सूचनाको शक्ति - The Power Of Information

        

भोक मेटाउन चौलिका चोकमा मानिसको भीड !


बाँके । नेपालगन्ज उपमहानगरपालिका–१३ चौलिका चोकमा मानिसहरू जुट्नुको उद्देश्य फरक छ । जहाँ मानिसहरू भेटघाटका लागि मात्रै जुट्दैनन् । जुट्नुको मुख्य उद्देश्य हुन्छ हलुवा पराठा (परौठा रोटी) खाई भोक मेटाउने । भोक मेटाउनकै लागि जम्मा भएका मानिसहरुको भीडमा हराउँछ चौलिका चोक ।
खाजाका लागि रिक्सा चालक, टाँगा चालक मात्र होइन मोटरसाइकल र कार चढ्ने पनि आउँछन् । विभिन्न जिल्लाबाट नेपालगन्ज पुग्नेहरू समेत उनको खाजा पसलमा पराठा र हलुवाको स्वाद लिन पुग्ने गर्दछन् । चोकको पश्चिमतर्फ रहेको खरको छानोमुनि पाकिरहेको हुन्छ सुपो जत्तिकै ठूलो देखिने पराठा ।
जुन पराठा रोटी खानुको स्वाद त छँदैछ, बनाएको हेर्न झनै मज्जा आउँछ । सुपोभन्दा ठूलो तावामा पकाउनु अघि पराठा पकाउने कारिगढले पिठोलाई केही पराठाको आकारमा बनाएपछि त्यो आकारबाट बढाएर सुपो जत्तिकै ठूलो आकारमा पुर्याउँछन् । जुन पराठाको आकारले आधा शरीर छोपिन्छ ।
छेउतिरबाट हेर्दा पकाउनु अघिको काचो पराठा पछ्यौरा ओढेजस्तै देखिन्छ । यसरी पराठा र हलुवाको खाजा घर चलाएको ३२ बर्ष पुगिसकेको पराठा पकाउँदै गरेका मोहर अली बताउँछन् । एउटै पराठाबाट कम्तीमा १० जनासम्मलाई पुग्ने उनको भनाइ छ ।
पिठोमा नून र घिउ राखी बनाइएको उक्त पराठा चक्कुले काटेर हलुवा बीचमा राखि खाने गरिन्छ । दिनमा ३० देखि ४० वटासम्मको पराठा बिक्री हुने जलील अहमद शेष बताउँछन् । हलुवा र पराठा खाँदै गर्दा भेटिएका नेपालगन्ज नगरपालिका वडा नं. २१ मा बसोवास गर्ने नीजाम बेहेनाले भोक लाग्दा २५ रुपैयाँको खाजा खान यहाँ आउने गरेको बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०८:५७