भीरमा बजारिएको जहाजमा प्रज्ञा गम्भिर घाइते भइन् । उनलाई उद्धार गरेर काठमाडौं ल्याइयो । चेक–जाँचपछ उनलाई शल्यक्रिया गर्नुपर्ने भयो । डा. विनोद बिजुक्छेले स्पाइन सर्जरी गरे । हात खुट्टाको शल्यक्रिया भने डा. चक्रराज पाण्डे गरे । ‘डाक्टरहरुले अबका केही महिनामै मलाई काममा फर्कन योग्य हुने बताएका छन्,’ उनले सुनाइन्, ‘मेरो मनमा अठोट छ, म फेरि काममा फर्किन्छु । सके पाइलट बन्छु नत्र एयर होस्टेस त छँदैछ ।’
२०५२ सालमा जन्मिएकी ललितपुरकी प्रज्ञा कालिमाटीको बर्नहार्ट कलेजबाट प्लस टूपछि उड्ययनसम्बन्धि तालिम प्राप्त हुन् । तालिम सकेपछि विमान परिचारिकाको पहिलो अनुभव पनि उनका लागि लुक्ला नै थियो । ‘लुक्ला खरतनाक विमास्थल भन्थे तर मलाई त्यस्तो लाग्दैनथ्यो, दुर्घटना भन्ने कुरा मेरो दिमागमा कहिल्यै आएन,’ उनले भनिन् ‘तर दुर्भाग्य भयो । जिन्दगीमा यस्तो दुर्घटना पनि भोगियो ।’
प्रज्ञामा पहिले भन्दा अहिले अझै आत्मविश्वास बलियो बन्दै आएको अनुभूति सुनाइन् उनकी आमा गुलाब महर्जनले । भनिन्, ‘हामीलाई पनि त्यो घटना सम्झन नपरोस् जस्तो लाग्छ । तर अहिले छोरीलाई निको हुँदै आएको छ । उसले आफ्नो मन दह्रो बनाएको देख्दा खुशी लागेको छ ।’ प्रज्ञालाई भेट्दा उनका सहकर्मीहरु सबैले दुर्घटनापछिको बाँकी जीवनलाई अझै सुन्दर र कर्मशील बनाउन सुझाव दिने रहेछन् । यस्ता सुझाव र सद्भावले उनमा अझै ऊर्जा र रस भरिने रहेछ । त्यसैले त उनी भन्छिन्, ‘लाइफ इज ब्युटिफूल ।’

#नेपाललाइभबाट

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार १४:१५