सूचनाको शक्ति - The Power Of Information

        

तीन वटै ट्विनटर ग्राउण्डेड, दशैंको मुखमा १८ जिल्लामा उडान प्रभावित


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेका तीन वटा ट्विनटर विमान मर्मतकालागि अझै केही समय लाग्ने भएपछि दशैँमा दुर्गम क्षेत्रमा निगमले सेवा दिन सक्छ, सक्दैन भन्ने अन्योल भएको छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार छोटो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने ट्विनटर विमानहरु मर्मतका लागि कम्तिमा ३ हप्तादेखि ५ महिनासम्म लाग्नेछ । कंसाकारको भनाईमा, नेपाली इन्जिनियरबाट पार नलागेपछि यी विमान मर्मतका लागि विदेशी विज्ञ ल्याइएको छ ।
निगमसँग तीनवटा मात्रै ट्विनटर विमान थिए, जसमा प्राविधिक समस्या देखिएपछि झण्डै एक महिनायता सबै ग्राउण्डेड भएका छन् । तीमध्ये, कलसाइन ९एन–एबियु र ९एन–एबिटी भएका दुई विमान एक महिना अघिदेखि ग्राउन्डेड भएका हुन् । कलसाइन ९एन–एबिएक्स कलसाइनको विमान चार वर्षदेखि ग्राउन्डेड छ ।
ग्राउन्डेड भएका तीनमध्ये एउटा मर्मतका लागि तीन हप्ता र अर्को महिनादिन लाग्ने कंसाकारले बताए । चार बर्षदेखि ग्राउण्डेड ९एन–एबिएक्स विमानको दुईवटा इन्जिन र ल्यान्डिङ गियर फेर्नुपर्ने भएकाले बिक्री गर्ने वा मर्मत गर्ने भन्ने निर्णयमा पुग्न नै निगमलाई लामो समय लाग्यो । ‘बर्षौंदेखि ग्राउन्डेड सो विमान मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका छौँ’, कंसाकारले भने, ‘विदेशी विज्ञले अहिले सबै विमानको मर्मत गरिरहेका छन् ।’
नेपाल वायुसेवा निगमले निजी वायुसेवा कम्पनीले उडान नगर्ने दुर्गम क्षेत्रका गन्तव्यमा समेत उडान गर्दै आएको थियो । निगमले यी ट्वीनटर विमानमार्फत् काठमाडौँ, नेपालगन्ज र विराटनगर विमानस्थललाई केन्द्र बनाएर हिमाली र पहाडी जिल्लामा उडान गर्दै आएका थिए । फाप्लु र लुक्ला (सोलु) भोजपुर, मुसिकोट (रुकुम), चौरजहारी, जुम्ला, ताप्लेजुङ, डोल्पा, जोमसोम (मुस्ताङ), बागलुङ लगायत १८ गन्तव्यमा ट्विनटरले उडान गर्दै आएका थिए ।
सबै विमान ग्राउण्डेड हुँदा अहिले यी क्षेत्रका यात्रुले सास्ती भोगिरहेका छन् । हिमाली र पहाडी क्षेत्रमा मात्र नभएर नेपाल वायु सेवाका ट्विनटर विमान बेलाबेलामा तराईका विमानस्थलहरुमा समेत उडान गर्थे । यी विमानहरुबाट निगमले हप्तामा ७६ उडान गर्दै आएको थियो । तर, सबै जहाज ग्राउन्डेड हुँदा यात्रुहरु मर्कामा परेका छन् । विमान मर्मत भएपछि नियमित सञ्चालनमा ल्याउनले निगमका महाप्रबन्धक कंसाकारले बताए ।
दशैँ नजिकिसँगै विहानैदेखि सञ्चालनमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै केही साता ट्वीनटर विमानबाट यात्रुले सेवा पाउने छैनन् । निगमले ट्विनटर ग्राउण्डेड भए पनि चार वटा वाइ–१२ र दुई वटा एमए–१६ विमानबाट चाहिँ आन्तरिक उडान सञ्चालन गरिरहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग बोइङ ९एसिबी–५७५ तथा दुई दुईवटा एयरबस ३२० र ३३० विमान छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार ०२:१८