सूचनाको शक्ति - The Power Of Information

        

बैतडीका ५० वडा सचिवविहिन, दैनिक कामकाज प्रभावित

बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ ।
बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ । दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिए ।
वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवा प्रभावित भएका छन् उनले भने, ‘वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन् ।’ पञ्चेश्वर गाउँपालिका ६ वडामध्ये चारवटा सचिव नभएका गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
यस्तै मेलौली नगरपालिकाका नौवटा वडामध्ये छ वडामा सचिव नभएका नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । ‘वडामा सचिव नहुँदा नागरिकले चाहेअनुसारको सेवा पाएका छैनन्,’ उनले भनिन्, ‘सचिव नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवा जनताले सहज तरीकाले पाउन मुस्किल भएको छ ।’
यसैगरी पुर्चाैंडी नगरपालिकाका–१० वडामध्ये ९ वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन् ।’ यसैगरी पाटन नगरपालिकामा पनि १० वडामध्ये पाँच वडामा सचिव नभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताए ।
दोगडाकेदार गाउँपालिका–८ वडामध्ये तीन वडामा सचिव नभएका गाउँपालिकाका नायब सुब्बा शेरसिंह विष्टले जानकारी दिए । यस्तै डिलाशैनी गाउँपालिकामा सात वडामध्ये चार मा सचिव नभएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले जानकारी दिए ।
कर्मचारी अभावमा यहाँका स्थानीय तहमा कामकाजमा समस्या भएको र सरकारसँग कर्मचारी पठाउन पटकपटक आग्रह गरेको भए पनि हालसम्म पनि पदपूर्ति हुन नसकेको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताए । जनप्रनिधि आइसकेपछि सहजैरुपमा घरदैलोमै सहजरुपमा सेवा पाउने आश गरेका नागरिक निरास हँुदै गएका छन् । रासस

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतवार ०७:४४