बाँके । चौध बर्षदेखि निर्माण अलपत्र रहेको महेन्द्र बहुमुखी क्याम्पसका दुईवटा भवनको निर्माण कार्य आगामी महिनादेखि सुरू हुने संकेत देखिएको छ । जीर्ण बन्दै गएका स्नातकोत्तर र छात्रावास भवनको असोजदेखि निर्माण प्रक्रिया सुरू गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख गणेश रेग्मीले जानकारी दिए ।
उक्त भवन क्याम्पसको सक्रियता र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको क्याम्पस प्रमुख रेग्मीले बताए । ‘उपमहानगरपालिकाले भवन निर्माणका लागि ५० लाख रकम विनियोजन गरेको छ । प्राविधिक स्टीमेट पनि तयार भइसकेको छ,’ उनले भने, ‘अबको १५/२० दिनमा निर्माणको प्रक्रिया अघि बढ्छ ।’ असोजबाट काम नै सुरू गर्ने योजना रहेको उनको भनाई छ । उक्त भवन निर्माणमा १४ बर्षअघि भारतीय दुतावासले आर्थिक सहयोग गर्ने सहमति गरेको थियो । उनले भने, ‘तर, सम्झौतामा तोकिएअनुसारको सहयोग प्राप्त हुन सकेन् निर्माण अलपत्रै भयो ।’ उनका अनुसार दुतावासले रु.२ करोड ९८ लाख ९६ हजार ८३४ सहयोग गर्ने गरी सम्झौता गरे पनि अहिलेसम्म रु.४३ लाख मात्रै तत्कालिन उपमहानगरपालिकाको खातामा आएको छ ।
दुतावासबाट आएको रु.४३ लाखमध्ये अहिले पनि करिब ३० लाख बचत रहेको र उपमहानगरले रु.५० लाख विनियोजित गरेकोले आगामी महिनादेखि निर्माणको काम सुरू गर्ने योजना बनेको उनले बताए । भवन समेत जिर्ण भइसकेको र निर्माण थालिएका भवन अधुरा रहेकाले पठनपाठनमा समस्या भएको प्रमुख रेग्मीको भनाई छ । सुरूमा गोर्खा बडिमालिका जेबीले २००८ मा काम सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । २० महिनामा काम सक्ने सम्झौता गरेको बडिमालिकाले तोकिएको मितिमा आधा काम पनि गर्न नसकेको उनले बताए । उनका अनुसार उक्त निर्माण कम्पनी अहिले पनि कालोसूचीमा रहेको छ । यसपछि उक्त भवन निर्माणका लागि जिम्मेवारी लिएको नरसिंह/कालापानी जेवीले समेत सम्झौता अुनसार काम नगरेका कारण अहिलेसम्म भवनको निर्माण कार्य अधुरै रहेको छ ।
।