सूचनाको शक्ति - The Power Of Information

        

सर्पदंश उपचार केन्द्र सञ्चालनमा


बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । २९ लाख २६ हजार ३६४ रुपैयाँको लागतमा निर्माण गरी सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिकाको २० लाख ५० हजार रुपैयाँ र बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाको लागि खटिएको श्रीमेहर गणले ९ लाख ६२ हजार ३६४ रुपैयाँ बराबरको प्राविधिक तथा जनश्रमदानबाट केन्द्र सञ्चालनमा ल्याइएको राप्तीसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।
यस केन्द्रमा बाँकेको राप्तीसोनारी तथा दाङ्गबाट समेत आउने सर्पदंशका विरामीले उपचार सेवा पाउने अध्यक्ष थारुको विश्वास छ । राप्ती सोनारी गाउपालिकाका ५१ हजार जनसंख्यालाई लक्षित गरी निर्माण गरिएको सो भवन बहु उपयोगी हुने विश्वाससमेत गरिएको छ ।
पूर्वपश्चिम राजमार्गको सम्शेरगन्जस्थित ओभरीमा निर्माण गरिएको उपचार केन्द्र सर्पदंशका विरामीले मात्र नभई राजमार्गमा हुने सवारी दुर्घटनाका विरामीलाई समेत प्राथमिक उपचार दिन सकिने गरी सञ्चालनमा ल्याउन पहल गरिने बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्रीमेहर गणका गणपति तथा प्रमुख सेनानी बासुदेव धिमालले बताए ।
उनले भने, ‘गतवर्ष आएको बाढीपछि सर्पदंशका घटना वृद्धि भएकाले हामीसँग प्राविधिक जनशक्ति हुँदा पूर्वपश्चिम राजमार्गमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन सके धेरैको जीवन बचाउन सकिने ठहरका साथ निर्माणका लागि पहल थालेका हौं ।’
उनले उपचार केन्द्रलाई राजमार्गको आपतकालिन अस्पतालको रुपमा विकास गरेर लैजान सकिने र त्यसका लागि गणले प्राविधिक जनशक्ति उपलब्ध गराउने बताए । बाँके निर्वाचन क्षेत्र नं. १ क बाट निर्वाचित सांसद कृष्णा केसीले यस केन्द्रले सञ्चालन गर्ने गरी हाइवे एम्बुलेन्स राख्नुनका साथै यसलाई प्राथामिक ट्रमा सेन्टरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
सो केन्द्र सञ्चालनका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जका सर्पदंश विभाग प्रमुखसमेत रहेका डा. कृष्णप्रसाद आचार्यले आवश्यक प्राविधिक सहयोग गर्ने बताए । केन्द्रको सञ्चालनका लागि अक्षयकोषको समेत व्यवस्था गरेसँगै हालसम्म अक्षयकोषमा २० लाख रुपैयाँ जम्मा भएको निर्माण समितिले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार ११:०३