सूचनाको शक्ति - The Power Of Information

        

रन–वेबाट बारम्बार किन चिप्लिन्छ यति एयरलाइन्सको जहाज ?


उत्तम काप्री । काठमाडौं । शनिबार बेलुका यति एयरलाइन्सको नाइन एन एचडब्लु कलसाइन जेट स्ट्रिम जहाज नेपालगन्जबाट २१ यात्रु लिएर काठमाडौं आउँदै थियो । उडान नम्बर ४२६ को जहाज बेलुका ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावन मार्गबाट चिप्लियो ।
यद्यपी जहाजमा रहेका २१ यात्रु र चालक दलका ३ सदस्य भने सकुशल नै रहे । तर, जहाज धावन मार्ग छोडेर घाँसे मैदानको हिलोमा गएर गाडियो । जहाजको नोजल व्हिल भाँचिन पुग्यो । जसका कारण धावनमार्गमा अन्य जहाज ल्यान्ड गर्न नमिल्ने अवस्था आएको थियो । नोजल भाँचिएपछि जहाज भने सुरक्षित हुन पुगेको थियो ।
एयरलाइन्सका प्राविधिक इन्जिनियरको सहयोगमा विमानस्थलका कर्मचारीले १२ घण्टापछि आइतबार बिहान ८ः१५ बजे मात्रै जहाज रनवेमा निकाल्न सफल भए । जहाजलाई पार्किङ क्षेत्रमा पु¥याएपछि मात्रै पूर्ण रुपमा बन्द रहेको विमानस्थल खुल्ला गरिएको हो । नेपालगन्जबाट यतिलगत्तै उडेको बुद्ध एयरलाइन्सको जहाजलाई भने भैरहवा डाइभर्ट गरिएको थियो ।
विमान दुर्घटनापछि नेपाल आउँदै गरेका ६ वटा अन्तर्राष्ट्रिय उडानका जहाजहरुलाई ढाका, कलकत्ता र नयाँ दिल्ली डाइर्भट गरिएको थियो । यसैगरी नेपालबाट उडान भर्न तयारी अवस्थामा रहेका हिमालय एयरलाइन्सका दुई उडानसहित अन्य ३ उडान पनि रद्द भएका थिए ।
तत्कालिन समयमा आन्तरिकतर्फका ४ वटा जहाज पनि काठमाडौं आउँदै थिए । जसमा बुद्ध एयरका ३ वटा र श्री एयरलाइन्सको एक उडान नेपालगन्ज, भैरहवा लगायत अन्य विमानस्थलमा डाइभर्ट गरिएको थियो । शनिबार रद्द भएका उडान आइतबार बिहान ८ः२५ बजेपछि क्रमशः सुचारु गरिएको छ ।

कसरी भयो घटना ?
जहाज त्रिभुवन अन्तनर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समयमा भारी वर्षा भएको थियो । जहाज अवतरण गर्नसक्ने अवस्था नभएपछि पाइलटले जहाज ‘ओभरसुट’ गर्नुपर्ने अवस्था हुन्थ्यो । तर, पाइलटमा बढी आत्मविश्वास भएका कारण ठूलो वर्षा भइरहेको बेला पनि जहाज ‘ल्यान्ड’ गरिएको प्रारम्भिक अध्ययनले देखाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार प्रारम्भिक अध्ययनमा जहाजमा प्राविधिक त्रुटि छैन । उनले भने,‘जहाज मानवीय कमजोरीका कारण दुर्घटना भएको देखिन्छ । यस विषयमा प्राधिकरणले छानबिन गरेर सत्थतथ्य विवरण बाहिर ल्याउने छ ।’ यस घटनामा पाइलटले रन–वेमा जहाज ‘टेक अफ’ नगराएको अवस्था देखिएको छ ।
जसका कारण जहाज हिलोमा गाडिएको छ । केही वर्ष अगाडि विमानस्थलमा अवतरणका क्रममा भएको टर्किस एयरको जहाज दुर्घटनासँग मिल्दोजुल्दो गरी दुर्घटना भएको पोखरेल बताउँछन् । ‘रन–वेमा जहाजको अगाडिको टायर लक हुनुलाई असुरक्षित मानिन्न । तर, रन–वेबाट जहाज चिप्लिनुलाई खतराको रुपमा हेरिन्छ,’ पोखरेलले बताए ।
विमानस्थलको रन–वे ठूलो भएकै अवस्थामा कसरी जहाज घाँसेमैदानमा गयो भन्ने विषयमा अध्ययन आवश्यक छ । प्राधिकरणले यस विषयमा अध्ययन गर्ने उनले प्रष्ट पार्दै भने । ‘विश्वमा जहाज ल्यान्ड गर्ने क्रममा यस्तो घटना घटिरहेको हुन्छ । तर, हामीकहाँ एउटा मात्रै रन–वे भएका कारण ठूलो समस्या आएको हो ।’
लामो समय उडान अवरुद्ध भएको कारण प्रष्ट्याउँदै उनले जहाज सुरक्षित तबरबाट निकाल्नु पर्ने भएकोले केही समय बढी लागेको बताए । उपमहानिर्देशक राजन पोखरेलका अनुसार जहाजलाई बल प्रयोग गरेर तान्न पनि पाइँदैन ।

यतिका विमान चिप्लिने घटना बढ्दो
यसै विषयमा यति एयरलाइन्सका बजार व्यवस्थापक भिमराज राईले प्राविधिक विषयमा भएका कारण आफूले केही नबोल्ने बताए । तर, यात्रुलाई केही नभएको र जहाजमा मात्रै क्षति पुगेको उनको भनाइ छ । तर, यति एयरलाइन्सको जहाज अवतरण गर्ने बेलामा बारम्बार समस्या आइरहेको छ । हालसम्मको इतिहास हेर्ने हो भने यतिको जस्तो समस्या बुद्ध, श्री, सिम्रिक लगायतका विमानमा भने देखिएको छैन ।
गत चैत, बैसाख र जेठमा लगातार यतिको जेट स्ट्रिम जहाज भैरहवा, पोखरा र चितवनमा अवतरणका क्रममा कहिले रन–वेबाट चिप्लिएर घाँसे मैदानमा जाने र कहिले रन–वेमा टायर लक हुने घटना घटिरहेको छ । तर, नियमक निकाय नेपाल नागरिक उड्डयन प्रधिकरण भने प्राविधिक कुरा भन्दै शक्तिको भरमा छानबिन गर्ने गरेपनि कारबाही गर्न भने चुकिरहेका छन् ।

– नेपाल लाइभबाट

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतवार ०८:२६