सूचनाको शक्ति - The Power Of Information

        

अटोरिक्साले ट्राफिक जाम भोग्दै नेपालगन्ज


बाँके । नेपालगन्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडकहरु अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदै छन् भने कतै जीर्ण अवस्थामै छन् । २० बर्षअघि बनेका सडकहरु अहिले साँधुरा गल्लीमा परिणत भएका छन् । बढ्दो जनसंख्यासँगै ठुलाठुला घरहरु बन्ने क्रम तीव्र छ ।
जनसंख्याको वृद्धिदरसँगै सवारी साधनको चाप पनि सोही अनुपातमा बढिरहेको छ । ठुलाठुला भवनसँगै भौतिक पूर्वाधारका अन्य संरचनाहरु एकपछि अर्को गर्दै बनिरहेका छन् । तर सडकहरु भने २० औं वर्ष पुराना र जीर्ण छन्, त्यसमाथि सवारी साधनको संख्यामा उस्तै वृद्धि भइरहेको छ ।
नेपालगन्जमा अन्य सवारीको संख्याभन्दा व्याट्रीबाट चल्ने अटोरिक्साको संख्या ह्वात्तै बढेको छ । २० औं बर्षअघि निर्माण गरिएका सडक गल्लीमा परिणत भएसँगै नेपालगन्जले बेलाबेलामा काठमाडौंको जस्तै ट्राफिक जाम भोग्न थालेको छ । अटोरिक्साको संख्या बढेसँगै नेपालगन्जमा ट्राफिक जामको समस्या सुरु भएको नेपालगन्ज–२, घरबारी टोलका व्यवसायी मनोज बन्जारा बताउँछन् ।
उनी भन्छन्, ‘करिब २५ बर्षअघि हामीले व्यवसाय सुरु गर्दा फाट्टफुट्टरुपमा देखिन सवारी साधनको संख्या अहिले ह्वात्तै बढेको छ । बेलाबेलामा ट्राफिक जाम नै हुन थालेको छ ।’ साधारण रिक्सा विस्थापित गर्दै ब्याट्री तथा पेट्रोलबाट चल्ने अटोरिक्सा सञ्चालनमा आएपछि भित्री सडकहरुमा बेलाबेलामा ट्राफिक जाम हुने गरेको नगरवासीहरुको भनाई छ ।
नेपालगन्जका निकै व्यस्त रहने घरबारी टोल, सदरलाइन, त्रिवेणी मोड, एकलैनी लगायतका क्षेत्रमा ट्राफिक जामको समस्या देखिइरहेको छ । ‘दैनिक एकपटक त अवश्य जाम हुन्छ,’ सदरलाइनका स्थानीयबासी जमिल शेख भन्छन्, ‘पहिले कमै सवारी चल्थे, भीडभाड हुँदैन्थ्यो । अहिले भने सवारीको भीड र होहल्लाले हैरान बनाउँछ ।’
साधारण रिक्साभन्दा छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुहरु अटोरिक्सामै चढ्छन् । जसका कारण नेपालगन्जमा देखिने साधारण रिक्साहरु करिब हराइनै सकेका छन् । यात्रुहरुको रोजाइँमा अटोरिक्सा नै परेपछि नेपालगन्जमा अटोरिक्साको संख्या एक्कासी बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक हिरेन्द्र रोकायले बताए ।
उनले भने, ‘हामीसँग जनशक्ति कम भएकाले सबै स्थानमा खटाउन पनि गाह्रो भइरहेको छ । हामीले मुख्य मुख्य स्थानमा ट्राफिक प्रहरी परिचालन गरिरहेकै छौं । सबै स्थानमा ट्राफिक प्रहरी खटाउन जनशक्ति नै कम भएपछि अटोरिक्साका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ ।’ यसअघि अटोरिक्सालाई फोरलेन सडकमा चलाउन प्रतिबन्धसमेत गरिएको थियो । तर उक्त निर्णय कार्यान्वयनमा भने आउन सकेन । अटोरिक्साहरुले लेन अनुशासन पालन नगर्दा ट्राफिक प्रहरीको टाउको दुखाईको विषय बनेको छ । सडकमा जथाभावी पार्किङ्ग गरिदिँदा ट्राफिक व्यवस्थापनका लागि चोकमा खटिएका दुई/तीन जना ट्राफिक प्रहरीको काम उनीहरुलाई व्यवस्थीत गर्नमै बित्ने गरेको छ,’ नेपालगन्जको धम्बोझी चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुलबहादुर वलीको भनाई छ ।
अटोरिक्साहरुको जथाभावी पार्किङ्गकै कारण नेपालगन्ज–कोहलपुर खडक खण्डको राँझा चोक र गनापुर चोकमा पटक पटक सवारी दुर्घटनासमेत भएको ट्राफिक प्रहरी पोष्ट गनापुरका इन्चार्ज दिनेशकुमार पण्डितको भनाई छ । यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जले रुट परमिट जारी गरेको भए पनि अटोरिक्साहरु भने आफूखुशी चल्दै आएका छन् ।

८० प्रतिशतसँग छैन लाइसेन्स
यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जमा दर्ता भई बाँकेमा चल्ने ८० प्रतिशत अटोरिक्सा चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको ट्राफिक प्रहरीले जनाएको छ । बाँके जिल्लाभर ४ हजारको हाराहारीमा रहेका अटोरिक्सामध्ये करिब ८ सय अटोरिक्सा चालकसँग मात्रै लाइसेन्स रहेको अनुमान छ ।
ट्राफिक प्रहरी निरिक्षक रोकायले भने, ‘रिक्सा चलाउनेहरु अधिकांश निरक्षर भएकै कारण लाइसेन्सको लिखित परिक्षामै फेल हुन्छन् । सामान्य लेखपढ गर्न पनि नजान्नेहरुका लागि लिखित परिक्षा लिनु उपयुक्त होइन ।’ यातायात कार्यालयसँग लिखित परिक्षा नलिनेबारे छलफल भइरहेको र लिखित परिक्षा हटाइयो भने शतप्रतिशतले लाइसेन्स प्राप्त गर्ने उनको दावी छ ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतवार १०:३२