सूचनाको शक्ति - The Power Of Information

        

चौरजहारीमा खानेपानीको समस्या

मुसिकोट । नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपुर्याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो । नमूना शहरको रूपमा विकसित भइरहेको यस क्षेत्रमा गतवर्षको फागुनमा लिफ्टमार्फत भेरी नदीको पानी वितरण गर्ने भनिए पनि अहिलेसम्म पानी नपुर्याउँदा स्थानीयवासीले अटोरिक्सा र गाडीलाई पैसा तिरेर पानीको जोहो गर्नुपरेको स्थानीयवासी लिलावती रानाले बताए ।
बजार क्षेत्रमा भएका पाइपलाइनका धाराबाट दिन बिराएर खानेपानी भर्नुपर्ने र पानी भर्नकै लागि तीन दिनदेखि पालो कुर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । वर्षौदेखि खानेपानीको समस्याले पीडित चौरजहारीवासीलाई अहिलेको स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय वीरबहादुर गिरीको गुनासो थियो । चौरजहारी नगरपालिका–१, २ र ३ का करीब १ हजार २०० घरधूरीले यो समस्याका कारण हिउँदमा ठूली भेरी नदीको दूषित पानी पिउन बाध्य हुँदै आएका छन् ।
ती स्थानमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ वितरण गर्ने भनिए पनि प्रविधिले साथ नदिएकाले लक्ष्यअनुसार काम गर्न नसकिएको नगरपालिकाले जनाएको छ । अब यहाँको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न रु २१ करोडको लागतमा टेण्डरमार्फत काम अघि बढाइएको नगर प्रमुख विशाल शर्माले बताए । खानेपानीको समस्यासँगै सिँचाइको समेत अभाव हुँदा यहाँका खेतीयोग्य उर्वर जमीनसमेत बाँझै छन् । रासस

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०५:४६