व्यक्तिले उपचार गर्न पाउनु उसको नैसर्गिक अधिकार हो भने विना स्वार्थ सेवा दिनु स्वास्थकर्मीकोे दायित्व हो । स्वाथ्यकर्मीले निस्वार्थ सेवा दिइरहँदा पनि उनीहरूलाई विभिन्न बहानामा ज्यान मार्ने धम्की, कुटपिट, कालोमोसो दल्ने तथा अस्पताल तोडफोड जस्ता घटना भइरहेका छन् । यस्ता घटनाको सधैँ सामना गरिरहेका हामी स्वास्थ्यकर्मीलाई फेरि अर्को अग्निपरिक्षा दिनुपर्ने बेला आएको छ । सरकारले नयाँ कानुन बनाएर स्वास्थ्यकर्मीलाई काम गर्ने हौसला दिनुको सट्टा मनोबल गिराउने काम गरेजस्तो लाग्छ ।
डाक्टर या नर्स भगवान होइनन्, अस्पताल जाने वित्तिकै वा डाक्टरले छुने वित्तिकै रोग निको हुन्छ भन्ने छैन । चिकित्सकहरूको मुख्य उदेश्य भनेको सबै बिरामीलाई चाँडो भन्दा चाँडो निको बनाएर घर पठाउनु हो । यसो भन्दैमा सबैलाई निको बनाउन सकिन्छ भन्ने छैन । कपियत बिरामीलाई चिकित्सकले हरपल कोसिस गर्दा पनि बचाउन सकिन्न । कोसिस गर्दैगर्दै बिरामीको मृत्यु हुन्छ भने डाक्टरको लापरबाही कसरी मान्न सकिन्छ ? स्वास्थ्यकर्मीहरुले मात्र जोखिम लिनुपर्छ भन्ने कुरा गलत हो । उपचारमा हुने जोखिमलाई बिरामी र उसका आफन्तले पनि स्वीकार्न सक्नुपर्छ ।
बिरामी अस्पताल जाने वित्तिकै रोग पत्ता लागिहाल्छ भन्ने हुँदैन । जसका लागि विविध परीक्षण गर्नुपर्ने हुन्छ । रोग पत्ता नलागुन्जेल यो होला कि भन्ने अनुमान गरेर पनि औषधि चलाउनुपर्ने हुन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा प्रशस्त उपकरण छैनन् । जसले गर्दा कतपिय बिरामीको रोग पत्ता लगाउन निकै गाह्रो छ । दिन रात बिरामिकै सेवा गरेर हिँड्ने स्वास्थ्यकर्मीहरू हरपल दबाब र त्रासमा रहेर कसरी उपचार गर्न सक्छन् ? यसरी उपचार गर्दा बिरामीलाई नै नोक्सान हुन जान्छ । अस्पताल जस्तो संवेदनशील ठाउँमा चिकित्सकलाई काम गर्ने वातावरण नै राम्रो भएन भने कसरी उपचार सफल हुन्छ ? झन् इमर्जेन्सी, आइसियू, अप्रेसन कक्षमा कस्ता प्रभाव पर्छन् ? यस्तो हो भने गम्भीर प्रकृतिका रोगीलाई कसले उपचार गर्ने ?
हुन त चिकित्सकले गल्ती नै गर्दैनन् भन्ने होइन । गल्ती सबैबाट हुन्छ र गल्ती गर्नेलाई कारबाही पनि हुनुपर्छ । अस्पतालमा त नक्कली डाक्टर पनि भेटिएका छन् । उनीहरूको लापरबाहीको कति बिरामीले ज्यान समेत गुमाएका छन् । तर, सही नियत भएका डाक्टरले कहिल्यै पनि बिरामीमाथि अपराध गर्न सक्दैनन् । औषधिको प्रयोग विना बिरामी निको हुन सक्दैनन् । तर प्रयोग गर्ने वित्तिकै तत्काल विरामी निको हुने होइन । हामी तत्कालको परिणाम चाहन्छौँ । यस्ता कतिपय केसहरूले जटिल अवस्था निम्त्याउन सक्छन् । भोलि गम्भीर प्रकितिका रोग भएका बिरामीलाई उपचार गर्दैनौँ, जोखिम लिदैनौँ भनेर चिकित्सकले उपचार गर्न मानेनन् भने यसको सजाय चाहिँ कति वर्ष जेल सजाय हुन्छ ? सरकारलाई यो मेरो प्रश्न । मान्छेको शरीर कुनै मेसिन होइन, जबकी एउटा भाग बिग्रियो निकालेर फाल्यो र नयाँ अंश राख्यो । तर यो गम्भीर कुरा हो ।
विरामीलाई निको पार्नु जटिल कुरा हो । मान्छेको शरीरमा एउटा अंगले काम गर्न छाडेपछि अन्य भागले पनि काम गर्न छाड्छन् । एउटा समस्याले गर्दा अर्को समस्या निम्तिन सक्छ । कुनै विरामी अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल ल्याइएको हुन्छ र उपचार गर्दागर्दै उसको मृत्यु हुन्छ । यी अवस्थामा सम्पूर्ण दोष भने चिकित्सकलाई हुन्छ । ‘सामानय ज्वरो आएर गएको मान्छे डाक्टरको लापरबाहीले मर्यो,’ भन्दै आन्दोलनहरू चर्काउने, दबाब दिनेजस्ता काम हुन्छन् । यस्तो घटनाले डाक्टर अस्पताल हैन अदालत र कारागार धाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा चिकित्सकको पक्षमा कस्ले बोलिदिने ? यसरी बन्दुक टाउकोमा तेर्साएर कसरी काम गर्न सकिन्छ र ? यस्तै हो भने भोली डाक्टरलाई बिरामी देखाउन अस्पताल होइन जेल जानुपर्ने अवस्था आउन सक्छ । (थपलिया स्टार अस्पतालमा कार्यरत छन् ।)
–स्वास्थ्य खबरबाट
।