सूचनाको शक्ति - The Power Of Information

        

मर्मत सम्भार नहुँदा बाँकेका दर्जनौं पक्की पुल जीर्ण


बाँके । बाँके जिल्लाका विभिन्न सडकहरूमा निर्माण भएका दर्जनबढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । यी पुलको मर्मत सम्भार हुन नसक्दा जोखिमसमेत उत्तिकै देखिएको छ । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका पुलहरु अत्यन्तै जोखिममा रहेको जनाइएको छ ।
सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण जिल्लामा रहेका दर्जनौं यस्ता पुलहरू जीर्ण बनिरहेका हुन् । जमुनाह, कोहलपुर हुँदै चिसापनी खडकखण्डमा मात्रै करिब आधा दर्जन पुलहरू जीर्ण बनिरहेका छन् । यस्तै कोहलपुरदेखि पूर्व शिवखोला र पश्चिम मानखोलासम्मका थुप्रै पुलहरूको अवस्था पनि दयनिय छ ।
चप्परगौडी, रोहिणीखोला, मानखोला, रझेना, बानियाँभार, चिसापानी, गाभर लगायतका क्षेत्रमा रहेका साना पुलहरू बषौंदेखि जीर्ण बनिरहेका छन् । जीर्ण पुलमा दैनिक सयौंको संख्यामा सवारी साधन गुडिरहेका छन् । पुलको क्षमताभन्दा बढी लोडका सवारीले दैनिक यी पुल प्रयोग गर्ने हुँदा पुलमा क्षति हुनसक्ने जोखिम उत्तिकै देखिएको छ । कोहलपुर जमुनाह सडक खण्डमा रहेका साना पुल (कल्भर्ड) पनि उत्तिकै जीर्ण छन् ।
सडक फराकिलो र मर्मत भए पनि सडकमा रहेका पुल साँघुरा र थोत्रा भइरहेका छन् । यीनको मर्मतका लागि सडक डिभिन देखि सडक निर्माण कम्पनी समेत मौन रहदै आएको स्थानीयको गुनासो छ । नेपालगन्जमै पनि बागेश्वरी मन्दिर, सेतु विकचौक, देवाफुलवारीबाट लक्ष्मी हल जाने सडकमा रहेको कलर्भड, सुर्खेतरोडमा रहेको जेवी स्कुल नजिकको पुल, टाँगा स्टेशन लगायतका स्थानमा रहेका साना पुलहरूको अवस्था जीर्ण बन्दै गएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले यस्ता धेरै पुलको आयु खस्किसकेकोले तत्काल मर्मत गर्न जरूरी भएको बताए । तर, यस्ता पुलको मर्मत कसले गर्ने भन्नेबारे अन्यौलता छाएको छ । ती पुलको मर्मत सुधार गर्नुपर्ने बेला भएको प्राविधिकहरु बताउँछन् । सडक डिभिजन कार्यालयले समयमै पुलको मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको कारकाँदोका स्थानीय गोपाल केसी बताउँछन् ।
बेला बेलामा सामान्य रुपमा टालटुल पारेर मात्र मर्मत गरिएकाले पुल जीर्ण हुँदै गएको स्थानीयवासीको आरोप छ । बढी भारका कारण राजमार्गका अधिकांश पुल कमजोर भएको प्राविधिक बताउँछन् । पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भार बोक्न हँदैन एक प्राविधिकले भने तर, यहाँ ४० टनसम्म भार बोकिने र त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने जोखिम देखिँदै आएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार ०५:०८