सूचनाको शक्ति - The Power Of Information

        

हुलाक बैंक खारेजीले बचतकर्तामा निराशा


बाँके । जिल्ला हुलाक कार्यालय बाँकेमा सञ्चार सेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राहीको भीड बढी देखिन्छ । हुलाकका कर्मचारीहरु पनि सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर भरिदिने र खाता खोलिदिने काममा जुटिरहेका हुन्छन् ।
अन्य व्यवसायिक बैंकभन्दा भरपर्दाे, खाता खोल्न र रकम झिक्न सजिलो, कम आय भएका र सामान्य लेखपढ गर्न जान्नेलाई सजिलै हुने भएकाले शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका नागरिकहरु हुलाक बैंकप्रति बढी आकर्षित छन् । तर सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेटमा हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेसँगै बचतकर्ताहरुमा भने निराशा छाएको छ ।
सरकारले हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सार्ने योजना ल्याएसँगै बचतकर्ताहरु निराश बनेका छन् । हुलाक बचत बैंकमा भन्दा अन्य वाणिज्य बैंकमा खाता हस्तान्तरण हुँदा बचतकर्ताले १५ प्रतिशत आयकर तिर्नुपर्नेछ । आयकर तिर्नु नपर्ने, सहजैरुपमा नयाँ खाता खोल्न र रकम जम्मा गर्न सकिने भएपछि बचतकर्ताहरुको हुलाक बचत बैंकप्रति अकर्षण बढ्दो थियो ।
रकम बचत गर्दै गरेका डुडुवा गाउँपालिका–२ बेतहनीका रामदिन बर्माले भने, ‘एक सय रुपैयाँमै खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने भएकाले यहाँ पैसा जम्मा गर्छु । सरकारले यो व्यवस्था खारेज गर्ने भनेको छ, अब कुन बैंकमा खाता सार्ने हो । खाता सारेपछि हामीहरुलाई हैरान हुन्छ । यहाँजस्तो सुविधा अरु बैंकमा पाइँदैन ।’
कारोबार गर्न सहज भएकै कारण निम्न आयस्तर भएका बाँकेबासीको हुलाक बचत बैंकप्रतिको आकर्षण निकै बढेको हो । रिक्सा चालक रमेश धोवी भने, ‘सजिलो सेवा, आकर्षक ब्याजदर र सुरक्षित बचत भएकाले दिनभरी रिक्सा चलाएर कमाएको रकम यहाँ जम्मा गरिदिन्छु, अरु बैंकभन्दा यहाँ रकम जम्मा गर्न सजिलो छ ।’
बाँकेमा हुलाक बचत बैंक सुरु भएसँगै निम्न आय भएका वर्गबीच लोकप्रिय भइरहेको छ । ग्रामीण क्षेत्रका बासिन्दा, गाउँमा रहेका महिला समूह र सदरमुकाममा रहेका निम्न आय भएका अधिकांश व्यक्तिको आर्थिक कारोबार गर्ने बंैकका रुपमा रहेको हुलाक बचत बैंकप्रति निम्न आय भएका समुदायका लागि सहज पहुँचका रुपमा स्थापित भएको छ ।
‘बचतकर्ताले सहजरुपमा सेवा पाइरहेका थियौं, अन्य बैंकहरुमा खाता हस्तान्तरणपछि कारोबार गर्दा झण्झट व्यहोर्नुपर्ने त छँदैछ । त्यसमाथि १५ प्रतिशत आयकर तिर्नुपर्ने भएको छ,’ बचतकर्ता नेपालगन्ज–२३ का बिनय बर्माले भने, ‘सरकारले यो बैंक खारेज नगरेको भए हुन्थ्यो ।’ हुलाक बचत बैंकमा बचत गरेवापत साधारण बचतमा ६ प्रतिशत र जेष्ठ नागरिक बचत खातामा ७ प्रतिशत बार्षिक ब्याज पाइन्छ ।
चिठठ्ीपत्र लगायत सञ्चारका अन्य काममा व्यस्त रहने हुलाकका कर्मचारीहरु पनि बचतकै काममा बढी केन्द्रीत हुनुपरेको जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाले बताए । उनले भने, ‘हिजोआज चिठी पत्रभन्दा पनि हुलाक बचत बैंकको काममा बढी ध्यान दिनुपरेको छ । थोर थोरै रकम जम्मा गर्न सकिने र राम्रो ब्याजदर प्राप्त हुने भएपछि यस बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।’
जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाका अनुसार बाँकेमा २ हजार ८० खातामध्ये १ हजार ७७५ वटा खाता सञ्चालनमा रहेका छन् । बचतकर्ताहरु मध्ये न्यून आय भएका धेरै रहेको र त्यसमध्ये पनि ग्रामीण क्षेत्रका नागरिकहरु रहेको गडरियाले बताए । बचत बैंकमा हाल रु.९ करोड भन्दा बढी रकम रहेको उनले बताए ।
फाँट प्रमुख गडरियाका अनुसार रु.५० देखिमाथि रु.१० लाखसम्म जम्मा गर्न पाइने भएपछि सहजताका आधारमा बचतकर्ताहरुको आकर्षण बढ्दो क्रममा रहेको थियो । खाता हस्तान्तरणले ग्राहकको गुनासो बढेको छ, ऋण लगानी र नयाँ खाता खोल्न विभागकै निर्देशन अनुसार रोकिएको छ । ‘तर बचतकर्ताहरु नयाँ खाता खोल्न र ऋण माग गर्न आइरहनु भएको छ । हामीले सम्झाएर पठाउने गरेका छौं,’ फाँट प्रमुख गडरियाले भने । बाँकेमा २०६३ असोजदेखि हुलाक बचत बैंक सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०६:२३