सूचनाको शक्ति - The Power Of Information

        

मकैमा डाँठ कुहिने रोग, किसान चिन्तित

तुलसीपुर । धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखापरेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । ‘गबारो रोगले धान बाली सखाप पार्न थाल्यो,’ तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीका राजन चौधरीले भने ।
धान बालीमा रोग देखिएपछि किसान कृषि सेवा केन्द्र धाउन थालेका छन् । ‘दिनहुँ किसान धानको बोट बोकेर आउन थालेका छन्,’ तुलसीपुरस्थित एग्रो नेपाल प्रालिका प्राविधिक माधव केसीले भने । जिल्लाका बाघमारे, शान्तिनगर, पवननगर, हलवार, मानपुर, टरिगाउँ, डुरुवा र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा धान बालीमा गबारो रोग देखिएको छ ।
‘डाँठ कुहिने रोगले मकैसमेत सखाप भयो,’ तुलसीपुर–२ का प्रकाश खड्काले भने । उनको सात कट्ठा जग्गामा लगाएको मकै सो रोगले नष्ट भएको छ । अधिकांश किसानको खेतमा धान बालीमा गबारो र ब्लास्ट रोग देखापरेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले बताए ।
‘कतैकतै खैरो रोगसमेत लागेको गुनासो आएको छ,’ उनले भने । रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिएको उनले बताए । धेरैजसो हाइब्रिड जातको धानमा सो रोग देखापरेको छ । धान बालीमा लागेको रोग समयमै उपचार गरे हटेपनि मकै बाली जोगाउन मुश्किल भएको छ । माटोमा अम्लियपना बढेपछि मकै बालीमा डाँठ कुहिने रोग देखापर्छ ।
समाधानका लागि बाली लगाउनुपूर्व माटोको उपचार गर्नुपर्ने प्राविधिकले सुझाव दिएका छन् । धान बालीमा ब्लास्ट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरिफस्ट’ वा साइपरमेथ्रिन साँझ वा बिहान प्रयोग गर्न प्राविधिकले किसानलाई सल्लाह दिएका छन् । जिल्लामा करीब २३ हजार हेक्टरमा मकै बाली र ३६ हजार हेक्टरमा धान खेती गरिएको छ । रासस

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतवार ०८:५२