सूचनाको शक्ति - The Power Of Information

        

टीकापुर अस्पतालमा दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी


कैलाली (टीकापुर) । चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मानसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् ।
उक्त अस्पतालमा आठ परामर्शदाता, एक मेडिकल अधिकृतका साथै दुई स्वास्थ्य सहायक, एक÷एक स्टाफ नर्स र अनमीको पद रिक्त छ । एकाउन्न शैय्याको उक्त अस्पतालका लागि विसं २०७२ मा नेपाल सरकार र कोरियन परियोजना कोइकाबीच सहमति भई निर्माण गरिएको भवनमा, शल्यक्रिया र एनआइसीयू कक्षका साथै अल्ट्रासाउण्ड, इण्डोसकोपी लगायत उपकरण थपिए पनि ती अहिले उपयोगबिहीन अवस्थामा छन् ।
‘विशेषज्ञ चिकित्सक नहुँदा सरकारको योजनाअनुसार गुणस्तरीय सेवा दिन नसकिएको र अस्पतालको क्षमता हुँदाहुँदै पनि बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको छ,’ उक्त अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा नरेन्द्र खनाल भन्छन्, ‘कोइकाले यहाँको आवश्यकता हेरी पूर्वाधार तयार गर्नुका साथै उपकरण समेत दियो तर सरकारले भनेअनुसारको जनशक्ति दिएन ।’ उक्त अस्पतालको सेवामा सुधार भए कैलाली, पश्चिम बर्दिया र पश्चिम सुर्खेतका नागरिकले समेत गुणस्तरीय सेवा पाउँथे ।
जिल्ला अस्पताल सरहको टीकापुरमा जस्तै योभन्दा तल्लो तहका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मीको अभाव छ । टीकापुरजस्तै प्रदेश ७ का स्वास्थ्य संस्थामा रिक्त स्थानमा स्वास्थ्यकर्मीको माग भए पनि स्वास्थ्य सेवा विभागले भने अनमी, अहेव, हेल्थअसिष्टेण्ट र स्टाफ नर्सलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ । सात नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सूचना अधिकारी हेमराज खड्काका अनुसार स्वास्थ्य सेवाका तीन हजार १७७ कर्मचारीमध्ये ६३२ पद रिक्त छन् ।
त्यसैमा स्वास्थ्य सेवा विभागले ५८ स्टाफ नर्स, अहेव, अनमीलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ भने १२ जना मात्र अन्य प्रदेशबाट सरुवा भई आएका छन् । ‘दरबन्दी नै कम छ, भएका दरबन्दी खाली छन् । यसैमा भएका स्वास्थ्यकर्मी बाहिर सरुवा गरिएकाले केही स्वास्थ्य चौकी अनमीबिहीन छन्,’ स्वास्थ्य निर्देशक अवस्थी भन्छन्, ‘सरुवा नगर्न स्वास्थ्य सेवा विभागलाई र बाहिर जानेलाई तत्काल रमाना नदिन प्रदेश ७ का सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई अनुरोध गरिसकेका छौँ ।’
जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा मात्र होइन, प्रदेश ७ का जनतालाई स्वास्थ्य सेवा दिइरहेका उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, पहाडी जिल्लाका अस्पतालमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । सात नं प्रदेशका २६ लाख नागरिकका लागि ७४ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि ४१ जनामात्र कार्यरत छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०५:४०