
बाँके । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले अबदेखि उच्च प्रविधिबाट विभिन्न बालीहरूको अनुसन्धान गर्ने भएको छ । नार्कले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरामा ‘रेन आउट सेल्टर’ निर्माण गरी उच्च प्रविधिबाट अनुसन्धान गर्न लागेको हो ।
पानीका कारण सुक्खा जमिनमा गर्नुपर्ने अधिकांश अनुसन्धानहरू प्रभावित हुँदै गएपछि नार्कले यो समस्या समाधानका लागि उच्च प्रविधिबाट अनुसन्धान गर्ने योजना अघि सारेको क्षेत्रीय निर्देशक एवं बरिष्ठ बैज्ञानिक गोविन्द केसीले जानकारी दिए ।
अनुसन्धानका क्रममा एक्कासी आउने पानीले वीउवीजन नष्ट गरिदिने, विभिन्न रोगहरू लाग्नेजस्ता समस्या देखिँदा नार्कको अनुसन्धान नै प्रभावित हुँदै आएको थियो । उनले भने, ‘खुला आकाशमूनिको जमिनमा अनुसन्धान गर्दा सोचेजस्तो नतिजा पाउन नसकेको हो ।’
यसैका लागि नार्कले अबदेखि सही र तथ्यपूर्ण नतिजा निकाल्ने गरी उच्च प्रविधिको प्रयोग गर्न लागेको उनको भनाई छ । उच्च प्रविधिको प्रयोगसँगै अनुसन्धानमा सहजता आउने र किरा पानी तथा विभिन्न रोगहरूको संक्रमण झेल्न नपर्ने भएको छ ।
‘सुख्खा जमिनमा बालीको अनुसन्धान गर्दा सोचेजस्तो नतिजा आएन क्षेत्रीय निर्देशक केसीले भने ‘पानीसँगै विभिन्न रोगको संक्रमणले अनुसन्धान प्रभावित भइरहेको थियो, अब त्यो समस्या हटेको छ ।’ नार्कले विभिन्न तरकारी बाली तथा उन्नत जातका वीउवीजनको अनुसन्धानका क्रममा पानीका कारण सास्ती व्यहोनुपरेको छ ।
‘उन्नत वीउवीजनको अनुसन्धान गर्दै आएको नार्कलाई बेमौसमी पानी नै अनुसन्धानको समस्या हो,’ क्षेत्रीय निर्देशक केसीले भने । परिक्षण गरिरहेको वीउवीजनमा कति समयमा पानी हाल्नुपर्ने, कुन समयमा गोडमेल गर्ने भन्ने मापदण्ड रहे पनि खुला जमिनमा मापदण्ड अनुसार काम गर्न नसकिएको बताए ।
उनले भने, ‘यसले गर्दा अनुसन्धान नै प्रभावित हुने र वास्तविक नतिजा आउन सकेको छैन ।’ खुला जमिनकै कारण कार्यतालिका अनुसार अनुसन्धान गर्दै आएका काम प्रभावित हुन थालेपछि उच्च प्रविधिको प्रयोग सुरु गरेको नार्कले जनाएको छ । रेन आउट सेल्टर निर्माणपछि मापदण्ड अनुसार अनुसन्धान गर्न सकिने नार्कको दावी छ ।
।