सूचनाको शक्ति - The Power Of Information

        

फोन गर्न अग्लो डाँडाको साहारा


जाजरकोट । जाजरकोटको पश्चिममा क्षेत्रमा एक कल फोन गर्नका लागि घण्टौँ हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका ,कुशे गाउँपालिकाका स्थानीयहरु फोन गर्न अग्लो डाडाँको साहारा लिन बाध्य भएको स्थानीय रेशमवहादुर खड्काले बताए ।
अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडाको साहारासमेत कहिले काम नगर्ने गरेको छेडागाड नगरपालिका–का वडाध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिए । केन्द्रिय कार्यालयबाट स्तरोन्नतीका लागि प्राविधिक पठाएर हेरे पनि अहिलेसम्म काम हुन नसकेको जैसीले बताए ।
भेरी नगरपालिका ६ मछाइनामा रहेको नेपाल टेलिकमको नमस्ते, स्काइको टावर र जुनिचाँदे गाउँपालिका–२ मजकोटमा रहेको स्काइको टावर कुशे गाउँपालिकाको लाताचुलीको टावरलाई स्तरोन्नति गर्ने भनिए पनि काम नहुँदा यहाँका हजारौँ स्थानीयले फोन सेवाबाट वन्चित भएको जैसीले बताए ।
चुनावका समयमा जिल्लाका सवै ठाउँमा टेलिफोन टावर निर्माण गरि जनतालाई सहज रुपमा सञ्चार सेवा पुर्याउने भनि दिइएको नारा एक वर्ष बिते पनि नारामै सीमित भएको स्थानीय पूर्णसमिर महतराले बताए । फोनले काम नगर्दा यहाँका स्थानीय सरकारको कामहरु समेत प्रभावित भएका छन् ।
फोन, इन्टरनेट, बैंक नहुँदा जिल्लाको जुनिचाँदे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकाको कार्यालय सदरमुकामबाट सञ्चालन हुँदै आएको छ । आकाशमा बादल देखिनसाथ डाडाँमा गएर फोन गर्दा गर्दै टावर जाँदा हैरान हुने गरेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।
केसीका अनुसार नमस्तेको टावर निर्माणका लागि नेपाल टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । तर कम्पनीको लापरबाहीले टावर निर्माण अलपत्र परेका अध्यक्ष केसीले जानकारी दिए । टावर निर्माणका लागि आवश्यक सामग्री सुर्खेतमा पुएको कम्पनीले दावी गदै आएको छ ।
कुशे गाउँपालिकाको लाताचुलीको टावर बिग्रिएको महिनौं बित्दा पनि यसको मर्मतमा कसैको चासो नपुगेपछि सर्वसाधारणलाई समस्या भएको छ । उता नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटले भने प्राविधिक सर्वेक्षण सम्पन्न भइसकेकाले स्तरोन्नतीका लागि काम अघि बढाउने दाबी गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १४:४७