सूचनाको शक्ति - The Power Of Information

        

तीन तहबाट छानबिन, अनुसन्धान चरणमा


शेरबहादुर सिंह । भीमदत्तनगर । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणबारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो । हत्याका सम्बन्धमा गृहमन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।
घटनाको छानबिनका लागि केही साता अघि भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान तीव्ररुपमा अगाडि बढाइरहेको छ । ‘अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको छ,’ सहसचिव मैनालीले भने, ‘अब प्रतिवेदन लेख्ने काम शुरु भएको छ ।’
त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पनि आफ्नै ढङ्गबाट अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टले घटनामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बाँगफाटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत भदौ ४ गते सार्वजनिक गरेको थियो ।
तर स्थानीयवासीले अभियुक्त विष्टमा मानसिक रोगको समस्या भएको भन्दै प्रहरीले घटनामा संलग्न हत्यारालाई बचाउन उनलाई सार्वजनिक गरिएको दाबी गरिदै आन्दोलन झन चर्किएको थियो । गत आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय टोली भीमदत्तनगर पुगेर घटनाबारे सुक्ष्म अध्ययन गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर काम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले घटनाको प्रारम्भदेखि नै सुक्ष्मरुपमा अनुसन्धान भइरहेको बताए । ‘यो दौड होइन, अनुसन्धान भएकाले केही समय लाग्न सक्छ,’ उनले भने, ‘हामीलाई सहयोग गर्न ब्यूरोबाट पनि नयाँ टोली यहाँ आएको छ ।’
निर्मला हत्याकाण्डका अपराधी उम्किनै नसक्ने बताउँदै उहाँले प्रहरी र स्थानीयवासीबीच सूचना प्रवाहको वातावरण बन्न आवश्यक रहेको बताए । ‘पछिल्लो समयमा घटना छानबिनमा नागरिकसंगको सहकार्य राम्रो हँुदै गएको छ,’ प्रहरी उपरीक्षक कडायतले भन्नुभयो, “घटनाको विषयमा धेरै कोणबाट अनुसन्धान हुँदैछ ।’ निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरबाट पनि अनुसन्धान भइरहेको छ ।
प्रहरीले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई नियन्त्रणमा लिएर छानवीन गरिरहेको छ । प्रहरी स्रोतका अनुसार बम दिदी बहिनीले घटनाबारे कुनै जानकारी नभएको बयान दिइरहेका छन् । त्यसैगरी बमसित निकट भनिएका भीमदत्तनगरका आयुश विष्ट र किरन विष्टलाई समेत प्रहरीले सोधपुछ गरिरहेको जनाइएको छ । प्रहरीले गत सोमबार निर्मलाका दिदी मनिषा पन्त र रोशनी बमलाई संयुक्तरुपमा राखेर पनि बयान लिएको थियो ।
प्रहरीको उक्त दोहोरो बयानका क्रममा रोशनीले घटनाबारे अनविज्ञता जनाए पनि बयान भने विगतको भन्दा फेरिएको मनिषाले बताए । ‘यसअघि गरेको बयानमा रोशनीले बहिनी निर्मला मेरो घरबाट भागी बुबाको डेरामा जान्छु, चार/पाँच दिन उतै बस्छु भनेर निस्केको भनेकी छन्,’ मनिषाले भनिन्, ‘तर आजको बयानमा उनले निर्मला घरबाट निस्केको र च्यानल गेट बाहिरबाट कता लाग्यो थाहा नभएको बताइन् ।’
‘स्कूलमा बोल्न नि लजाउने रोशनी अहिले त निकै कडारुपमा प्रस्तुत हुँदैछ,’ उनले भनिन्, ‘बम परिवार र उनकै सम्बन्ध भएकामाथि गहन अनुसन्धान गरे हत्यारा पत्ता लाग्न सक्छन् ।’ यसअघि पक्राउ गरिएका दिलीपसिंह विष्टलाई भने प्रहरीले उनको मानसिक जाँचलगायत उपचारका लागि भन्दै काठमाडौँ पुर्याएको छ । रासस

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १३:२९