सूचनाको शक्ति - The Power Of Information

        

एकाविहानै भीडमा हराउँछ त्रिभुवन चोक


बाँके । एकाविहानै नेपालगन्जको त्रिभुवन चोक पुग्ने जो कोहीलाई पनि विहानै आमसभा जस्तै लाग्छ । चोकको चारैतिर भीडभाड हुन्छ । मजदुर र ठेकेदारबीच कामको मोलमोलाई भइरहेका दृष्यहरु देखिन्छन् । विहानैदेखि खानासहित पुगेका मजदूरहरु आ–आफ्नै हिसावले मजदुर खोज्दै आएका ठेकेदारसँग मोलमोलाई गरिरहेका हुन्छन् ।
काम खोज्ने मजदुरहरुले भरिभराउ हुने नेपालगन्जको त्रिभुवन चोक एकविहानै मजदुरको भीडमा हराउँछ । सयौंको संख्यामा रहेका मजदुरहरु हरेक दिन फरकफरक ठेकेदारसँग काम गर्न जाने गर्छन् । बर्षौदेखि कामको लागि नेपालगन्जको त्रिभुवन चोकमा धाउन बाध्य मजदुरहरु हरेक दिन फरक खाले ठेकेदार भेट्छन् ।
जस्तोसुकै काम पाए पनि गर्नैपर्ने बाध्यता भएकाले काममा निस्केपछि काम गरेर फर्किने गरेको कामदारहरुको भनाई छ । यहाँ हरेक दिन मजदुरहरु भेला हुने चलन बर्षौदेखिको कायम छ । ‘गाँउमा काम पाइँदैन, यहाँ आउँदा प्रायः खाली बस्नुपर्दैन,’ ठेकेदारको पर्खाइँमा रहेका सुकीलाल थारु भन्छन् ।

त्रिभुवन चोकबाट ठेकेदारले लैजाने बेला बढी भन्ने तर ज्याला दिने बेलामा कम दिने मजदुरहरुको गुनासो छ । खाना बोकेर एकाविहानै त्रिभुवन चोक पुग्ने गरेका बर्दिया बढैयाताल गाउँपालिकाका राजाराम थारु पाए काम गर्ने नत्र त्यसै बस्नुपर्ने बाध्यता रहेको सुनाउँछन् ।
‘कति दिन त काम नै पाइँदैन, त्यसै घर फर्किनुपर्छ,’ राजारामले भने, ‘कहिले काम नै पाइँदैन, कहिले ठेकेदारसँग ज्यालामा कुरा मिल्दैन । कम नपाएको दिन घरखर्च चलाउन मुस्किल हुन्छ ।’ उनीहरुलाई सरकारले तोकेको भन्दा कम मुल्यमा काम गर्नुपर्ने बाध्यता छ ।
बाँके गनापुरका मिस्त्री कालुराम चौधरी भन्छन्, ‘कामै नपाउने भएपछि कम मुल्य मै काम गर्नुपर्ने बाध्यता छ । प्रायः सधैं कम मुल्यमै काम गर्ने हो ।’ काम खोज्दै त्रिभुवन चौक पुग्ने अधिकांश मजदुर बाँके, बर्दिया, दाङ र सुर्खेतका छन् भने केही भारतीय पनि यहाँ आउँछन् ।

मजदुरलाई नेताहरुले नै बेवास्ता गरेको बर्दिया मैनापोखरका शिवकुमार थारुको गुनासो छ । उनी भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउने नेताहरुले अब मजदुरलाई मालिक बनाउँछौं भन्छन्, निर्वाचनपछि फर्किदैनन् ।’ थारुले महिनामा मुस्किलले १७/१८ दिन काम पाउने गरेको बताए ।
यहाँ नेपालका मात्रै नभएर काम खोज्न आउने भारतीय मजदुरहरुको संख्या पनि उत्तिकै छ । भारतको बाबागन्जका बब्लु मिस्त्रीले विगत ५÷६ वर्षदेखि १६ किलोमिटर लामो दुरी पार गरेर हरेक दिन यहाँ पुग्छन् । उनका अनुसार महिनामा १५ दिन मात्र काम पाए पनि बाँकी दिन खाली बस्नुपर्ने बाध्यता छ ।
भारतको बाबागन्जका रसिद अहमद पनि कालीगढको काम गर्दै आएका छन् । उनले न्यून रकममा काम गर्नुपर्ने बाध्यता सुनाए । ‘यहाँ निश्चित ज्याला तोकिएको हुँदैन,’ उनले भने, ‘ठेकेदारसँग बार्गेनिङ्गकै आधारमा ज्याला निर्धारण हुने गर्छ ।’ कमै ज्यालामा काम गर्नुपर्ने बाध्यता रहेको मजदुरहरुको गुनासो छ ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार ११:३५