सूचनाको शक्ति - The Power Of Information

        

अन्नु बर्माको स्वाभाविक मृत्यु या हत्या ?


बाँके । बाँके डुडुवा गाउँपालिका–२, बेतहनीकी २६ बर्षिया अन्नु बर्माको हत्या रहस्यमय बन्दै गएको छ । बर्माको एक हप्ताअघि घर नजिकैको नालीमा शव भेटिएको थियो । दाइजोका विषयमा घरायसी विवाद बढेपछि सासु, देवर र अर्का एक जना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ ।
माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासु धनदेही कुर्मी, देवर विरेन्द्रकुमार बर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् । मृतकको नालीमा डुबेर मृत्यु भएको भनिए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेकोले हत्या नै भएको माइती पक्षको दावी छ ।
मृतककी भाउजु विन्दुकुमारी बर्माले भनिन्, ‘शरीरमा हिलो पनि लागेको छैन, घरभित्र रगत लत्पतिएको छ । टाउको तथा शरीरका अन्य भागमा भारिलो हतियार प्रयोग गरेको स्पष्ट देखिन्छ । यसलाई स्वाभाविकरुपमा मृत्यु भएको कसरी भन्न मिल्छ ?’

डुडुवा गाउँपालिका–२, बेतहनीकी २६ बर्षिया मृतक अन्नु बर्माको शव ।


दाइजो नल्याएको भन्दै पटकपटक विवाद भइरहने गरेको भए पनि १५ दिनअघि सासु र छिमेकी हरिहरप्रसाद तेलीलाई रातीको समयमा सँगै सुतेको देखेपछि विवाद बढेको भन्दै मृतक बर्माले माइती पक्षलाई समेत जानकारी गराएको भाउजु विन्दुले बताइन् ।
उनले भनिन्, ‘दाइजोका विषयमा त सँधै घरायसी झगडा भइरहन्थ्यो, विगत केही महिनादेखि मृतककी सासु र छिमेकी हरिहरप्रसाद सँगै सुतेको भेटेपछि विवाद बढ्यो । गाउँमा हल्ला फैलिन्छ भन्ने डरले हत्या गरिएको हाम्रो दावी छ ।’ श्रीमती अन्नुको मृत्यु भएपछि दुवईबाट घर फर्किएका रहेका श्रीमान्ले आफ्नी आमाको बचाउ गर्दै हत्यामा संलग्न नभएको दावी गरिरहेका छन् ।
छिमेकी रामबाबु बर्माले घरभित्र हत्या गरी नालीमा फालिएको दावी गरे । ‘नालीमा डुबर मृत्यु भएको भए घरभित्र रगतका टाटाहरु किन देखिए ? प्रहरीले किन घरभित्र खानतलासी नगरेरै घरटनास्थलको मात्रै मुचुल्का लियो ?’ पत्रकारहरुसँग प्रश्न गर्दै बर्माले भने, ‘नालीमै डुबेको भए पनि शरीरमा हिलो वा फोहर त हुनुपथ्र्यो ?’

डुडुवा गाउँपालिका–२, बेतहनीकी २६ बर्षिया मृतक अन्नु बर्माको तस्वीर देखाउँदै मृतककी भाउजु विन्दुकुमारी बर्मा र छिमेकीहरु ।


मृतक अन्नुको शरीरमा हिलो समेत नलागेकोले हत्या नै भएको बर्माको दावी छ । उनले भने, ‘नालीमा डुबेकी अन्नुको टाउकोमा धारिलो हतियार प्रयोग गरिए जस्तो गहिरो चोट लागेको छ । शरीरभर निलडाम छ, विभिन्न भागहरुमा घाउहरु लागेका छन्, यो हत्या नै हो, सुक्ष्म अनुसन्धान होस् ।’
माइती पक्षको किटानीका आधारमा प्रहरीले सासु, देवर र छिमेकी हरिहरप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख अरुण पौडेलले भने यस विषयमा अनुसन्धान भइरहेकोले सबै कुरा भन्न नमिल्ने बताए ।
उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौं, अनुसन्धानका क्रममा हामीले सबै कुरा भन्न मिल्दैन । पोष्टमार्टम रिर्पोट, स्थलगत मुचुल्काका आधारमा सत्यतथ्य बाहिर आउँछ । सामान्य घटना नभई हत्या भएको भए संलग्नहरुलाई कानुनी दायरामा ल्याउँछौं ।’

मृतक अन्नु बर्माको सभाविक मृत्यु नभई हत्या भएको भन्दै घटनाका बारेमा जानकारी दिँदै मृतककी भाउजु विन्दुकुमारी बर्मा र छिमेकीहरु ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार ०७:०३