बाँके । बाँकेमा बिभिन्न वाणिज्य बैंकहरूले होटल व्यवसायमा २ अर्बभन्दा बढी कर्जा लगानी गरेका छन् । ठूलाठूला तारे होटलहरू खुल्ने क्रम बढेपछि बाँकेमा वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको नेपाल राष्ट्र बैंकको नेपालगन्ज शाखाले दिएको जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो अध्ययनअनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूले बाँकेका होटलहरूमा १ अर्ब ७० करोडको लगानी गरेका छन् । त्यस्तै ‘ख’ वर्गका बैंकहरूले होटलमा ३० करोड बढी कर्जा लगानी गरेको पाइएको छ । स्वदेशी र विदेशी धार्मिक तथा अन्य पर्यटकको आगमन बढ्दै जाँदा नेपालगन्ज र कोहलपुरका होटलहरू फस्टाउँदै गएपछि वाणिज्य बैंकहरूले होटल ब्यवसायमा लगानी बढेको हो ।
अध्ययनमा प्रत्येक वर्ष होटल व्यवसायमा बैंकको लगानीसमेत बढिरहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा होटलहरूमा करिब २२ प्रतिशतले ‘क’ वर्गका बैंकहरूले लगानी बढाएका छन् भने ‘ख’ वर्गका बैंकहरूको लगानी १८ प्रतिशतले बढेको पाइएको होे । राष्ट्र बैंकको अध्ययनअनुसार बाँकेमा पर्यटकीयस्तरका ठूला सुविधा सम्पन्न होटलको संख्या ३६ रहेको छ ।
बैंकद्वारा अध्ययन गरिएका जिल्लाका होटलहरूमा १ हजार ६६८ बेड रहेका छन् । जसअनुसार नेपालगन्ज र कोहलपुरमा रहेका एक तारे होटलहरूमा २१३, तीनतारे होटलहरूमा ३५९, चार तारे होटलहरूमा १७६ र अन्य सामान्य पर्यटकीय स्तरका होटलहरूमा १ हजार ३३० बेडहरू छन् ।
जिल्लामा रहेका ३६ वटा स्तरीय पर्यटकीय होटलहरूमध्ये २८ होटलहरूमा पुराना व्यवसायी संलग्न छन् भने ८ वटा होटलहरूमा संलग्न व्यवसायीहरू नयाँ रहेको पाइएको पनि राष्ट्र बैंकले जनाएको छ । मानसरोवर यात्रालाई लक्षित गरेर अहिले नेपालगन्ज र कोहलपुरमा सानाठुला गरी करिब ५०० होटल सञ्चालनमा रहेको र २५ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको होटल ब्यवसायी संघ बाँकेले जनाएको छ ।
बैंकको अध्ययनमा भनिएको छ, ‘मध्य तथा सुदूरपश्चिमको ट्रान्जिटका रुपमा रहेको नेपालगन्जमा सरकारी उच्च अधिकारी, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैसस लगायतका विशिष्ट पाहुनाहरू आइरहने र यहाँका विभिन्न पर्यटकीय र धार्मिक स्थल तथा प्रसिद्ध कैलाश मानसरोवरसम्म तीर्थयात्राका लागि बाँके जिल्ला हुँदै अधिकांश पर्यटक र तीर्थयात्रीहरू आफ्नो गन्तव्यमा पुग्ने भएकोले यहाँका होटल तथा रेस्टुराँ फस्टाउँदै गएका छन् ।’
।